साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विज्ञापनिक विश्राम

Nepal Telecom ad

आजको युग विज्ञापनको युग भएकाले सर्वप्रथम विज्ञापनको अर्थ र प्रयोगबारे अलिकति पण्डित्याइँ छाँट्नु जरुरी छ । विज्ञापनको विले विशेष रूपमा राम्ररी अनि ज्ञापनले जानकारी दिनु, सूचना दिनु वा प्रचार गर्नु भन्ने जनाउँछ । दुवै मिलाउँदा हुने खुद अर्थ—केहीबारे विशेष रूपमा राम्ररी जानकारी दिनु, सूचना दिनु वा प्रचार गर्नु भन्ने हुन्छ । तर आजकाल विज्ञापनको शाब्दिक अर्थ र प्रायोगिक सन्दर्भमा व्यापक परिवर्तन भई यसले बिगारेर बढाइचढाइ गरिने प्रचार भन्ने विशिष्ट अर्थ धारण गरिसकेको छ । जेजसरी र जेजस्तो अर्थ धारण गरे पनि विज्ञापन हरक्षेत्रमा सम्बद्ध विषय वा वस्तुका प्रचारप्रसारको सशक्त माध्यम हो भन्ने कुरामा चाहिँ सात मतै छैन ।

व्यापार व्यवसायका क्षेत्रमा मात्र होइन, जीवनका हरक्षेत्रमा विज्ञापनको महत्ता र उपयोगिता ठूलै छ । यसलाई व्यावसायिक उन्नयनको त अचूक औषधी नै ठानिन्छ । विज्ञापनको ठाडो साइनो सञ्चारसँग हुन्छ भने सञ्चारको तेर्साे नातो विज्ञापनसँग । नातागोता केलाउँदै जाँदा सञ्चार विज्ञापनका लागि हो कि विज्ञापन सञ्चारका लागि हो छुट्ट्याउनै कठिन छ । यी दुईलाई आमाछोरी भन्ने गरिए पनि कुन आमा र कुन छोरी भन्नचाहिँ गारो छ तापनि यिनका बीचमा रगत र मुटुको सम्बन्ध भएकोचाहिँ टड्कारै देखिन्छ । आजकालका हरसञ्चारमा मूल कार्यक्रमभन्दा विज्ञापनै बढी हुने हुँदा सञ्चारको सञ्चालकै विज्ञापन भएको कुराचाहिँ लाटाबुङ्गालाई पनि थाहा छ ।

वर्तमान विज्ञापनिक युगमा जताततै, जेसुकै र जोसुकैको पनि विज्ञापनै विज्ञापनको बिगबिगी छ । रेडियो, टिभी, पत्रपत्रिका, टोल, भित्ताभित्ती कतै पनि विज्ञापन नभएको ठाउँ पाउनै मुस्किल छ । वास्तवमा वस्तु आदिको उत्पादन र गुणवत्ताको जानकारी दिने हेतुले प्रचारप्रसार गर्नु खराब पनि होइन । उपयुक्त ढङ्गले विज्ञापन गर्नु पनि पर्छ तर अकबरी सुनलाई कसी लाउनु पर्दैन भनेझैं राम्रा वस्तुको सामान्य जानकारीबाहेक अनावश्यक प्रचारप्रसार उति आवश्यक छैन । वस्तु जति खराब भो उति बढी विज्ञापन अनि व्यक्ति जति कुरूप भई उति बढी डेन्टिङपेन्टिङ भन्ने कुरा पूरै सत्य नभए पनि असत्यै भन्न पनि मिल्दैन ।

