म मान्छे रहिँन
नैतिकता र इमान्दारिता भएको उसलाई तँ मान्छे नै होस् भनेर किटान गर्न मैले पनि सकिनँ । किन कि मलाई पनि समाजको दृष्टिदोषको रोगले गाँजिसकेको रहेछ ।
“म मान्छे रहिँन यार ।” उसले भन्यो ।
“किन र ?” मैले भनेँ ।
“किनको त कुरै भएन नि । यो समाजले मलाई मान्छे ठानेन । बरु तँ पनि आफूलाई मान्छे हुँ भन्ने भ्रममा नपर ।” उसले मलाई भन्यो ।
“होइन तँ बहुलाउन त बहुलाइनस् ? अचम्म अचम्मको कुरा गर्न थालिछस् त ?” मैले प्रश्न गरेँ ।
“म बहुलाएको होइन यार । म साँचो कुरा भन्दै छु । यो समाजमा मान्छे बन्न सकिनँ र भविष्यमा सक्तिन पनि ।” उसले भन्यो ।
“यो के अचम्मको कुरा हो ? कारण त केही होला नि यस्तो भन्नुको ?” मैले सोधेँ ।
“कारण प्रष्ट छ । ल सुन- यो समाजले भ्रष्टाचार र कालोधन जम्मा गरेर अकुत सम्पत्ति जम्मा गर्नेलाई विद्वान् ठान्छ । यो समाज भित्रभित्र लुट, झुट र फुटको खेती गर्ने अनि बाहिर आदर्शको गफ गर्नेलाई महान मान्छ । यो समाज महिला अधिकारको खोल ओढेर बलात्कार गर्ने, सुशासनको खोल ओढेर भ्रष्टाचार गर्ने, विकासको खोल ओढेर विनास गर्ने, रक्षकको खोल ओढेर भक्षकको काम गर्नेलाई सम्मान गर्छ । म यो सब गर्न सक्तिनँ । त्यसैले यो समाजमा म मान्छे रहिँन अब ।” उसले भन्यो ।
“समाजमा सबै मान्छे त्यस्तै मात्र त छैनन् नि ? के ती चाहिँ मान्छे होइनन् र ?” मैले सोधेँ ।
“ती मान्छे हुन त खोज्छन्, तर मान्छे बन्न तिनीहरू सक्तैनन् । मान्छे बन्ने प्रयासमा म जस्तै असफल हुन्छन् तिनीहरू । भ्रष्ट, लुट, घुस, जालझेल, चोरीचकारी नगर्नेलाई कसले मान्छे गन्ने ? अनि अरुले मान्छे नमानेको मान्छे के मान्छे ?” उसले भन्यो ।
“उसको कुरालाई ध्यानमग्न भएर सोचेँ, यो समाजबाट नैतिकता र इमान्दारिता भन्ने कुरा बसाइँ सरिसकेछ ।” नैतिकता र इमान्दारिता भएको उसलाई तँ मान्छे नै होस् भनेर किटान गर्न मैले पनि सकिनँ । किन कि मलाई पनि समाजको दृष्टिदोषको रोगले गाँजिसकेको रहेछ ।
०००
काठमाडौं