साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो पहिलो कविता

Nepal Telecom ad

मलाई सानैदेखि स्वर मिलाएर कविता पढ्न ज्यादै रहर लाग्दथ्यो । त्यो पनि छन्दयुक्त हुनुपर्दथ्यो, छन्दमुक्त होइन । पढ्दा पढ्दै लेख्ने रहर जाग्यो । शिरको टुप्पामा कवित्वको रातो सिउर देखिए हुन्थ्यो भन्ने रहर लागेर कविकर्म पूरा गर्न लेखेँ एउटा कविता । कविता त लेखेँ तर छन्द न बन्दको । न टुप्पो न फेद, न भाव न भङ्गिमा नै भएको । गेडा नभएको मकैको घोगोजस्तै थियो मेरो कविता । अहिलेको सहरिया भनाउँदो जस्तो, मान्छे हो तर मानवता छैन । भगवान् रामचन्द्रको सन्तान अरे मर्यादा नै छैन भनेजस्तै; विदुर नीति अध्ययन गरेर नैतिकता गुमाएको पण्डितजस्तै भयो मेरो कविता । मेरो कवितामा के छैन, के छैन भन्ने भयो । कता के नपुगेको, कता के बढी भएको, कुपोषणले ग्रस्त नेपालीझैं, उमेर नपुगेका किशोर–किशोरी बाआमाबाट जन्मेको सन्तानझैं, मरन्च्याँसे, खिनाउटे, लुरे, तर भुँडी भने ठूलो भएको भयो मेरो कविता । कवि–घाममा राख्न नसकेर होला, पुड्के, रिकेट्स रोग लागेर खुट्टा बाङ्गा भएको थियो मेरो कविता । विद्वत् भुङ्ग्रोमा सेकाउन नजानेर होला, सिँगान निकाल्ने सिँगाने भयो मेरो कविता ।

साँच्चै, पहिलो श्लोक ल्हास्सातिर फर्केको थियो भने दोस्रो श्लोक श्रीलङ्कातर्फ मोडिएको थियो । एउटा श्लोकले पुँजीवादको पुष्टि गर्दथ्यो भने अर्को श्लोकले साम्यवादको सन्देश दिन्थ्यो । माथि चट्ट मिलेको टी–सर्ट लगाएर तल खाँडीको सुरुवाल लगाएको बुख्याँचा भएको थियो जस्तो लाग्दथ्यो मेरो कविता ।

जनआन्दोलन भाग दुई पछि लेखिएको भएर पनि होला मेरो कविता समसामयिक थियो भन्ने ठानेको थिएँ । एकजना आदरणीय व्यक्तित्वले लेख्दै गर्दा नै हेरेर भनेका थिए, धत् लाटा, यस्तो पनि कविता हुन्छ; च्यातेर फालिदे ! पछि बुझ्दा त उनले आजसम्म कुनै कविता लेखेकै रहेनछन्, बिचरा ! यस्तै भए पनि आफ्नो जेठो छोरो सरह माया गरेर काखी च्यापेर राखेको थिएँ । कसलाई देखाऊँ, कहाँ सुनाऊँ भन्ने लागिरहेको थियो । त्यो कविता बोकेरै काठमाडौँ आएँ । त्यसलाई सुनाउन नपाएर होला अरू लेख्ने जाँगर पनि भएन । एक पटक एउटा प्रतिष्ठित स्थानमा सक्षम समालोचक, निर्विकल्प निर्णायक भएको कवि गोष्ठी तथा प्रतियोगितामा सुनाउने मौका पाएँ । थरथर काम्दै रातो मुख लागाएर सुनाएँ, गधा कराएको स्वरमा । त्यतिखेर निकैले ताली बजाएका थिए । अन्त्यमा निर्णायकको निर्णय सुनाउने पालो आयो । कस्ता–कस्ता कविता पुरस्कृत हुन्छन् होला भन्ने कौतुहलताले म पनि बसेँ । सबैभन्दा पहिले सान्त्वना पुरस्कार पाउनेको नाम भनियो । त्यसपछि तेस्रो, दोस्रो गर्दै पहिलोको पालो आयो । करतल ध्वनिकासाथ पहिलो हुनेको नाम श्रोतालाई अनुमान गरेर भन्न लगाइयो । कसैले कसको नाम भने कसैले कसको । निर्णय सुनाउने व्यक्तिले टाउको हल्लाउँदै होइन भने । अन्त्यमा उनले पहिले कविताको शीर्षक भने । म छक्क परेँ किनभने त्यो त मेरो कविताको शीर्षक थियो । त्यसपछि त मेरै नाम पो भनियो । म त रातो मुख लगाएर हाँसौँ कि के गरौँ भएँ । आफैंले उठेर ताली बजाएँ र पुरस्कार लिन गएँ । पुरस्कार वितरण गर्दै मेरो कविताको टिप्पणी गरियो । मेरो कविता त आधुनिक गद्य कविताको श्रेणीमा त्यस प्रतियोगितामध्येको उत्कृष्ट कविता पो बनेको रहेछ ।

यसो भनेर मैले गद्य कविताको खेदो खनेको भने होइन तर एउटा कुरा के भने त्यस्ता कविताको अर्थ कविले एउटा लगाए पनि श्रोताले बुझ्ने अर्थ अर्कै पनि हुने पो रहेछ भन्ने लागेर अहिले त त्यस्तै कविता पो लेख्न थालेको छु म पनि । यसपालि नभए पनि अर्को साल भने एउटा कविताको पुस्तक नै प्रकाशित गर्ने बिचार रहेको छ । पुस्तकमा सबै कुरा भए पनि मूल्य भने राखिने छैन । मूल्य राखेर किन पो किताबलाई भारी बोकाउनु भन्ने लागेको छ । यस्ता किताब किनेर कसले पो पढ्ला र चाहियो मोल । साथी–भाइ, इष्ट–मित्र, कुल– कुटुम्ब, विद्वान्– विदुषी, समीक्षक– समालोचक, प्रशंसक आदि–इत्यादि सबैलाई वितरण गर्नु नै पर्ने भएपछि किन पो मोल राखेर उनीहरूको मुख रातो पार्ने काम गर्नु ! पुस्तक विमोचनको दिन वितरण भनेर भनियो भने मानिसहरूको भीड नै लाग्दछ तर बिक्रीको कुरा निकाल्नेबित्तिकै सबै आ–आफ्ना झोलीतुम्बा बोकेर पुच्छर टक्टक्याउन थालिहाल्नेछन् बाटो तताउनलाई । विमोचन कार्यक्रमको पूरा अवधिभर बस्ने नै हुँदैनन् । सबैलाई यस्तो दुरावस्थामा पार्ने मेरो विचार छैन त्यसैले पनि म मेरो कविताको पुस्तकमा मूल्यको ‘मु’ पनि उच्चारण हुन दिने छैन । त्यसैले निम्ता पाउनेबित्तिकै मेरो पुस्तकको विमोचन कार्यक्रममा पाल्ने कष्ट गर्नु होला है प्रतिक्षा चाहिँ गर्नु नै पर्ला तर यो पर्खाइ संविधानसभालाई जस्तो लामो अवश्य नै हुने छैन ।
जुरोपानी–४, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
चाहना

चाहना

परशुराम पराजुली
0
Would love your thoughts, please comment.x
()
x