आजका विज्ञापनमा शिष्टता र श्लीलताको नयाँ परिभाषा गर्नुपर्ने स्थिति पैदा भएको छ । अनगिन्ती विज्ञापनहरू हेरिसक्नु, भनिसक्नु र सुनिसक्नु नै छैनन् । आफन्तजनका अगाडि बसेर विज्ञापन हेर्दा उठेर हिँड्नु कि, सिर निहुराएर बस्नु कि, च्यानल घुमाउनु भन्ने सङ्कट पैदा हुन्छ । हामीकहाँ विदेशी मोडेलमा नेपाली बोली डबिङ गरिदिएपछि त्यो विज्ञापन पूरै नेपाली हुने मात्र होइन नेपालकै माटोमा जन्मेहुर्केको निजी र मौलिक उपजसमेत भइहाल्छ । आजकाल विज्ञापनको भाषा जेजस्तो भए पनि कपडाको भाउ निकै वृद्धि भएकाले होला अल्पवस्त्रधारी झिल्कीमिल्की फोटाचाहिँ विज्ञापनमा अनिवार्यै भएको छ । दृश्य माध्यममा त यस्ता फोटाविनाका विज्ञापनै हुँदैनन् । वास्तवमा माध्यम, विषय र वस्तुको प्रकृतिअनुरूप निर्मित विज्ञापन बढी प्रभावकारी र सफल हुने ठानिए पनि त्यो ठनाइ बेकार भइसकेको छ । शिष्टता, श्लीलता र विश्वसनीयताको सीमाभित्र रहेर गरिने विज्ञापन सहज ग्राहृय भए पनि अशिष्ट, अश्लील र अविश्वसनीय विज्ञापनले वस्तुको बिक्रीमा अभिवृद्धि हुने तथा व्यक्तिको गुणवत्ता बढ्ने भन्ने कुरै आउँदैन ।

विज्ञापन कति प्रकारका र कस्ता हुन्छन् भन्ने कुरा न भनी साध्य छ न गनी नै साध्य । अन्य क्षेत्रीय विभाजनझैँ विज्ञापनको विभाजनका लागि पनि अनेक आधार तय गर्दा पनि यसका प्रकार यकिन गर्न कठिन छ । सालाखालामा विभाजन गर्नैपर्दाचाहिँ प्रयोजनका आधारमा व्यावसायिक, सेवामूलक र पदपूर्तिसम्बन्धी विज्ञापन । व्यवसायको प्रकृतिका आधारमा अनुनयात्मक, सूचनात्मक, औद्योगिक, सांस्थानिक, वित्तीय र वर्गीकृत विज्ञापन । जनसञ्चार माध्यमका आधारमा मुद्रित, श्रव्य र श्रव्य–दृश्य विज्ञापन । विषयक्षेत्रगत आधारमा शैक्षिक, राजनैतिक, सामाजिक, सांस्कृतिक, वैवाहिक विज्ञापन आदि । यी भए विज्ञापनका परम्परित शास्त्रीय प्रकार ।

विज्ञापनको गुण र भाषाबारे पनि शास्त्रीय अवधारणाहरू पाइन्छन् । विज्ञापन विश्वसनीय, कलात्मक, आकर्षक, सूचनामूलक, तथ्यमूलक, अनुरोधात्मक, उत्प्रेरक, तार्किक आदि गुणयुक्त हुनुपर्छ । यसको भाषा पनि सरल, सहज, स्वाभाविक सङ्क्षिप्त, सूत्रात्मक, मितव्ययी, स्पष्ट, पूर्ण, प्रत्यक्ष, प्रभावकारी, मार्मिक, आकर्षक, कलात्मक, प्रयोजनमूलक, अर्थपूर्ण, सङ्केतात्मक, शिष्ट, श्लील, सम्प्रेषणीय र सर्वग्राह्य हुनुपर्छ अर्थात् विज्ञापनमा सूचना र कलामिलित भाषा उत्तम हुन्छ भन्ने कुरा विज्ञापनका महापण्डितहरू बताउँछन् । यी भए पण्डित्याइँ छाँट्ने मोटामोटी सैद्धान्तिक कुरा । तर आज विज्ञापन कुनै सिद्धान्तमा नअटाउने अजीवको वस्तु भइसकेको हुँदा यसका प्रकार, गुण आदि सैद्धान्तिक कुरा निधो गरेर टाउको दुखाउनु निरर्थक भइसकेको छ ।

