मुकुन्द आचार्यनेताहरूको छाला गैंडाको जस्तै
होटेलको एउटा केविन आरक्षित जस्तै थियो– ‘नेताहरूका लागि मात्र ।’
हामी अर्कै केविनमा कोचिन बाध्य भयौँ । खाजा खाएर निस्कँदा होटेलका साहुलाई सोध्यौँ– ‘यो कोठा नेताहरूकै लागि रिजर्व हो ? सार्वजनिक ठाउँमा पनि यत्रो ठूलो भेदभाव गर्ने ! यो त मण्डले पारा भै गयो नि । अब त प्रजातन्त्र पनि घुमफिर गरी फर्केर आइसक्यो ।’
भुँडे साहुले हामीलाई संझाए– ‘हेर्नुस्, त्यो केविन कमिलाको खानी हो । बाह्रै महिना त्यसमा कमिला लाग्छ । त्यस कोठामा कमिलाको टोकाइले अरु त टिक्नै सक्दैनन् । नेताहरू भने त्यहाँ आनन्दका साथ खानपिन गर्छन् । कमिलाले टोक्यो भनेर उनीहरूले कहिल्यै गुनासो गरेनन् । उनीहरूको सहनशीलता देखेर नै मैले त्यो कोठा उनीहरूकै लागि छुट्याइदिएको हो ।’
ती साहुले अर्को भेद पनि खोले, पहिले म पत्रकारलाई भन्थेँ– ‘हाम्रो नेताहरूले देश खाइसके । क्यै लेख्नु प¥यो । तर अचेल पत्रकारलाई म ताकेता गर्दिन । प्रहरीहरू समेत त्यो कोठामा पाँच मिनेट टिक्न सक्दैनन् । तर नेताहरूको टोली भने त्यहाँबाट कहिल्यै भागेन । कमिलाले उनीहरूलाई टोकिरहन्छ, उनीहरू सेकुवा टोकिरहन्छन् । त्यसैले त्यो कोठालाई नेताहरूका लागि मात्र भनेको हो, अन्यथा नलिनु होला ।’
एउटा पत्रकार साथीले टिप्पणी गरे– ‘नेताहरूको छाला गैंडाको जस्तै मोटो हुन्छ । कमिलाको टोकाई र कलमको घोचाइले क्यै नाप्दैन ।’
साहुको पनि चित्त बुझेछ क्यारे, भुँडी हल्लने गरी हाँस्न थाले ।
बारा, हाल थानकोट, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































