सर्वज्ञ वाग्लेहडताल बन्द !!
हडताल भन्नाले कुनै कामकारबाई वा प्रचलन प्रति असन्तोष, दुख, विरोध, असहमत, असन्तुलन, अतिसयोक्ति आदि प्रकट गर्ने तथा आफ्नो माग पुरा गराउनका निम्ति मजदुर, कर्मचारी, विध्यार्थी आदि र जनसाधारणद्वारा सामुहिक रुपले पसल अड्डा, कलकारखाना, पढाइ, काम माम् बन्द गराई जाम गराउने प्रक्रियाको राजनीतिक हतियार हो भन्ने बुझिन्छ । हरताल अथवा हडताल खाली सौम्य र शान्त तरिकाले गरिने स्वस्फुर्त विरोधलाई हडताल भनिन्छ भन्ने कुरा त मैले सबैलाई भनिरहन पर्दैन होला । तैपनि नेपालाँ यो त हाम्रो राष्ट्रिय पर्व र ऊच्च कोटीको गर्भ भई खर्बमा पुर्याउने पर्वले ठूलै गर्ज टार्दो रहेछ नि हैन र ?
अँ कुरो आयो हडताल गर्दा असहमतहरूबाट असहमती गर्दागर्दै अतिशयोक्ति हुन जान्छ । अतिशयोक्तिबाट आततायी बन्दै जाँदा अर्काको सम्पत्ति लुट्ने, घरमै आगो लगाउने र स्त्रीहरूमाथि बलात्कार गर्ने आदि उत्पात मच्चाउने, साह्रै ठुलो उपद्रवी वा दुष्ट, दुष्कर्मी दुराचारी गर्ने प्रवृत्ति बढ्दै गयो भने राजनीति कता जाला ? हुन ता जोगी हुन कसैले पनि राजनीति गर्या हैन होला “ओड्कार जोगी फड्कार छाला, जता जाला जोगी भातै खाला ।” जनता चाहिँ महँगी, भोकमरी, बेरोजÞगारी र अन्यायको चक्कीमा पक्का–पक्की भक्का–भक्की भए भने ? यो चाहिँ सोचनीय कÞुरा हुनसक्छ ! अर्काको व्यक्तिगत सम्पत्ति र स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु, सार्वजनिक सम्पत्ति तोडफोड गर्नु, स्वतन्त्रताको नाममा ज्यादतितन्त्र हुन्छ कि हुन्न होला भन्ने कुराको छिनोफानो गर्न मेरा दिमागाँ सानों संस्मरणको कीरो पस्यो ! त्यही बेलाँ एकाएक मेरो घरको थोत्रो टिभीको खप्टाले कुर्ली–कुर्ली नेपाल वन्दको समाचाराँ कुर्चीमा कुर्सी खप्ट्या बयान बक्यो । लौ संसदभित्रै तोडफोड ! माइक, कुर्ची र टेबल ध्वस्त ! संसदभित्रै हानाहान, ढिस्काना ठाउँमा गाडी जल्यो ! लौ फलाना ठाउँमा फिस्स झडप हुँदा बीस जना घाइते, एकजना नेपालीको ज्यान गयो । लौ त्यही बिरोधा कारण खुल्ला र बन्दकर्ता बीच ठाउँ–ठाउँमा दोहोरो भिडन्तका कारण दश पुरूष, बार महिला, चार बालक घाइते । लौ ठाउँ ठाउँमा पुलिस र बन्दकर्ता बीच दोहोरो झडपका कारण दुई गाँउकै चार दर्जन माउ घाइते ।
हुन ता हाम्रा मुलुकाँ राजनीतिक बिरोधका नाममा विरोधी घराँ पस्दा आफ्ना दलवल हुँदा जनताका लागि लोकतन्त्र ल्याउँछौँ । जनताका लागि लडेका हौँ अथवा जनताका सुरक्षाका लागि खटिएका सिपाही हौँ । जसले जता बोले पनि “कुरो र कुलो जता लग्यो उतै जान्छ ।” हाम्रा मुलुकाँ बुढाखाडा, आईमाई, केटाटी, चेलीबेटीहरू, दुखी, गरिब र असहाय अन्यायका सिकार भई दुखका सागर तर्ने