साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संविधान पर्व कि मुसल पर्व ?

Nepal Telecom ad

महाकवि बाल्मीकिले रचना गरेको रामायणका सात अध्याय छन् जसलाई काण्ड भनिन्छ । जस्तै बालकाण्ड, अयोध्याकाण्ड, लङ्काकाण्ड, उत्तरकाण्ड आदि । यस्तै महर्षि वेदव्यासले रचना गरेको महाभारतका अध्यायहरूलाई पर्व भनिन्छ । यसमा आदि पर्व, अनुशासन पर्व, वन पर्व, स्त्री पर्व आदि १८ पर्व छन् । कसैले १९ पर्व पनि मान्छन् । ती पर्वहरूमध्ये एउटा पर्वको नाम छ मुसल पर्व ।

नेपालमा ठूलाठूला राजनीतिक तथा भ्रष्टाचारका घटनालाई काण्ड भन्ने चलन छ । जस्तै १७ सालको काण्ड, पिसकर काण्ड । ऐतिहासिक राजनीतिक घटनालाई पर्व पनि भन्ने गरिन्छ । जस्तै कोत पर्व, भण्डारखाल पर्व आदि । संविधान सभाको निर्वाचन र संविधान अनिर्माणको महान ऐतिहासिक घटनालाई संविधानकाण्ड भन्ने कि संविधान पर्व भन्ने ? भविष्यमा लेखिएला ।

यहाँ चर्चा गर्न खोजिएको मुसल पर्व महाभारतको दुखदायी कथा हो । यो कथामा महाभारत युद्धका नायक कृष्ण, उनका दाइ बलराम र ती दुई भाइका सम्पूर्ण वंश वा कुलको नाश भएको र अर्जुनले बाकी बाँचेका बूढा, महिला र केटाकेटीलाई लिएर आफ्नो देश फर्केका थिए । फर्कंदा पनि बाटोमा उनीहरूमाथि डाँका लागेको थियो । डाँकाहरूका सामु अर्जुनको बहादुरीले पनि काम गर्न सकेन ।

महाभारत युद्ध सकिएपछि केन्द्रीय सत्ताको आभावमा अराजकता बढेको थियो । यदुवंशका राजकुमारहरू रक्सी खाने, व्यभिचार र अनाचार गर्ने काममा लागेका थिए । यस्तैमा एक पटक उनीहरूले कृष्णको उच्छृङ्खल छोरा साम्बलाई गर्भवती युवतीको भेषमा सिँगारेर दुर्वाषा ऋषिकहाँ लगे । उनीहरूले यी महिलाको पेटमा छोरा छ् कि छोरी भनेर ऋषिसँग सोधे ।

दुर्वाषा ऋषिलाई रिस उठ्यो र उनले यिनको पेटमा मुसल छ, त्यो मुसलले यदुवंशको विनाश गर्नेछ भन्ने श्राप दिए । नभन्दै साम्बको लुगा खोलेर हेर्दा त्यहाँ मुसल भटियो ।

ती युवाहरू डराएर त्यो मुसललाई समुद्रमा फ्याँके । एउटा ठूलो माछाले त्यो मुसललाई निल्यो र पीडाले आत्तिएर मुसललाई समुद्रको किनारामा ओकल्यो ।

मुसल ओकलेको ठाउँमा झारपात उम्रियो । एक दिन रक्सीको सुरमा यदुवंशका राजकुमारहरू आपसमा लड्न थाले । उनीहरूले एक अर्कालाई हान्ने कुरा केही नपाएपछि त्यही समुद्रको किनारामा उम्रेको झारले हान्न थाले । उनीहरूको हातमा पुगेपछि हरेक झार मुसलमा परिणत हुन्थ्यो । यसरी सम्पूर्ण यदुवंशी कुमारहरूको अन्त्य भयो ।

आफ्ना सन्ततिको यस्तो दुःखद अन्त्य भएको चिन्ताले बलराम समुद्रको छेउमा झोक्राएर बसिरहेको बेलामा सर्पले डसेर उनको मृत्यु भयो भने रुखको फेदमा आराम गरिरहेको कृष्णको खुट्टाको बुढी औँलालाई मृगको सिङ ठानेर शिकारीले विषालु वाण हान्दा कृष्णको पनि अन्त्य भयो ।

युधिष्ठिर बाहेक महाभारतका कुनै पनि नायक वा पात्रको सुखद अन्त्य भएन । यो कुरा मुसल पर्व र स्वर्गारोहण पर्वबाट स्पष्ट पार्न खोजिएको छ ।

हामी कहाँ संविधान बनाउने दिन जतिजति नजिक आउँदैछ उतिउति मुसल जन्मने पो हो कि भन्ने चिन्ताले धेरैलाई सताउँदै छ ।

हाम्रा नेताहरूले आफूलाई असक्षम ठहर्याएर प्रधानन्यायाधीशलाई सरकार सुम्पेको र चुनाव सम्पन्न गराएको धेरै भएको छैन । अब यिनै बुद्धिमान नेताहरूले संविधान बनाउने आफ्नो असक्षमतालाई स्वीकार गरी विशेषज्ञहरूको जिम्मा लाउने दिन टाढा छैन । जनताले बनाउने संविधान नेताले बनाएर बन्ने रहेनछ भन्ने कुरा यसबाट पनि स्पष्ट हुन्छ । यसैले मुसल जन्माउनु भन्दा बाँझो रहनु नै बेस ।

(यो लेख माघ ३ गते लेखेर माघ ६ गतेसम्म प्रकाशन गर्न अनुरोध सहित एउटा राष्टिय दैनिकमा पठाएको थिएँ । प्रकाशित नभएपछि यहाँ (फेसबुक वालमा) पोष्ट गरेको छु । उपयुक्त लागेमा सेयर गर्नु होला । धन्यवाद ।)
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x