साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘बा’लाई उत्तर

Nepal Telecom ad

गाउँगाउँमा मोबाइल पुगेपछि मेरा बाले पनि एउटा मोबाइल टेलिफोन भिरेछन् । मेरा बा न परे, मोबाइल टेलिफोन भेटेपछि किन चुप लागि बस्थे । शहरमा बस्ने छोरालाई फोन गर्छु भन्दै कनि कुथी मेरो नम्बर थिचिहालेछन् । मैले “हल्लो !” भन्न भ्याउँदा नभ्याउँदै बाले ममाथि प्रश्नका पर्रा बर्साउन थालिहाले । “होइन ए साइँला ! शहरतिरको हालखबर के छ, हँ ?”

“शहरतिरको हालखबर त ठीकै छ बा” भन्न मात्र के भ्याएको थिएँ, “अनि संविधान बन्यो त ?” भनेर बाले अर्को प्रश्न थपिहाले । प्रश्नमाथि प्रश्न फ्याँक्न थालेपछि मेरा बासँग मलाई झनक्क रिस पनि उठ्यो । हलो जोतेर खाने यी बालाई किन संविधान बने नबनेको कुरामा चासो ? संविधान बनाउने जस्तो ठूलाबडाले गर्ने काममा मेरा बा जस्ता गैबरले चासो राखेर बेकारमा संविधानकै अपमान ।

कानमा फोन राखेको राखेकै यस्तै केही सोच्दै थिएँ बा फेरि जंगी हाले– “ए साइँला ! तँ किन बोल्दैनस् हँ, संविधान त बन्यो त भनेको ?” म झसङ्ग भएँ र बा को प्रश्नको उत्तर दिन तम्तयार भएँ । तर तम्तयार भएर के गर्नु, मेरा बालाई चित्त बुझाउनै गाह्रो छ । “बा ! तपाईँ संविधान बने नबनेको कुरामा चिन्ता नगर्नुस् चुप लागेर हलो जोत्नुस्, भैँसी पाल्नुस्, ठूलाबडाले गर्ने काममा किन चासो लिनुहुन्छ ?” मैले बालाई थुम्थुम्याउने प्रयास गरेँ ।

“के रे के रे, मलाई चुप लागेर बस् रे ।” बाले आफ्नो कडा रुप देखाउन थालिहाले । “संविधान बनाउनका लागि नेतालाई भोट दिएर हामी पठाउने, नेताले संविधान पनि नबनाउने, अनि फेरि हामीले चुप लागेर बस्ने ? यस्तो कुरा तैँले मलाई सिकाउनु पर्दैन ? त्यहाँ नेताहरूले संविधान नबनाई भत्ता मात्र खाएर संविधान नबनाई संविधानसभाको विघटन गरे अरे भन्ने कुरा गाउँगाउँमा खबर आइसकेको छ । यो खबर पक्का हो भने अब हामी सबै गाउँलेहरू हात हातमा लठ्ठी बोकेर नेताको ढाड सेक्ने शहरतिर आउँछौँ । भन्दे ती नेताहरूलाई ।” बाको जंगी रुप चरम अवस्थामा पुग्यो ।

मेरा बा अलि जंगी स्वभावका छन् । म सानो हँुदा मैले गरेको सानो गल्तीमा पनि मेरा बाले मेरो ढाडमा घँगारुका लठ्ठी बर्साएको मैले अहिले पनि बिर्सेको छैन । मेरा आङ्गमा ती लौरा बर्सेको सम्झँदा अहिले पनि आङ्ग सिरिङ्ग गर्छ । रिसका झोकमा यस्ता जंगी बाले नेताहरू भेट्टाए भने त बोलीले मात्र होइन गोलीले नै नेताका छाती ताक्न बेर छैन । त्यसैले मेरा बाको जंगी प्रहारबाट नेतालाई जोगाउनु म जस्तो जिम्मेवार नागरिकको परम कर्तव्य हो भन्ने ठानेँ र मैले बालाई यसो भनिदिएँ ।

