साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मालदार क्रान्ति

मालदार खाना खाएर मालदार शयन कक्षमा गएर पल्टे । सोचे- ‘आहा ! बल्ल जिन्दगी मालदार भयो ।’ मालदार क्रान्ति सार्थक भएकोमा मन्त्री दङ्ग थिए । मन्त्रीजीलाई जिन्दगीको सबैभन्दा मिठो निन्द्रा लाग्यो ।

Nepal Telecom ad

सरकार गठनसँगै मन्त्रालयको भागबण्डाको रस्साकस्सी चल्यो । सबै मन्त्रालयको भागवण्डा सजिलै मिले पनि मालदार मन्त्रालयको भागवण्डा मिलाउन निकै कसरत गर्नुपर्‍यो ।

ऊ पार्टीको नेताले भन्यो- ‘हामी सरकारको प्रमुख हिस्सेदार भएकाले मालदार मन्त्रालय हाम्रो भागमा पर्नुुपर्छ ।’

त्यो पार्टीका नेताले भन्यो- ‘मालदार मन्त्रालय सधैँ तपाईँहरूलाई मात्र कहाँ हुन्छ । यो पटक मालदार मन्त्रालय हामीलाई चाहिन्छ ।’

‘मालदार मन्त्रालय त मालदार हुन बाँकी पार्टीको भागमा पर्नुपर्छ ।’ मालदार हुन बाँकी रहेको पार्टीको नेताले भन्यो- ‘तपाईँहरूले त विगतमा मालदार मन्त्रालय पाएर आफ्नो पार्टीलाई समेत मालदार बनाइसक्नु भयो त । हाम्रो पार्टी चाहिँ सधैँ विना मालदार भएर बस्ने ? हामी पनि त मालदार हुनु पर्यो नि । पार्टी चलाएपछि सधैँ विना माल त बस्न सकिँदैन नि । समानताको सिद्धान्त लागू गर्ने हो भने पनि यो पटक मालदार मन्त्रालय हाम्रो भागमा हुनुपर्छ ।’

मालदार मन्त्रालयमा बल्लबल्ल कुरा मिल्यो । अन्ततः मालदार मन्त्रालय मालविहीन पार्टीका मालविहीन नेताले पाउने भए । फर्किँदा मालदार भएर फर्किने र सकेसम्म छिटो अर्को नेतालाई मालदार हुने मौका दिनुपर्ने सर्तमा मालविहीन उनले मालदार मन्त्रालयको मालदार मन्त्रीको सपथग्रहण गरे । सपथग्रहणसँगै उनी मालदार मन्त्री भए ।

मालदार मन्त्रालयमा मालदार मन्त्रीको प्रतिक्षामा मालदार कर्मचारीहरू मालदार मालासहित मालदार शैलीको स्वागतका लागि लामबद्ध थिए । मालदारी कर्मचारीहरूले मालको मालिक भएर मन्त्रालयमा आएको मालदार मन्त्रीको घाँटीभरि मालदारी माला लगाइदिए र मालदारी कार्यकक्षमा पुर्याएर मालदारी कुर्सीमा विराजमान गराए ।

कुर्सीमा विराजमान मालदार मन्त्रीले वरिपरि नजर लगाए । मालदार कर्मचारीहरू सबै मन्त्रीका वरिपरि धनुष्टङ्कार मुद्रामा थिए ।

मन्त्रीसँगको औपचारिकता निर्वाहपछि कर्मचारीहरू सबै आआफ्नो कार्यकक्षतिर लागे । अनि एक एक गर्दै मालदार कर्मचारी पुनः मन्त्रीको कार्यकक्षमा छिर्न थाले ।

पहिलो छिर्नेले हात जोड्दै भन्यो- ‘म त मन्त्रीज्यूको पार्टीको हुँ । पार्टी अध्यक्षको मलाई आशीर्वाद छ । अब हजुरको पनि आशीर्वाद प्राप्त भए मालदार अड्डा मेरो भागमा पर्ने थियो । जो निगाह ।’

