भूकम्पको गीत
धरा कम्पन भाको छ पराकम्पन भन्दछन्
दिनमा दर्जनौ पल्ट मान्छे कम्पन गन्दछन् ।
आयो आयो भनी ह्वारर निस्कन्छन् बाहिरैतिर
रोकियो लौ भनी फेरि फिर्दछन् झोपडीतिर ।
यो भित्र बाहिरै गर्दा गर्दै बित्ने भयो दिन
न ढुक्क बस्न पाइन्छ त्रासमै बित्छ छिन्छिन ।
त्यही चिन्ता त्यही चर्चा सपना विपना त्यही
कस्तो भूकम्प हो यस्तो रैथाने झै भयो यही ।
थोरै थोरै गरी मार्ने काम छोडे हुने थियो
साहसीका कुरा छोडौँ सातो साहसकै लियो ।
एकै पल्ट सयौँ म्याग्नेच्युटको नै गए भयो
सबै ध्वस्त भएकै छ बाँकी के पो यहाँ रह्यो ?
तसर्थ
अब यस्ता कुरा छोडी हामीले बुझ्नु यो पर्यो
बढी भूकम्प भैराख्ने सूचिमा देश यो पर्यो ।
दिनको दर्जनौँ पल्ट जान्छ भूकम्प देश त्यो
कुन हो ? सोध्नु पर्दैन नेपालै हो भने भयो ।
आउला कि भनी सोच्नुभन्दा आउँछ नै भनी
अभ्यस्त नै भए हुन्छ बिस्तारै दैनिकी पनि
भूकम्पकै धुरीमाथि चल्न थाले भयो नि त
नत्र सारा कुरा छोडी यै गीत गाउने कि त ?
चन्द्रनिगाहपुर, रौतहट