डा. टीकाराम पोखरेलमालदार क्रान्ति
मालदार खाना खाएर मालदार शयन कक्षमा गएर पल्टे । सोचे- ‘आहा ! बल्ल जिन्दगी मालदार भयो ।’ मालदार क्रान्ति सार्थक भएकोमा मन्त्री दङ्ग थिए । मन्त्रीजीलाई जिन्दगीको सबैभन्दा मिठो निन्द्रा लाग्यो ।

सरकार गठनसँगै मन्त्रालयको भागबण्डाको रस्साकस्सी चल्यो । सबै मन्त्रालयको भागवण्डा सजिलै मिले पनि मालदार मन्त्रालयको भागवण्डा मिलाउन निकै कसरत गर्नुपर्यो ।
ऊ पार्टीको नेताले भन्यो- ‘हामी सरकारको प्रमुख हिस्सेदार भएकाले मालदार मन्त्रालय हाम्रो भागमा पर्नुुपर्छ ।’
त्यो पार्टीका नेताले भन्यो- ‘मालदार मन्त्रालय सधैँ तपाईँहरूलाई मात्र कहाँ हुन्छ । यो पटक मालदार मन्त्रालय हामीलाई चाहिन्छ ।’
‘मालदार मन्त्रालय त मालदार हुन बाँकी पार्टीको भागमा पर्नुपर्छ ।’ मालदार हुन बाँकी रहेको पार्टीको नेताले भन्यो- ‘तपाईँहरूले त विगतमा मालदार मन्त्रालय पाएर आफ्नो पार्टीलाई समेत मालदार बनाइसक्नु भयो त । हाम्रो पार्टी चाहिँ सधैँ विना मालदार भएर बस्ने ? हामी पनि त मालदार हुनु पर्यो नि । पार्टी चलाएपछि सधैँ विना माल त बस्न सकिँदैन नि । समानताको सिद्धान्त लागू गर्ने हो भने पनि यो पटक मालदार मन्त्रालय हाम्रो भागमा हुनुपर्छ ।’
मालदार मन्त्रालयमा बल्लबल्ल कुरा मिल्यो । अन्ततः मालदार मन्त्रालय मालविहीन पार्टीका मालविहीन नेताले पाउने भए । फर्किँदा मालदार भएर फर्किने र सकेसम्म छिटो अर्को नेतालाई मालदार हुने मौका दिनुपर्ने सर्तमा मालविहीन उनले मालदार मन्त्रालयको मालदार मन्त्रीको सपथग्रहण गरे । सपथग्रहणसँगै उनी मालदार मन्त्री भए ।
मालदार मन्त्रालयमा मालदार मन्त्रीको प्रतिक्षामा मालदार कर्मचारीहरू मालदार मालासहित मालदार शैलीको स्वागतका लागि लामबद्ध थिए । मालदारी कर्मचारीहरूले मालको मालिक भएर मन्त्रालयमा आएको मालदार मन्त्रीको घाँटीभरि मालदारी माला लगाइदिए र मालदारी कार्यकक्षमा पुर्याएर मालदारी कुर्सीमा विराजमान गराए ।
कुर्सीमा विराजमान मालदार मन्त्रीले वरिपरि नजर लगाए । मालदार कर्मचारीहरू सबै मन्त्रीका वरिपरि धनुष्टङ्कार मुद्रामा थिए ।
मन्त्रीसँगको औपचारिकता निर्वाहपछि कर्मचारीहरू सबै आआफ्नो कार्यकक्षतिर लागे । अनि एक एक गर्दै मालदार कर्मचारी पुनः मन्त्रीको कार्यकक्षमा छिर्न थाले ।
पहिलो छिर्नेले हात जोड्दै भन्यो- ‘म त मन्त्रीज्यूको पार्टीको हुँ । पार्टी अध्यक्षको मलाई आशीर्वाद छ । अब हजुरको पनि आशीर्वाद प्राप्त भए मालदार अड्डा मेरो भागमा पर्ने थियो । जो निगाह ।’