दोस्रोले लुसुक्क आएर भन्यो- ‘मैले रोजेको मालअड्डामा मेरो सरुवा भए कमाएकोमध्ये पचाास प्रतिशत माल मन्त्रीज्यूलाई नै चढाउँछु । आशीर्वाद प्राप्त होस् ।’

तेस्रो आएर खासखुस गर्‍यो- ‘म उधारोमा काम गर्दिन माल अड्डामा हाजिर हुनुअगािड नै म हजुरलाई आवश्यक माल टक्र्याउँछु । माल अड्डामा मेरो सरुवा होस् ।’

चोथोले भन्यो- ‘यो पटक माल अड्डा मेरो भागमा पर्नुपर्छ । मैले मन्त्रीज्यूलाई मात्र होइन, मन्त्राणीज्यूको लागि समेत छुट्टाछुट्टै मालको प्रबन्ध मिलाउने सोच बनाएको छु ।’

कर्मचारीको खासखुस सकिन नपाउँदै व्यापारीहरू पनि मन्त्रीज्यूलाई माला भिराउन मन्त्रीज्यूको कार्यकक्षमा ताँती लागे ।

मन्त्रीज्यूको घाँटीमा भुइँ छुने खादा पहिर्‍याउँदै एउटाले भन्यो- ‘त्यो ठेक्का मैले पाउनुपर्छ । पच्चीस प्रतिशत सोझैँ हजुरको खातामा आउँछ ।’

‘मेरो गाडीको आयात कारोबार छ । गाडीको भन्सारमा छुट होस्, हजुरको छोराको लागि एउटा कार उपहार टक्र्याउँछु ।’ अर्कोले भन्यो

‘मेरो कलेजमा मेडिकल पढ्ने विद्यार्थीको कोटा बढाइयोस् । हजुरको लागि एउटा घरको व्यवस्था गर्छु ।’ तेस्रो प्रस्ताव आयो ।

एकै छिनमा बधाइ दिन मन्त्रीको कार्यकक्षमा पार्टीका नेताहरूको लर्को लाग्यो । उनीहरूका आआफ्ना माग थिए । पहिलोले भन्यो- ‘भ्यू टावरलाई बजेट छुट्ट्याइयोस् । भ्यूटावरलाई बजेट हालिदिए भ्यूटावर वरिपरिका गोठमा पालेका भेडाको घ्यू दुुई तीन टिन जति मन्त्रीजीलाई पठाउँला र आधा बजेट पार्टी कमिटीको खातामा जम्मा गर्ने व्यवस्था पनि मिलाउँला ।’

दोस्रोले भन्यो- ‘गाउँको शहीद स्मृति पार्कमा बजेट हाल्नुपर्‍यो । यसको खासै हिसाब देखाउनु पनि पर्दैन । पार्टीलाई बचाउन पनि त पैसा चाहियो नि ।’

तेस्रोले भन्यो- ‘अध्ययन अनुसन्धान शीर्षकमा बजेट हाल्नुपर्‍यो, त्यसमा खास खर्च हुँदैन । सोझै हामीले चाहे जसरी अन्यत्र खर्च गर्न सकिन्छ ।’

मन्त्रीज्यूको भेटघाट र गफगाफ गर्दा रात छिप्पिसकेको थियो । मालदार मन्त्रालयमा मालदार मन्त्रीसँग मालदार कर्मचारी, मालदार ठेकेदार र मालदार कार्यकर्ताको गफ अझै सकिएको थिएन । ‘टु बि कन्टिन्यू’ भन्दै मन्त्री मालदार आवासगृहतिर लागे । मालदार खाना खाएर मालदार शयन कक्षमा गएर पल्टे । सोचे- ‘आहा ! बल्ल जिन्दगी मालदार भयो ।’ मालदार क्रान्ति सार्थक भएकोमा मन्त्री दङ्ग थिए । मन्त्रीजीलाई जिन्दगीको सबैभन्दा मिठो निन्द्रा लाग्यो ।

०००
मोबाइल : ९८५१०५३१२७

tikaram.pokharel@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x