आजको साढे एक्काईसौँ शताब्दीतिर विज्ञापनको आधुनिक–उत्तरआधुनिक गुण र भाषाबारे कुरै छोडौँ, विभाजनले पनि प्रचलित परम्परा तोेडेर पूरै भिन्न र नवीन रूप धारण गरिसकेको छ । यतिखेर विज्ञापनका ढाँचा र तौरतरिका न गनिसक्नु छ न भनिसक्नु नै । अब ती दिन गए, यी दिन आए, केकेमा केके पलाए भनेझैँ विज्ञापनमा पनि पलाउने र झर्ने क्रम जारी रहेकाले यिनलाई कुनै आधारमा बाँध्नै नसकिने स्थिति छ । आजकाल भित्ते विज्ञापन, चिन्डे विज्ञापन, ओलने विज्ञापन, डाँडेटाकुरे विज्ञापन, खोपेपराले विज्ञापन, नाइटे विज्ञापन, दन्ते विज्ञापन, चुच्चे विज्ञापन, बुच्चे विज्ञापनका साथै दुधेलु, फिलालु, तिघ्रालु आदि अनन्त प्रकारका विज्ञापन प्रचलनमा छन् । यिनका गुण र भाषाको कुनै हिसाबकिताबै छैन । यी जेजे भए पनि वर्तमान सन्दर्भमा विज्ञापनको अपार महिमालाई दृष्टिगत गर्दा व्यावसायिक विज्ञापन र जागिरे विज्ञापन गरी दुई भागमा बाँड्नु बढी सान्दर्भिक देखिन्छ ।

व्यावसायिक–व्यापारिक क्षेत्रमा विज्ञापनको भूमिका ठूलै हुन्छ भन्ने ठानिन्छ र त्यसको अभिवृद्धिका लागि मोटै रकम खर्चिइन्छ पनि । अहिले यस क्षेत्रमा उपहारविनाका विज्ञापन पनि हुन छाडेका छन् । त्यो पनि थोरै हो र लाखौँ–करोडौँका उपहार । यस्ता फोस्रा उपहारको सट्टा सामानको मूल्य घटाउँदा बेस हुने हो तर मूल्य घटाउनु त कता हो कता, रातारात बढाएर चौपट्ट । कुनै चिज किनिसक्नु छैन । सामानको त कुरै छोडौँ, मान्छेका विज्ञापन झन् उत्पातका । शुभकामना, बधाइ, विवाह आदिका विज्ञापनले पत्रिकाको पातो पूरै भरिएको हुन्छ । यसबाट विज्ञापन सञ्चारको कमाउदार पोथी भएको कुरामा कतै शङ्का गर्ने ठावैँ छैन ।

सबैखाले व्यावसायिक विज्ञापनको मोडेल ब्ल्याक ब्युटी, ह्वाइट ब्युटी, क्याट ब्युटी, फ्याट ब्युटी, सिलिम ब्युटी, चिलिम ब्युटी आदि ब्युटी नै ब्युटीलाई बनाइएको हुन्छ, त्यो पनि प्रायः निर्वस्त्र । विज्ञापनमा ब्युटालाई उति महत्व दिएको देखिन्न, कतैकतैे प्रयोग गरिए पनि सर्वाङ्ग वस्त्रधारण गरिएकै हुन्छ । सिमेन्ट, साबुन, रक्सी हुँदै नम्बर वान, टु, थ्री आदि सबको विज्ञापनमा पनि महिला नै प्रयोग गरिन्छ । जसले जुन वस्तुको प्रयोगै गर्दैन त्यसको विज्ञापन तिनैबाट गराउनाको तात्पर्य प्रयोग गर्नेले वस्तु नै माग्लान् भनेर हो कि ? आजकाल नारी तिघ्रा, फिला, नाइटो हुँदै डाँडापाखा, झारपात, झाडी सब नदेखाई विज्ञापनै हुँदैनजस्तो छ । कतिपय त नाङ्गै पनि … । लेकालीजत्तिकै औलाली भुत्ला प्रदर्शनमा पनि पूरै समानताको सिद्धान्त लागू भइसकेजस्तै छ । दुधको विज्ञापन दुधै देखाएर गर्नुपर्ने अनि आङ ढाक्ने लुगा लाउँदा लाज हुने दिन आए । बाल्यकालमा सबैलाई सजिलै सर्वसुलभ ढङ्गले देखाइने मरुभूमि अहिले अलिअलि झारपात, पोथ्रापोथ्री र डाँडाडाँडीमा परिवर्तन हुँदैमा देखाउन नमिल्ने के छ र भन्ठानी सबथोक प्रायः पुरानै ढपमा देखाएर गरिने लबस्तरे विज्ञापन कुनै अर्कै वस्तुको हो कि त्यही चिजको हो छुट्टयाउनै गारो छ । वास्तवमा त्यस वस्तुसँग त्यस अङ्गको खै के सम्बन्ध हुन्छ थाहा छैन । हुन त मजस्ता लद्दुलाललाई के थाहा यस्ता ठूला विज्ञापनका कुरा । विज्ञापनकै करामतले आजकाल खलोमियो मात्र के परालकुनिउँ नै छ्याङ्गै देखिने कपडाको प्रभाव छ्याप्छ्याप्ती हुन थालेको छ ।