“हेर्नुस् बा, यहाँ शहराँ सबै रामै्र चलेको छ, तपाईँ काठमाडौँ आइरहनै पर्दैन । अहिले हाम्रा जिम्मेवार नेताहरूबाट संविधान निर्माणको काम राम्ररी भैरहेको छ । समयमा संविधान बनेन भनेर तपाईँले चिन्तै गर्नु पर्दैन । एउटै संविधानसभाले बनाएको संविधान उत्कृष्ट संविधान हुँदैन कच्चा संविधान हुन्छ भन्ने चिन्ताले मात्र नेताहरूले नेताहरूले अर्को संविधानसभाको निर्वाचन गराउन लागेका । संविधान जति धेरै वर्ष लगाएर बनायो जति धेरैवटा संविधानसभाले बनायो उति उत्कृष्ट संविधान हुन्छ रे क्या बा । तपाईँ किन चिन्ता गर्नुहुन्छ ?”

“होइन, तिनीहरू त संविधानसभा विघटन गरेर एक आपसमा झगडा पो गर्दै छन् भन्छन् त, तैँले मलाई कतै ढाँट्न न ढाँटिनस् ? बा ममाथि पूरक प्रश्न गर्न थाले । “त्यसरी संविधानलाई थाति राखेर झगडा गरेको होइन बा, त्यो झगडा त उत्कृष्ट संविधान बनाउनकै लागि हो । विगतमा संविधान बनाउँदा देशमा झगडा भयो भने कसरी मिलाउने भन्ने कुरा संविधानमा नराख्दा विगतमा बनेका संविधान सबै फेल भए, तर अहिलेको संविधान कसै गरी पनि फेल हुन नदिनका लागि संविधानमा दल दल बीचका झगडा मात्र होइन दलभित्रका आन्तरिक झगडा, तिनीहरूको स्वरुप, त्यसबाट देशलाई हुने फाइदाका कुरा पनि राखेर पूर्ण संविधान बनाउन नेताहरू लागि परेका छन् । अहिले नेताहरू कति जिम्मेवार भएका छन् भने द्वन्द्व समाधान कसरी गर्ने भनेर संविधानमा काल्पनिक कुरा राख्नुभन्दा व्यवहारमै द्वन्द्व गर्ने र त्यो व्यवहारिक अनुभवलाई नै ठोस रुपमा संविधानमा राख्नुपर्छ भन्नका लागि मात्र दलहरू बीच यो झगडा भैरहेको छ । झगडा जो छ त्यो सबै संविधानका लागि हो, जनपक्षीय झगडा हो र यी झगडाहरूमा नेताको त्याग नै देखिएको छ बा । पर्टीभित्रका खुट्टा तानातानदेखि लठ्ठी हानाहानसम्म, धम्कीदेखि लोभलालचसम्म, एउटा पार्टी र अर्को पार्टी बीचको अविश्वासदेखि चरित्रहत्यासम्म, संसदको कुर्सी तोडफोडदेखि भाषणको तोडमोडसम्म सबै उत्कृष्ट संविधान लेखनका अभ्यास हुन् बा ।”