होलान् नहोलान् हड्तालले हरबखत निम्सरोलाई हरहालतमा हलाल र हताहत तथा हठात् गराईरहनु हिट न्युजÞको हेडलाइनाँ चम्किनु हो । जनताका लागि जनताको नाममा पार्टीका नेता ज्यूले साठी पल्ट काठीबाँधी काठमाडौंमा हड्ताल गर्दा हडबडी गर्यो भने गडबडीबाट बढी–बढी हुन्न भन्न धन्न गारो होला ! यहाँहरूलाई पटकै– पटक जानकारी आएकै होला बग्रेल्ती बग्ने समाचारका सम्प्रेषणले नछुटाएरै जनमतको जानकारी गराएकै छन् । जे होस् मेरा घराँ यसरी नै हाम्री आमाले हामीलाई एउटा जायज सजाय दिनु भयो । बल्ल पो हाम्रा घैटाँ घाम लाग्यो ।
कुरो हडतालकै दिनको हो– मेरा दाइ भाइहरू, अन्तरे समाजवादि पार्टी, ठुलो दाइ धर्मवादी पार्टी, माइलो दाइ जातिवादी पार्टी, ठुल्दाइले लभम्यारिज इन्टरकास्ट गरेकाले भाउजू जनजाति पार्टी, अर्की भाउजू महिलावादी पार्टी, साइँलो दाइ हिमालवादी पार्टी, साइँली भाउजू चुरेवादी पार्टी, दिदीले तराईमा विवाह गरेकाले उनी तराईवादी पार्टी, ठूलो कान्छो पहाडवादी पार्टी… यसरी हाम्रै घरमा ठुलो गोल बनाएर बेलुका हामी जम्मा भई घरपालुका ठर्रा तन्काउँदै लोकगीत घन्काउँदै लोकतन्त्रा बखान पड्काउँथ्यौँ । हाम्रा धेरै भाइको नजिकै ससुराली परेकाले ससुराली आदिको जमघट कतिलाई मन पथ्र्यो कतिलाई पर्थेन त्यो त मलाई पनि थाहा थिएन तर बन्द, हड्तालमा चाहिँ ठूलो गर्जो टथ्र्यो । म भने तोडफोड र बन्द भनेपछि आनन्द मान्थेँ । मेरा सोरै भाइ सारै उग्र थिए । ठूल्दाइले जमानामा धामिझाँक्री र औषधीमुलो जानेकाले बैद्य भन्थे ! अब त डाक्टरको जमानामा हाम्रा दाइलाई कसले पुछ्ने ? पहिला पो डाक्टरको जमाना थिएन र हाम्रा ठूल्दाइको कत्रो फुर्ती झन त्यसमाथि तीनपाने धोकी सुर्ति खाँदा त उग्रै थिए नि । मेरा माइला दाइ चण्डीप्रसाद झगड्या भएकाले उनको नाम भने उग्रचण्डे थियो । पैसा भने देख्नै नहुने । मेरा आफ्ना धेरै भाइ त्यसमा पनि अर्घेल्याई आ हा– हा हाहा ।
एकदिन जाडोको बेलाँ संविधानको मेलाँ विरोधको भेलाँ सबैले विरोधी एकताको जमघट जाडोको मौसममा मूल घरको कौसीमा धुनी जगाएर सुरु गरे । साँध सिमानामा वस्तु भाउले खेतीपाती, मकै, कोदो खायो, भन्ने कुरामा दिन दिनै झगडा गर्ने मेरा ठूल्दाइ, माल्दाइ, साइँलादाइ, काइँला दाइ, आदि परिवार यस्तो बिरोध र तोडफोड भनेपछि तिनपाने घर पालुवा खाँदै नाच्दै धुनी जगाउँदै थिए । किनभने आजको हडताल सफल भयो । मेरी आमालाई आफ्नै घरका परिवार राम्रो काम हुने बेलामा, विवाह शुभकार्य, शुभ समयमा झगडा गर्ने र बन्द तोडफोड र धरपकडमा मिल्ने कुरोको चुरो नबुझेरै सारै रिस उठ्थ्यो । आज जाडोको वेलाँ आगो ताप्ने मेलाँ ! आगो ताप्दा धुनी निभ्ने बेलाँ मेरी आमाले भाइको दाइको छोराको, मामाको छोरा, छोरी सबैको क्रिकेटको बेट क्यारेमबोर्ड, कुर्सी भाँच्दै जे–जे भेटिए बटुल्दै धुनीमा हाल्दै धुनिमा फाल्दै गर्नुभयो । त्यस्तो विभत्स दृष्यले त्यहाँ सबै जङ्गिन थाले । फेरि आमा कता जानु भयो, दादाको मोटर साइकलको टायर जे जे भेट्यो त्यो धुनीमा हालेर ल बाल आगो ! ल ताप आगो ! उल्टै आमा पो जङ्गिनु हुन्छ ।