चिटिक्क परेकी, फूलबुट्टा भरेकी…, तिम्रै लागि साँचेकी छु, तिम्लाई पाए’छि जाँदैन मन अन्त… आदि केके हो केके भाकामा विज्ञापन घन्काइन्छ । रूपरङ्ग जेजस्तो भए’नि आफू पनि विज्ञापनको मोडेल हुन चाहने व्यक्ति भएकाले चिटिक्क परेको …सुन्न सारै मन लाग्छ तर के गर्नु आजसम्म त्यस्तो सुन्ने अवसर पाइया छैन । जताततै विज्ञापनका साधन महिलालाई नै बनाइएको हो कि स्वयं बनेका हुन् भनी सोच्नै नसकिने अवस्था छ । हुन त आजको नारीवादी युगमा विज्ञापनको साधन नारीलाई नबनाएर कसलाई बनाउने त ? कुरो ठीकै पनि हो तर मेरो भेजाले अलि ढिलो काम गर्छ ट्युबलाइटजस्तै । आजकाल वस्तुभन्दा विज्ञापनको सङ्ख्या निकै बढी देखिन्छ । सबैको चर्चा गरेर साध्यै छैन । यहाँ केही नमुना मात्र कोट्याइन्छ ।

सर्वप्रथम अहिले बहुचर्चित विज्ञापन नम्बर वानकै कुरा गरौँ । यो विज्ञापन कम्ती रोचक, घोचक, उत्तेजक र घातक छ र ? सबै खाले सञ्चारक्षेत्र र भयानक होर्डिङ बोर्डमा समेत जताततै सचित्र यसकै विज्ञापन देखिन्छ । अब त सबले नम्बर वान नबोकी हिँड्नै नहुने भइसकेको र नम्बर वान भएपछि जहाँ जसले जसलाई जतिखेर जे गरे पनि हुनेजस्तो गरी विज्ञापन गरिन्छ । यो महिलाले लाउने साधन नभए पनि यसमा समेत महिलाकै सदुपयोग बढ्ता गरिएको देखिन्छ । म पूरै आधुनिक नारीवादी नम्बर वान भएकाले मलाई नारीको प्रयोग गरिएको विज्ञापन राम्रै पनि लाग्छ । नारीवादीमा पनि नम्बर वान नै भएपछि मलाई कुनै कतै छेकबार हुने कुरै आएन । मलाई जस्ताजस्ता भए पनि हुन्छ, कुनै बारना छैन । कपाली, झापाली, पाल्पाली, स्याङ्जाली, दुम्जाली, रोल्पाली, बनेपाली, पोखराली, हाँडी, गाँडी, राँडी, साँढी, पाँडी जेजे भए पनि फरक नपर्ने मान्छे परें म । चाँडी भए अझ बेस । यी सबमा नम्बर वान भए पनि नभए पनि मलाई केही फरक पर्दैन । आफैं नम्बर वान भएपछि अरूका नम्बर वान हेर्ने कुरै भएन । पहिले त नलिई हिँड्थें । आजकालचाहिँ त्यो नदेखाई काम नचल्ला भनी बोक्नसम्म थाल्याछु तर कामकुरो मिलेपछि प्रयोगचाहिँ उति गर्दिन ।

अहिले चाउचाउको विज्ञापन पो छ त खपिनसक्नुको । देशमा दलको झैँ चाउचाउको सङ्ख्या कति छ भन्ने टुङ्गै छैन । टाउको र पुच्छर मिलाउने, अर्जुन, हनुमान, रावण बन्ने आदि विज्ञापनिक होडले केटाकेटीलाई स्कुले खाजामा चाउचाउ नकिनी धरै छैन । प्रत्येक दिन क्लिनिक पु¥याउँदाको सास्ती, डाक्टरलाई सत्र … । यस्तो विज्ञापन त तिनै डाक्टरहरूले गोप्य रूपमा बनाएका वा बनाउन लाएका हुन् कि क्या हो ! देशको भित्री राजनीति बाहिर उग्र विरोध गर्नेहरूले नै चलाएका हुन्छन् भने यो त जाबो चाउचाउ न हो । यस्तो पुण्य कार्यमा महामहिम डाक्टरसापको संलग्नता हुनुमा के नै पो आश्चर्य रह्यो र ?