दोस्रोले लुसुक्क आएर भन्यो- ‘मैले रोजेको मालअड्डामा मेरो सरुवा भए कमाएकोमध्ये पचाास प्रतिशत माल मन्त्रीज्यूलाई नै चढाउँछु । आशीर्वाद प्राप्त होस् ।’
तेस्रो आएर खासखुस गर्यो- ‘म उधारोमा काम गर्दिन माल अड्डामा हाजिर हुनुअगािड नै म हजुरलाई आवश्यक माल टक्र्याउँछु । माल अड्डामा मेरो सरुवा होस् ।’
चोथोले भन्यो- ‘यो पटक माल अड्डा मेरो भागमा पर्नुपर्छ । मैले मन्त्रीज्यूलाई मात्र होइन, मन्त्राणीज्यूको लागि समेत छुट्टाछुट्टै मालको प्रबन्ध मिलाउने सोच बनाएको छु ।’
कर्मचारीको खासखुस सकिन नपाउँदै व्यापारीहरू पनि मन्त्रीज्यूलाई माला भिराउन मन्त्रीज्यूको कार्यकक्षमा ताँती लागे ।
मन्त्रीज्यूको घाँटीमा भुइँ छुने खादा पहिर्याउँदै एउटाले भन्यो- ‘त्यो ठेक्का मैले पाउनुपर्छ । पच्चीस प्रतिशत सोझैँ हजुरको खातामा आउँछ ।’
‘मेरो गाडीको आयात कारोबार छ । गाडीको भन्सारमा छुट होस्, हजुरको छोराको लागि एउटा कार उपहार टक्र्याउँछु ।’ अर्कोले भन्यो
‘मेरो कलेजमा मेडिकल पढ्ने विद्यार्थीको कोटा बढाइयोस् । हजुरको लागि एउटा घरको व्यवस्था गर्छु ।’ तेस्रो प्रस्ताव आयो ।
एकै छिनमा बधाइ दिन मन्त्रीको कार्यकक्षमा पार्टीका नेताहरूको लर्को लाग्यो । उनीहरूका आआफ्ना माग थिए । पहिलोले भन्यो- ‘भ्यू टावरलाई बजेट छुट्ट्याइयोस् । भ्यूटावरलाई बजेट हालिदिए भ्यूटावर वरिपरिका गोठमा पालेका भेडाको घ्यू दुुई तीन टिन जति मन्त्रीजीलाई पठाउँला र आधा बजेट पार्टी कमिटीको खातामा जम्मा गर्ने व्यवस्था पनि मिलाउँला ।’
दोस्रोले भन्यो- ‘गाउँको शहीद स्मृति पार्कमा बजेट हाल्नुपर्यो । यसको खासै हिसाब देखाउनु पनि पर्दैन । पार्टीलाई बचाउन पनि त पैसा चाहियो नि ।’
तेस्रोले भन्यो- ‘अध्ययन अनुसन्धान शीर्षकमा बजेट हाल्नुपर्यो, त्यसमा खास खर्च हुँदैन । सोझै हामीले चाहे जसरी अन्यत्र खर्च गर्न सकिन्छ ।’
मन्त्रीज्यूको भेटघाट र गफगाफ गर्दा रात छिप्पिसकेको थियो । मालदार मन्त्रालयमा मालदार मन्त्रीसँग मालदार कर्मचारी, मालदार ठेकेदार र मालदार कार्यकर्ताको गफ अझै सकिएको थिएन । ‘टु बि कन्टिन्यू’ भन्दै मन्त्री मालदार आवासगृहतिर लागे । मालदार खाना खाएर मालदार शयन कक्षमा गएर पल्टे । सोचे- ‘आहा ! बल्ल जिन्दगी मालदार भयो ।’ मालदार क्रान्ति सार्थक भएकोमा मन्त्री दङ्ग थिए । मन्त्रीजीलाई जिन्दगीको सबैभन्दा मिठो निन्द्रा लाग्यो ।
०००
मोबाइल : ९८५१०५३१२७
Subscribe
Login
0 Comments
Oldest









































