अनिल कोइरालाजसले हार्यो त्यसले जित्यो
“जसले हार्यो त्यसले जित्यो” भन्ने उखानले अचम्मैसित छलाङ मारेपछि “संयुक्त नेपाली उखान टुक्का अधिकार मोर्चा”को एउटा उखान “जो होँचो उसको मुखमा घोँचो” नैतिकताको गणितबाट राजीनामा दिने मनस्थितिमा पुगेको छ । त्यसले गर्दा उखानटुक्काहरूनै दुई गुटमा विभाजन हुनगई फुटको संघारमा पुगेका छन् । प्रजातान्त्रिक पक्षधर उखानटुक्काहरू पुरानै उखानलाई पुनस्र्थापन गर्नुपर्ने अडानमा छन् भने, अलोकतान्त्रिक पक्षचाहीँ “जसले हा¥यो त्यसले जित्यो” भन्ने नयाँ उखानलाई मान्यता दिने सुरसारमा छन् । उनीहरूको तर्क के छ भने– “जित्नेले त जितेकै छन् त्यसै फुरुङ्ग हुन्छन् । हार्ने विचराहरूको मन त्यसै भरङ्ग हुन्छ जसले गर्दा सकारात्मक सोचमा कमी आउन गई देशको विकासमा नै प्रतिकूल असर पर्नसक्छ । त्यसैले जितुवालाई स–सम्मान ‘साइड’ लगाइदिएर हरूवालाई विशिष्ट पदको माला लगाइदिनुपर्छ । त्यसो गर्दा हरूवाहरू निराश हुनबाट जोगिन्छन् र बडो उमङ्गका साथ देश विकासमा लागिपर्छन् ।”
उता प्रजातान्त्रिक पक्षधरको तर्कचाहीँ के छ भने, हरूवाहरूलाई पठाउँदा जितुवाहरूमा नैराश्य उत्पन्न भई डिप्रेसनको शिकार हुन सक्छन् । त्यसो भयो भने झन् देशै डिप्रेसनको रोगले ग्रस्त हुनसक्छ । यसमा अलोकतान्त्रिक पक्षधरले भन्छ, –“देशलाई त त्यसैपनि यो रोगले चाँपिसकेको छ कुनचाहीँ नौलो कुरो भयो र ? अब नयाँ नेपाल बनाउने भनेपछि पुरानो यथास्थितिवादी नियम, सोच र तरिकालाई त परिवर्तन गर्नुप¥यो नि ! परिवर्तनलाई आत्मसात् गर्न सकेनौँ भने कसरी नयाँ नेपालको परिकल्पना गर्ने ? जितुवालाई मात्र पद दिनु भनेको त सरासर यथास्थितिवादी सोच हो ।”
प्रजातान्त्रिक पक्षधरले भन्छ, “जसले हार्यो त्यसले जित्यो”लाई नै कार्यान्वयनमा ल्याउने हो भने सरकार, मन्त्री–प्रधानमन्त्री बन्ने÷बनाउने कुरामा त लौ राजनीतिका घुनहरूलाई, लाज पचेका पचधुनहरूलाई केही फरक नपर्ला तर अन्य यावत् कुराहरूमा त गम्भीर असर पर्छ नि ! त्यसो गर्ने हो भने त अब खेलकुदमा पनि सबभन्दा ‘लास्ट’ हुनेलाई ‘गोल्डमेडल’ दिनुपर्यो, ‘सेकेण्डलास्ट’ हुनेलाई ‘सिल्भरमेडल’ दिनुपर्यो, फुटबलमा ‘रेड कार्ड’ पाउने अथवा क्रिकेटमा शून्य रन बनाउनेलाई नै ‘म्यान अफ द म्याच’ दिनुपर्यो । पढाइको सन्दर्भमा पनि परीक्षामा उच्चतम अङ्क ल्याउनेलाई फेल गरेर सम्पूर्ण विषयमा लड्डू खानेलाई प्रथम घोषणा गर्नुपर्यो ।”
“हो त नि, गर्नुपर्यो नि त ! त्यसै बन्छ नयाँ नेपाल ? पहिलाकै कुराहरू मान्ने हो भने त कसरी परिवर्तन हुन्छ ? अबदेखि जसले हार्छ त्यसले जित्ने हुनुपर्छ । त्यत्रो वर्ष जितुवाहरूले देश चलाए, भुँडीको बाहेक अरु कुनै कुराको विकास भयो ? त्यसैले अब आइन्दा हरूवाहरूलाई मौका दिनुपर्छ र उनीहरूको मनोबल बढाएर देशविकासमा अग्रसर बनाउनु पर्छ ।” अलोकतान्त्रिकले प्रस्ट पार्ने कोसिस गर्छ ।
“हुँदै हुँदैन ! त्यस्तो पनि कहीँ हुन्छ ?” प्रजातान्त्रिक पक्षधर कड्किन्छ ।
“यसलाई ठूलो रुपमा किन लिनुहुन्छ ? हरूवाहरू पनि त दलित–उत्पीडित, महिला, मधेसी, जनजातिहरू जस्तै अधिकार बिहीन उपेक्षित हुन् नि ! जसरी तिनीहरूको राज्यमा समान हक र पहुँच हुनु जरुरी छ, त्यसैगरी हरेक क्षेत्रका असफल र हरूवाहरूको पनि राज्यका हरेक अङ्गमा उत्तिकै पहुँच हुनु जरुरी छ । तपाइँ आफै भन्नुस् हामीकहाँ सफल धेरै छन् कि असफल ? हरेक चुनावमा पनि जम्मा एउटोले जित्ने हो, अरु सबै उम्मेदवारले हार्ने त हो नि ! त्यस हिसाबले पनि जितुवाहरू भन्दा हरूवाहरू कैयौँ गुणा बढी हुन्छन् । अब भन्नुस् जितुवाहरूको बहुमत पुग्यो कि हरूवाहरूको ? हो त्यै भएर हरूवाहरूकै दिन आउनुपर्छ । हरूवाहरूकै मनोमानी हुनुपर्छ अबको नयाँ नेपालमा । जितुवाहरूका दिन गए बुझ्नुभो ?” तिनगुणा बढी सङ्ख्यामा उपस्थित हरूवा पक्षधरले जितुवा पक्षधरको सातो लिए । जितुवा पक्षधर लुत्रुक्क परे, अँध्यारो मुख लगाए । हरूवा पक्षधरले नारा लाउन थाले –“जसले हार्यो त्यसले जित्यो !” “हरूवाहरू हाई हाई, जितुवाहरू बाई बाई !” छिट्टै नयाँ नेपाल बन्ने आशामा सबै आ–आफ्नो बाटो लागे ।
फुरौला (२०६७) बाट
Subscribe
Login
0 Comments
Oldest







