चिया खुवाउनेबित्तिकै बिहे गर्न वा कुर्सी छोड्नसमेत तयार हुने, हर्लिक्स–कम्प्लान खानेबित्तिकै हाइट बढिहाल्ने, च्यवनप्रास खानेबित्तिकै लुरीकान्ते पनि हनुमानै हुने, हाजमोला खानेबित्तिकै शत्रु पनि मित्रु बन्ने, फेयर एन्ड लब्लीका पूर्णिमा प्याकले सारा कालीजति गोरी भइहाल्ने, पाउडरले सबै लुगालाई सेतो बनाउनेजस्ता विज्ञापनहरू अहिलेका बहुविज्ञापित विज्ञापन हुन् । चिया खुवाउनेबित्तिकै बिहे गर्न वा कुर्सी छोड्नसमेत तयार हुने भए बिहे हुन बा“की नम्बर वानहरूलाई अनि हाम्रा नेतानेतीहरूलाई किन त्यस्तो कमालको चिया नखुवाएको त ? हर्लिक्स–कम्प्लान खानेबित्तिकै हाइट बढिहाल्ने भए कोही कतै पनि होचापुड्का नहुनुपर्ने । च्यवनप्रास खानेबित्तिकै लुरीकान्ते पनि हनुमानै हुने भए पहाड कतै बाँकी नरही सब सम्मै बन्नुपर्ने । हाजमोला खानेबित्तिकै शत्रु पनि मित्रु बन्ने भए यत्रो रडाका मच्चाउने सरकार–दलदल सबलाई खुवाउन किन ढिलाइ गरेको त ? पाउडरले सबै लुगालाई सेतो बनाउने भए अरू रङ्गका लुगा नै नपाइनु पर्ने । फेयर एन्ड लब्लीका पूर्णिमा प्याकले सारा कालीजति साँच्चै गोरी भइहाल्ने भए हालसम्म कोही पनि काली नरहनु पर्ने अनि अफ्रिकातिर निर्यात गरी यसको व्यापार वृद्धि किन नगर्ने ? यी भए माननीयका केही मननीय कुरा ।

यस्तैगरी सब स्याम्पोले ड्यान्डर्फ गायब हुने, थर्माेकोट लगाउँदा अन्डाले चल्ला कोरल्ने, चितुवाका मुखबाट डेउ निकाल्ने, हात्ती र हात्तीछाप चप्पल उस्तै, पाडो किन्दा भैँसी उपहार भन्नेजस्ता निरर्थक विज्ञापनको के कुरा गर्नु ? यति मात्र हो र चिन्डे टाउकामा कपाल नउम्रिए पूरै पैसा फिर्ता भन्ने र पैसा फिर्ता लिनजाँदा मुकाम नै परिवर्तन गर्ने, नाङ्गै नुहाएर सबथोक देखाइदिने, नाइटीमा फाइटी गर्ने तथा मुत्र घटाएर पुत्र बढाउनेजस्ता विज्ञापनको पनि कमी छैन । ज्यान घटाउने वा सुकाउने कुनै एक वस्तु किनेपछि त्यसभन्दा बढी मूल्यको अर्काे वस्तु सित्तैमा भन्ने विज्ञापन पनि प्रशस्तै सुनिन्छ । यस्ता अनावश्यक प्रचार गरी प्रविधिको चरम दुरुपयोग गरिएका फाइ“फुट्टीलाल व्यक्तिकेन्द्री निरर्थक तोरीलाहुरे विज्ञापन त कति छन् कति ? नेपालीको संैतीस वर्षे प्रथम श्यामपण्डितलगायत यस्तोउस्तो महान् व्यक्ति भनी अनावश्यक फुँदा जोडेर आफ्नो विज्ञापन आफैँ गर्दै हिँड्ने लखनदासहरूको पनि यहाँ कुनै कमी छैन । शान्ति–क्रान्ति–भ्रान्ति, आराम–विराम–हराम सबका सब विज्ञापनकै विषय बनेका छन् र विज्ञापनमै चलेका छन् । यस्ता अनेक अविश्वसनीय, अशिष्ट, अश्लील र भ्रामक विज्ञापनबाट मजस्ता सिधासादा ग्राहक दिग्भ्रमित बनी विज्ञापित विषय–वस्तुप्रति अनिर्णित हुने स्थिति व्याप्त छ ।

