साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भतुवा अनि भुस्याहा

Nepal Telecom ad

भुस्याहा कुकुरको काम पनि हुँदैन फुर्सद पनि हुँदैन । घाम चर्किए पनि दौडिरहन्छ, पानी दर्किए पनि दौडिरहन्छ । न त ‘चे’ भन्दा आउँछ न त ‘धुर’ भन्दा भाग्छ । वर्षैपिच्छे परिवर्तन भैरहने हाम्रा सरकारहरूको चरित्र पनि दुरुस्तै हुनेगर्छ । तर त्यत्तिको भरमा हाम्रो बहुदलीय सरकारलाई भुस्याहा भन्न मिल्दैन । मन्त्रीहरू घुस्याहा भएकै कारणले सम्पूर्ण सरकारलाई नै घुस्याहा भन्न मिल्ला तर भुस्याहा नै भन्न सकिने आधार र स्पष्ट प्रमाणहरू पुग्दैनन् ।

‘कामकुरो एकातिर कुम्लो बोकि ठिमीतिर’ भन्याजस्तै प्रधानमन्त्री र मन्त्रीहरू गर्नुपर्ने कामलाई बैकल्पिकमा राखेर शिलान्यास र उद्घाटनमा मात्रै धाउनु पनि भुस्याहा चरित्र नै होला तर पनि सरकारलाई नै भुस्याहा भनिहाल्न मिल्दैन । काम न बेकामसँग देशको ढुकुटी रित्याएर सपरिवार विदेशतिर धाउनु अनि उतै हराउनुलाई पनि भुस्याहा चरित्र भन्न मिल्ला तर सरकारलाई नै भुस्याहा भनिहाल्न मिल्दैन ।

भुस्याहा हुनलाई त खानेकुरा नखाएर नखानेकुरा खानु पर्छ । वास्तविक भुस्याहा हुनलाई त पचेपछि निस्कने चिज पनि स्याम्म पार्नुपर्छ । तपाइँले जेसुकै भन्नुस् तर हाम्रा मन्त्रीहरूले साङ्केतिक हिसाबले हसुरे पनि साँच्चीकैको त अहिलेसम्मलाई खाएका छैनन् है ! कुनैदिन खाएभने बल्ल हामी व्यङ्ग्यकारहरूलाई सजिलो पर्ला । हाई काढ्दै दिन काट्न बाहेक माखो समेत मार्न नसकेपनि, गर्नुपर्ने काममा नभुलेर लखरलखर डुले पनि भुस्याहा नै भनेर ठोकेरै भन्न मिल्ने कुरो भएन । कार्यपालिका र व्यवस्थापिकालाई बारीतिर अनि न्यायपालिकालाई सिस्नोघारीतिर मिल्काएपनि सरकारलाई भुस्याहा भन्न मिल्दैन । खान मात्रै जानेका भएपनि मन्त्रीहरूलाई भतुवा नभन्नु अनि काम र फुर्सद दुवै नभएपनि सरकारलाई भुस्याहा नभन्नु । छेरुवाहरूको सरकार भन्न सकिएला, हरूवाहरूको सरकार भन्न सकिएला तर भुस्याहा सरकार भन्नलाई यथेस्ट प्रमाण पुग्दैन ।
‘हरूवै हरूवाको सरकार !’ नाम सुन्ने बित्तिकै खित्का छाड्न मन लाग्ला । त्यस्तो सरकार व्यहोर्नु पर्दा भित्तामा टाउको ठोक्काउन मन लाग्ला । बरु पागल आईमाईलाई बुङ्गै हिँड्न लाज लाग्ला सरकारमा सामेल मन्त्रीहरूलाई लाज लाग्दैन । अधिकृतको गाला सुम्सुम्याउन लाज लाग्दैन । दशौँगुना ठूलो राष्ट्रलाई पछार्दै दोब्बर सङ्ख्यामा कोपनहेगन पुग्न लाज लाग्दैन । संसदमा गयल भएर पनि भत्ता पचाउन लाज लाग्दैन । इतिहासमै खत्तम सुरक्षा स्थिति हुँदा पनि पहिलेको भन्दा उत्तम भन्न लाज लाग्दैन । माननीय भनाउँदाहरूलाई गाडी टक्र्याउन लाज लाग्दैन । खुपी न खापीसित आफन्तीलाई विशिष्ट पद सुम्पिन लाज लाग्दैन । कुर्सिकै लागी तानातान र हानाहान गर्न लाज लाग्दैन ।

सिधै भन्नुपर्दा नाङ्गैबुङ्गै दौडिन लाज लाग्दैन । तर जे जे गरेपनि भतुवा भन्न पाइँदैन । हरूवा भन्न मिल्ला, जितुवा भन्न मिल्ला तर भतुवा भन्न मिल्दैन । गर्नेलाई लाज नलागेपछि देख्नेलाई लाज लागेर के गर्नु ! लाज पचेकाहरूले समयमा संविधान बनाउन नसकेपछि आउनुस हामीले आँखा बन्द गर्ने, कान छोप्ने र नाक थुन्ने सामुहिक प्रतिबद्धता जनाऔँ । कसैलाई भतुवा पनि नभनौँ, कसैलाई भुस्याहा पनि नभनौँ । नैतिकता नभएकाहरूलाई त्यसो भन्न हाम्रो नैतिकताले दिँदैन । भतुवाहरूले आफै बुझ्छन्, भुस्याहाले आफै बुझ्छ ।
शब्दाङ्कुर मासिक, वर्ष–९, अङ्क–७, बैशाख २०६७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
लुटको खेती

लुटको खेती

अनिल कोइराला
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
0
Would love your thoughts, please comment.x
()
x