सुरुमा रनक्क तातेका मेरा बा यी कुरा सुनेर अलि कुल भैसेका थिए । “हैन ए गाँठे ! तैँले त राम्रो राम्रो कुरा पो गरिस् त, यहाँ रेडियो, टीभि र पत्रपत्रिकामा त ती नेताहरू त संविधान नबनाई झगडा मात्र गरेर बसेका छन् भनेर पो खबर आउँछ त, त्यो के त ?” बाले भने । मैले भनेँ– “त्यो पत्रपत्रिकाले लेखेको र रेडियो टीभिले भनेको कुरा सबै झुटा हो बा । नेताहरू त तलब भत्ता केही पनि नखाने, अहोरात्र जनताको सेवा गरिरहने भन्थे । तर यहाँ लाखौँ लाख जनता जम्मा भएर जनताको लागि आफ्नो ज्यान बाजी राखेर झगडा गर्ने, कुर्सी हानाहान गर्ने, आफ्नो व्यस्तताका बाबबजुद पनि संविधानको लागि तोकिएको भन्दा बढी समय पनि दिन तयार हुने, अझै २÷४ वर्ष संविधनसभाको म्याद थपेर जनताको पक्षमा काम गनुपर्छ भने पनि तयार हुने यस्ता सभासद्हरूले तलबभत्ता नखाइदिने हो भने त हामी पनि केही खाँदैनौँ भोक हड्ताल गर्छाैँँ भनेर जनदबाब दिएकाले मात्र ती सभासद्हरू लौ त्यासो भए जनताका लागि खाइदिन्छौँ न त भन्दै तलबभत्ता लिन बाध्य भएका हुन् । त्यसैले त्यो रेडियो, टीभी र पत्रपत्रिकाले भनेको कुरा नसुन्नुस् बा ! मैले भनेको र नेताले बोलेको मात्र सुन्नुस् ।”

बा भन्नथाले– “ए ! त्यसोे पो हो, कुरा त राम्रो रहेछ गाँठे, मैले कुरा नबुझेर पो नेताहरूप्रति नकारात्मक कुरा गरेको रहेँछु । छोटो समयमा संविधान बनाउँदा कच्ची संविधान बन्छ भने त लामो समय लगाउनै प¥यो नि । त्योसो भए त राम्रो संविधान बनाउनलाई २÷४ वर्षले नपुग्ने रहेछ, एउटा संविधानसभाले पनि नसक्ने रहेछ त्यसैले अब बन्ने संविधानसभा त कम्तिमा २० वर्ष समयावधि भएको पो बनाउनुपर्ने र’छ त ए साइँला । म सबै गाउँलेहरूलाई यो कुरा भन्छु साइँला तँ चिन्ता नगर । संविधान सभा अब ५ वर्षका लागि होयन २० वर्षका लािग बन्नुपर्दछ । म सब गाउँले जम्मा गरेर अब २० वर्षे संविधानसभाको पक्षमा जुलुस निकालिदिन्छु ।” बा निकै उत्साहित हुँदै गए, फोनमा बा गाउँलेका अगाडि ठूला ठूला स्वरमा कराएको आवाज मेरो कानमा गुञ्जिरहेको थियो, म सुनिरहेँ ।

बा भन्दै थिए– “हेर गाउँले हो हामीले नेता चाहिँ छानेकै हौँ, जनताको लागि झगडा गरिदिने, आफ्नो सबै काम बिताएर जनताकै लागि संविधानसभाको सदस्य भएर २० वर्ष भने पनि बस्न तयार भैदिने यस्ता नेता पाउनु हामी जस्ताको अहोभाग्य हो । अबदेखि हामी यी पत्रपत्रिका, टीभि र रेडियोको कुरा नपत्याऊँ, मेरो साइँलाले भनिसक्यो, यिनीहरूले गलत समाचार दिएका रहेछन् । लौ हिँड, हाम्रा नेताको जयजयकार गरौँ, नारा घन्काऊँ, जनताको लागि गरेको पार्टीभित्रको झगडा बढाउनै पर्छ, सभासद्को तलबभत्ता र सुविधा कम्तिमा पनि शत्प्रतिशत बृद्धि गर्नैपर्छ । हाम्रा नेता जिन्दावाद ! हाम्रा सभासद् जिन्दावाद ! जनप्रिय झगडा जिन्दावाद ! अब बन्ने संविधानसभाको म्याद २० वर्ष हुनै पर्छ । हाम्रा नेता जिन्दावाद ! जिन्दाबाद !”

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x