शैक्षिक व्यवसायका क्षेत्रमा गरिने विज्ञापनको बेहोरा त पढेर–सुनेर–हेरेर साध्यै छैन । जताततै प्रतिशतका कुरा आउँछन् । पत्तै नपाई म पनि कति पटक यस्ता विज्ञापनको साधन बनेको–बनाइएको छु । कुनै शैक्षिक संस्थामा थप नगदनारायण असुल गर्नुपरेमा मजस्ता चल्ती गन्यमान्यका नामको बोर्ड झुन्डाए पुगिहाल्छ । त्यसपछि आय दनादन गयको कुरै छैन । कथंकदाचित आफ्ना र आफ्नातिरकाले नभ्याए वा नसके मात्र घटाघटमा अरूकालाई मौका दिइन्छ । घटाघटबारे कसैलाई जानकारी दिइँदैन । तैपनि बाहिरचाहिँ विद्युतीय सञ्चार, तुलसुल आदिले नपुगेर ठूल्ठूला होर्डिङ बोर्ड नै झुन्ड्याउन बाँकी राखिँदैन ।

राजनैतिक व्यवसायमा देखिने चर्तिकला झन् विचित्रको छ । यस व्यवसायमा बनिबनाउ र कनिकनाउ दुवैथरी विज्ञापनको बिगबिगी छ । भनिभनाउ र हानिहनाउको हिसाबै छैन । पछिल्लो समयमा मरिमराउ र चरिचराउको मात्रा अत्यधिक बढेको छ । अहिले राजनैतिक विज्ञापनका हरेक सन्दर्भ फुँदा र बुँदामा अडेको देखिन्छ । केही पहिले बहुप्रचलित रोडम्याप अहिले छायामा परी बुँदाकेन्द्री हुनपुगेको छ । बुँदा नम्बर उल्टाउने–पल्टाउने, नेप्टाउने–थेप्चाउने होड तीव्र छ । यस क्षेत्रमा दुई एक र एक दुई गरिएका थुप्रै उदाहरण छन्, गणना गरी साध्यै छैन ।

यी त भए व्यावसायिक विज्ञापनका एकाध नमुना । यस्ता अरू कति छन् कति ? भनी–गनी साध्यै छैन । यसलाई यही थाती राखेर अब लागौँ जागिरे विज्ञापनतर्फ ।

जागिरे विज्ञापनको कुरै अर्काे, महिमै अर्को । पहिले नै आफ्नो, आफ्नी र आफन्त ठीक पारी औपचारिकता पुर्याउन विज्ञापन नामधारी सूचना टाँस गरिन्छ । बेकार योग्यहरू सारा भेला भई निवेदन हाल्छन् । त्यसमा पहिले नै कोही फिक्स गरिइसकेको कुरा के थाहा ती बबुरालाई । यस्ता जागिरकै विज्ञापनबाट पनि फिर्ता नहुने गरी दनादन भौचर भराएर रकम असुलिन्छ तर पाउनेचाहिँ पहिले नै पक्का गरिएको हुन्छ । आज योग्यताको कसी राम्रा मान्छे नभएर हाम्रा मान्छे बनेको छ । हाम्राजति सबै राम्रा, यसै राम्रा, उसै राम्रा, त्यसै राम्रा सबै झिल्कीमिल्की हुनाले, अरूका जति सब खत्तम नराम्रा झुत्रीझाम्री हुनाले …बरिलै… । आजकाल ठेक्कापट्टा, टेन्डरसेन्डरबाट पनि जागिरको पँजनी गरेको पर्याप्तै देखिन्छ–सुनिन्छ । जागिर दिने निकाय सेवा आयोगहरू यस्तैयस्तै भर्तीकेन्द्र बन्नपुगेको तथ्य विज्ञापनविनै जगजाहेरै छ । हामीकहाँ विज्ञापनको महिमा छानबिन गर्न विज्ञापनिक उच्च आयोग मात्र होइन सर्वाेच्च नै गठन गर्न ढिलाइसकेको छ ।

