लठ्ठी
घर पुग्दा एउटा आकर्षक निमन्त्रणा कार्डले मेरो प्रतीक्षा गरिरहेको थियो ।
मित्र विनयलालले पठाएको निमन्त्रणा रहेछ ।
विनयलाल स्कुलदेखि स्नातक तहसम्मको क्लासमेट हो, मेरा । यतिवेला ऊ सहरकै प्रतिष्ठित व्यापारीमा गनिन्छ । व्यापारमा नयाँ नयाँ स्किम निकाल्न औधी सिपालु छ र ठूलो आर्थिक प्रगति पनि गरेको छ । तर जति आर्थिक प्रगति गरे पनि आफ्नो धरातल भुलेको छैन । कुनै पनि कार्यक्रममा मलाई बिर्सन्न ।
“फेरि के नयाँ काम थाल्यो त विनयले !” यस्तै सोंच्दै कार्डमा लेखिएको व्यहोरा पढ्न थालेँ ।
विनयलालले नयाँ सोरुम खोल्ने भएछ, “लठ्ठी सोरुम” ।
बस, ट्रक, कार, मोटरसाइकल, विद्युतीय सामान र विभिन्न औद्योगिक प्रतिष्ठानका उत्पादनहरूको सोरुम बारे मलाई पनि केही थाहा थियो । तर लठ्ठी सोरुम खुलेको कुरा मेरो पूर्व जानकारीमा थिएन ।
मित्र विनयलालले अकारण लठ्ठीको व्यापारमा हात हालेका पक्कै होइन । यसभित्र कुनै ठूलो सम्भावना देखेको हुनुपर्छ उसले ।
त्यस्तो सम्भावना के हुन सक्छ त ? राति सुतेको बेला मनमनै बिचार गर्न थालेँ ।
“बुढेशकालको सहारा भनेकै लठ्ठी हो” यसै भन्नु हुन्थ्यो मेरो हजुरबा ।
“देशको युवाशक्ति सुरक्षित भविष्य र रोजगारीका लागि विदेशिएपछि वृद्धहरूको डम्पिङसाइड बनेका छन् गाउँवस्ती । यस्तो अवस्थामा लठ्ठी व्यवसाय मौलाउने ठानेरै लठ्ठी व्यापारमा हात हाले होला, विनयले ।” मेरो बोधो दिमागले यस्तै अडकल काट्यो ।
यो पनि नयाँ अनुभव हुने भयो, मेरो लागि । मित्र विनयलालको सोरुममा एसियन, युरोपियन, अमेरिकन, अफ्रिकन र अरु नयाँ डिजाइनका लठ्ठीहरूको अवलोकन गर्न पाइने भयो । यस्तै सोचेर तोकिएको समयभन्दा दश पन्ध्र मिनेट पहिल्यै म सोरुममा पुगेँ ।
सोरुममा पुग्ने पहिलो आमन्त्रित म हुन पुगेँ । मुसुक्क हाँस्दै हात मिलायो विनयलालले र सोरुमभित्र लग्यो ।
सोरुममा छिर्नासाथ मेरा नजर सोकेस र शिसाका र्याकमा सजाइएका लठ्ठीमा परिहाले । कहाँको एसियन, युरोपियन, अमेरिकन र अफ्रिकन डिजाइनका लठ्ठीहरू हुनु । त्यहाँ त मेरो अनुमान विपरित विसशद्ध नेपाली मोडलका लठ्ठीहरू पो सजाइएका थिए । कुनै गोला, कुनै चारपाटे चिर्पट जस्ता कुनै काँडेदार डिजाइनका घङ्गारू, पैयुँ, निगालो र कटबाँस जातका लठ्ठीहरू सजाइएका थिए, त्यहाँ ।
“के ताल हो तेरो, विनय । त्यत्रा मोटर, कार र मोटरपार्टसको व्यापार गरेको मान्छेले के यस्तो सोरुम खोलेको ?” मैले भनेँ ।
“व्यापारको कुरो बुझ्दैनस् बाज्या, तैँले । देश नयाँ आन्दोलनमा गइसक्यो । यो त तँलाई पनि थाहा छ । यसपटकको क्रान्ति– सकेट बम, बन्दुक, रकेटलन्चर र एम्बुसको नभएर लठ्ठीको हुने घोषणा क्रान्तिकारीहरूबाट भइसक्यो । देशको लगभग आधा जनसङ्ख्या यो अनौठो क्रान्तिमा होमिने पनि सुनिश्चित भइसक्यो । यस्तो अवस्थामा लठ्ठीको भन्दा राम्रो व्यापार अरु के को हुनसक्छ ? घुस्यो केही बाज्याको दिमागमा ?” केही जिस्किँदै बोल्यो विनय ।
“याँ सुन बाज्या । लठ्ठी मात्रै होइन क्या । यो आन्दोलनमा जति बढी लठ्ठीको प्रयोग हुन्छ त्यत्ति नै बढी शिसा र मोटर पार्टसको व्यापार बढने पनि सुनिश्चित छ । त्यसैले दुई लठ्ठीको खरिदमा एक लठ्ठी उपहारको स्किम पनि ल्याएको छु, मैले त ।” कानैमा मुख ल्याएर भन्यो विनयले ।
यस्तो सुनेर मलाई लाग्यो, मेरा हजुरबाको लठ्ठी परिभाषा त अधूरो पो रहेछ ।