मेरा दादा चण्डे र भाइ मण्डे, अर्का दाइ झाँक्री, दाइका जेठान कुप्रे सबै–सबै कुर्ची उठाइ उफ्रे । ठूल्दाइले भने– “तिम्रा घरमा अब आगो लगाउन सकिन भने मलाई छोरै नभन !” फेरि अर्का दाइ जङ्गिन थाले । “हेरन झन दिउँसो सँगै हडतालमा गएको भोलि पनि जान परेन, हाम्री आमा अलछिनी छन् के छोडदेऊ ।” भन्न नपाउँदै आमाले जङ्गिदै भनिन् “तिमीहरूलाई लाज लाग्दैन ? तिमीहरूले जुन गाडी जलाउँदै छौ कहाँ बाट आउछ ? तिमीहरूले जुन टायर जलाउँछौ कहाँबाट आउछ ? तिमीहरूले लगाएको कपडा कहाँबाट आउँछ ? साइकल, मोटर साइकल, गाडी, सिसा, टेलिफोनको बुथ, बिजुलीको टावर ! जे जे भत्काए पनि त्यो सबै विदेशबाट आउने होइन ? अनि आफ्नो देशको सम्पत्ति तोडफोड गरेर फाइदा विदेशीलाई भएन ? आफ्नो देशको सम्पत्ति आगो लगाएर आफैलाई नोक्सान भएन ? जब देशको सम्पत्ति तिमीहरूले जलाउँदा तोडफोड गर्दा चित्त बुझ्दैन र अझ यति पड्काइयो आज, उति तोडफोड गरियो भन्दै दारु सँगै बसेर खान्छौ ! रमाउँछौ !! तिमीहरूको मन दुख्दैन भने कसको दुख्छ ? अहिले तिमीहरूको निजी सम्पत्ति तिमीहरूले नै आगो तापेका छौ नि के को चित दुख्ने हँ ?”
आमाले थपिन्– “पोहोर साल यो कान्छोको छोरी रोग लागेर मर्दा कति रोयौ हँ ? तैले राजनीतिमा लागेर त्यस्ता गरिब असहाय कति बाटोमै मरे, कति आन्दोलन, बन्द, हड्ताल र धरपकडमा के ती हजारौँ हजार मर्दा तेरो मन कतै दुख्यो त ? आफ्नो मात्रै सन्तान, आफ्नो मात्रै माया, आफ्नो मात्रै सम्पति ! आफू मात्रै मान्छे अरू चाहिं पशु तैँ सम्झन्छस् हैन गोरु ? ‘मै खाऊँ मै लाऊ,ँ सुख सयल मोज म गरुँ….।” त्यै हो तेरो नीति हँ ?, तँ लोभी पापी लाज नभएको नकचरो… आमाले बेस्सरी हकारेपछि बल्ल सबैले चेते र भने– हो आमा हामीले बुझ्यौँ । अबदेखि त्यसो गर्दैनौँ । जेठादाइले टाउकोमा हात राखेर भने– आमा तिमीले कुरा त ठीक गर्यौ तर मैले कसम खाएको छु के ? के गर्ने ? “तोड कसम आजका मितिबाट ! छोड़ नराम्रो काम आजैबाट ! जोड धर्म मर्ने बेलाँ दुख पाउलास् बाबु यस्तो तालले… । आमा फतफताउदै भित्र कुनामा पसिन् कता हो … कता । रुँदै गइन् सबै अवाक भए र भने आजदेखि हडताल बन्द ! सबैले एकै स्वरमा भने हड्ताल बन्द ! बन्द !! बन्द !!!
हाल– अमेरिका
Subscribe
Login
0 Comments
Oldest






