हाम्रो मुलुक जागिरे विज्ञापनका क्षेत्रमा संसारभर नामी छ । जागिरका क्रममा पिउनदेखि हाकिमसम्मको विज्ञापन त अन्त पनि खुल्छ नै तर मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको विज्ञापन खुलाउने चलन हामीकहाँ मात्रै छ । यीमध्ये पहिलोमा कमसेकम न्यूनतम शैक्षिक योग्यतासम्मचाहिँ विज्ञापित हुन्छ भने दोस्रोमा त माङ्मुङ्ग्री नै काफी छ । पहिलेपहिले स्वच्छ विज्ञापन हुने बेलाँ नम्बर वानकै कारण कुनै पनि पदमा पास गर्न सकिएन । जब आफू स्वच्छ भइयो विज्ञापनै स्वच्छ हुन छोड्यो । धेरै पटक पहिलो विज्ञापनमा असफल भएपछि दोस्रो विज्ञापनमा पनि भिडिएकै हो, होक्राँहोक्रीँ पनि गरिएकै हो तर के गर्नु ? अन्यत्रजस्तै त्यसमा पनि पहिले नै फिक्स हुनेरै’छ आफू पर्ने कुरै भएन । बडा गाँठिस्टका अगि म बबुराको के जोड चल्नु ?

हामीकहाँ थुप्रैतिर गोलाप्रथारूपी विज्ञापनको विकास भएको बेहोरा पनि जगजाहेरै छ । कतै अरिङ्गालको गोला, कतै माकुराको गोला, कतै उपियाँको गोला, कतै रुपियाँको गोला, कतै बारुद गोला, कतै बम गोला… । जागिरका लागि गोलाप्रथाबाट विदेश पठाउने मात्र होइन मन्त्री नै बन्ने विज्ञापन चक्काजाम गरेरै भए’नि गराइएकै हो । त्यसमा चिठ्ठा पनि हालिएकै हो, के गर्नु पर्दै परेन । सबमा शून्य लेखेको रै’छ, मन्त्री लेखेको रै’नछ अनि परोस् नै कसरी ? यस्ता पाँडे विज्ञापन त कति भिडियो कति ? तर जे गरे’नि कहिल्यै परेन ।

मन्त्रीको खोले र गोले दुवै विज्ञापनमा असफल भएपछि प्रमकै विज्ञापनमा पनि निवेदन हालिएकै हो तर दुर्भाग्य त्यहाँ पनि आफ्नो नाम कटौतीमा पर्याे। त्यस पटक त पर्ने सम्भावना पूरै थियो तर केके गरेर अर्कैले उछिट्ट्याइहाल्यो । आफू स्वच्छ छविको पनि थिइयो र अक्षमको बिल्ला पनि भिरिएको थिएन तर के गर्नु समयले पल्टा खाएपछि पूर्वअक्षम नै सक्षम हुँदोरै’छ । त्यसो भए’सि आफ्नो पालो आउने कुरै भएन । आफ्नो त कर्मै खोटो । टाउकामा अन्डा फुटाउने हरिलठ्ठकदेखि दारीबा हुँदै घुँघुँरुबासमेतले प्रम हुने पक्का भनेका थिए । तिनलाई ठूलै भेटी पनि चढाइएकै हो तर के गर्नु तीभन्दा ठूला दैव लागी भाग्यमा बिर्काे लागेपछि, भाग्य नै खुस्केपछि ! त्यहाँ पुग्न निकै तिगडम गर्नुपर्ने रै’छ । हुन त आपूm पनि कम्तीको तिगडमबाज त होइन तर अरू अझ बढी चुपिचण्डाल निस्केपछि के नै पो लाग्दो र’छ र ?

प्रममा निवेदन हाल्ने विज्ञापनभन्दा केही पहिले चुनावी विज्ञापनका बेला ठूल्दाइ सग्लै भएकाले आफ्नो पालो आउने कुरै भएन । ठूल्दाइ हिँडेपछि पालो त आयो तर देशलाई सिङ्गापुर बनाइदिने, इन्द्रलाई गुहारेरै भए पनि सब सडक पखालिदिनेजस्ता मिठामिठा विज्ञापनिक नाराका कारण लिँडे जनता उतैतिर लहसिहाले । अनेक जालझेल तिगडमलगायत गर्नुपर्ने नपर्ने सब गरिएकै हो तर आफ्नो केही लागेन । सत्ताँ पुगे’सि देशलाई सिङ्गापुर बनाउने भन्ने विज्ञापनको हिरो पूर्णकालीन हिरीमै मस्त भएकाले अन्ततः इथियोपियाभन्दा पनि माथि नै पुगिहाल्यो । यस शुभकार्यमा मैले पनि भित्री सहयोग नपुर्याएको त कहाँ हो र ? यो कुरो धेरैलाई पत्तै छैन, जसलाई पायो त्यसलाई भन्न पनि त भएन नि ! विज्ञापनअनुरूपै सब हुनुपर्छ भन्ने के छ ? अहिलेको नयाँ नेपाल पहिलेको पुरानो नेपालजस्तो भए पो ? कुनै नामधारी मुलुक नै बनाउनु त ठूलै कुरा हो नि भन्दै निजलाई जिल्याउन सफल भए पनि प्रम हुने आफ्नो तीव्र इच्छाचाहिँ त्यसै तुहिएर गयो । नहुने परिस्थिति रहुञ्जेलसम्म सातै थरीले जैले’नि मेरै नाम लिन्छन्, मेरै चिन्डे तालुमा बुकुर्सी मार्छन् । जब होलाहोलाजस्तो हुन्छ अनि मेरो नाम हटाएर आफ्नै नाम अगि सार्छन् । यस कार्यमा मेरै पुत्ने छोराहरूको पनि साँठगाँठ रहेको देख्दा म बिलखबन्दमा परेको छु । तैपनि हरेस खाइया छैन, हेरौँ पल्लाघरे कालेगोरेहरूले साथ दिए कुनै दिन कसो पालो नआउला ?

पछिल्लो समयमा विकसित एउटा लिए एउटा सित्तैमा भन्ने विज्ञापन झन् रोचक छ । यस्तो विज्ञापन वस्तुविशेषबाट बच्चाबच्चीमा रूपायित भइसके पनि कतिकति ठाउँ विस्तार हुन बाँकी नै छ । अब जागिरका क्षेत्रमा पिउन पाए हाकिम सित्तैमा वा प्रधानमन्त्री पाए मन्त्री सित्तैमा अनि व्यक्ति व्यवसायका तहमा दिदी लगे बैनी सित्तैमा भन्ने विज्ञापन मात्र आउन बाँकी छ । यस्तो पनि एउटा विज्ञापन बनाउने हो कि ? त्यसो भए एकैचोटि दुवैको कल्याण । यीमध्ये दिदीबैनीवाला विज्ञापनचाहिँ अरूले कष्ट गर्नु पर्दैन, मै बनाइदिन्छु । इच्छुक दिदीबैनीले मेरै मुकाममा आई शीघ्र सम्पर्क राख्नु होला । पुत्लेपाङ्ग्रे थारी मैयाँलाई विशेष ग्रा≈यता दिइनेछ । निजहरूलाई सित्तैमा लाने व्यक्तिचाहिँ म स्वयं हुनेछु, यसमा मेरा योग्यताहरूको कुरै नगरौँ ।

वास्तवमा वर्तमानिक विज्ञापनको महिमा वर्णन गर्न मेरा शब्द असमर्थ छन्, बामपुड्के छन् । साञ्चारिक विज्ञापनले नारीको चीरहरण र भाषाको निर्वस्त्रीकरण गरे पनि मचाहिँ भरसक भाषाको घुम्टो नखोली विज्ञापनको विज्ञापन गर्ने सोचाइमा छु । हुन त विज्ञापन महापुराण सुनेर–सुनाएर साध्य त छैन तैपनि नसुनाई भा’छैन । सित्तै सुनाउन पनि भएन अतः अहिले एकछिनलाई विज्ञापनिक विश्राम लिऊँ, त्यसपछि फेरि साञ्चारिक विज्ञापनको जयगान गरौँला, तपाईं कतै नजानुस् है म झट्टै आइहाल्छु पोरे नाक फुलाउँदै अनि हाम्रो भेट घाटमै भइहाल्छ । जय विज्ञापन … ।
खास मुकाम : हल्लनपुर गौँडा
हाल : इथियोपिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x