विश्व विनोदभूकम्पका केही परिदृष्य (१)
बेथिति थियो, आयो धक्का दियो, टारेर टर्दैन त्यो, न मिति थियो, नआइज भन्यो मारेर मर्दैन त्यो, न रीति थियो, न बिधि थियो भूकम्पको समय, सारेर सर्दैन त्यो । यस्तो बेलामा देवताका राजा इन्द्र पुकारेर बस्नु पनि मुर्खता होला तर भूकम्पमा पनि अचम्मका दृष्य देख्न र लेख्न पाइने हुँदा हाम्रा काईलाउलाई दङदास बनाएको छ मनका पराकम्पनले ।
दृष्य नं. १ (चामल व्यापारी)
भूकम्प पछिका दिन उनको व्यस्तता निकै झाँगिदै थियो । भलै उनको घर पनि भूकम्पले चर्काएको थियो तर आफ्ना घर भुईँमा बिलिन भएका मलिन अनुहार लाएका व्यक्तिको जमातले उनको घरमा भिड लाउँदा उनि भुइँचालो गएकोमा मख्ख थिए । उनी मन मनै भुइँचालोलाई धन्यवाद दिएका थिए भन्न उपयुक्त नै हुन्छ । काईलाउको पनि घर भूकम्पमा भत्किएर त्यही पसलमा उधारोमा चामल किन्न गएका थिए । उनको गोदाममा झण्डै चार सय बोरा चामल बिक्रिका लागि भण्डारण थियो । काईलाउ एक किलो चामल किनेर दिउँसो सरकारी राहत लिन जाने सुरसारमा थिए । त्यही एक किलो चामलको खोले पकाएर परिवारका एक दर्जन सदस्यलाई खुवाईवरी काईलाउ राहत लिनको लागि गाउँको गाविस भवन आडैको चौतारोमा उभिए । जब उनी लाईनमा बसेका थिए, तिनै चामल व्यापारीका परिवारका पुरै पाँच जना सदस्य पनि सरकारी राहत लिनको लागि लाईनमा बसिरहेका थिए ।
दृष्य नं. २ (प्रशासन)
भूकम्पको चौथो पाँचौँ दिन सिडियोले केही दिन्छन् कि भनेर काईलाउ सिडियो कार्यालयमा प्रबिष्ट भए । रातभर चिसो भुइँमा सुतेकाले होला उनलाई पेटमा बेला बेला भूकम्प गएर शौचालय पसि हाल्थे । सिडियो कार्यालयमा एक पटक शौचालयमा शौच गरिरहेको बेला शौचालय बाहिर आएर कसैले एकापसमा कुराकानी गरेको उनले सुने । त्यहाँ कसैले भन्दै थियो– हैन, हामी त उद्घारमा नै व्यस्त भइयो, गाउँबाट सरकार र प्रशासन पुगेन भनेका छन् के गर्ने ? अर्को आवाजमा कोही करायो– बिस्तारै बोल मेरो अफिसमा राजनीतिक दलका मान्छेले सुन्लान् । अँ, अब २÷४ जना पुलिसलाई कापी कलम लिएर गाउँ पठाई देऊ, यसो तथ्याङ्क सङ्कलन गरेझैं गर्छन्, गाउँमा प्रशासनको उपस्थिति जस्तो पनि हुन्छ । जनताको आँखामा छारो हाल्नु बाहेक हामीले गर्न त के नै सकिन्छ र … । केही बेरमा काईलाउ शौचालयबाट बाहिर निस्के । त्यति बेला उनले हेक्का पाए ती बोल्ने पहिलो ब्यक्ति प्रहरी प्रमुख र दोस्रो व्यक्ति जिल्लाका सिडियो रहेछन् ।
दृष्य नं. ३ (पत्रकार)
भूकम्प गएको दोस्रो दिन नै काइलाउलाई समाचार पढ्न निकै रहर थियो । अझ जिल्लाको स्थानिय समाचार भने पछि हुरुक्क हुन्थे उनी । जब उनले एक जना पत्रकारलाई सोधे– बाबु तिमी बारपाक किन नगएको सम्चार लेख्नु पर्दैन ? ती पत्रकारले भने– यहाँ आफू बाँच्नुको अर्थ छुट्टै हुन्छ । ज्यान जोखिममा पारेर कसले समाचार लेख्न जानु, म त गईन, यसो फोन गर्यो अनि समाचार टिपायो भैगो नि । काईलाउलाई यो थाहा थिएन कि उनी कपिपेष्ट वाला पत्रकार हुन् भनेर । कसैले उचालिदिएको भरमा कोठामा बसेर समाचार बनाउने काममा उनी निकै सिपालु थिए । सकारात्मक चिन्तनको खाँचो हुने बेलामा नकारात्मक अपवाह फैलाएर समाजलाई अधोगतिमा लग्ने पत्रकार उनै हुन् भन्ने थाहा पाएको भए काईलाउले उनका गालाका छाला पहिल्यै काढ्ने थिए ।
दृष्य नं. ४ (त्रिपाल काण्ड)
गाउँमा कुनै संस्थाले जस्ता बाँड्ने भएपछि गाउँका वडा नागरिक मन्चका बुज्रुक हौसिए । राजनीतिक दलका आसेपासेको नाम सूचीकृत गराएर पछि स्थानिय चुनाव भयो भने वडा अध्यक्ष भइन्छ भन्ने सोचले उनले अर्को पार्टीका वास्तविक भूकम्प पीडितको नाम नराखी आफ्नै कार्यकर्तालाई भूकम्प पीडित बनाएर नामावली तयार पारे । काईलाउ त स्वतन्त्र व्यक्ति नै हुन् । कुनै पार्टीमा आस्था राख्दैनन् तर जब उनले टिनको माग गरे वडा नागरिक मन्चका अध्यक्षले भने– तिम्रो घर साँच्चै भत्किएको हो र ? काईलाउ रिसाए– तँ मुला प्राविधिक होस् र मेरो घर साधारण क्षति भएको छ भन्ने ? नभत्किएको घर पूर्ण क्षति, आंशिक क्षति भन्ने अनि भत्किनै लागेका ठाडो परेका घर साधारण क्षतिमा राख्ने तिमी कुन विषय पढेर मेरो घरलाई मूल्याङ्कन गर्दैछौ हे गाँठे, तिमीले वडा नागरिक मन्चको अध्यक्ष पो हौ त, इन्जिनियरमा डिग्री गरेका छौ हो ? यति भनिसके पछि वडा नागरिक मन्चका अध्यक्ष कराए–तिमीलाई टिन दियो भने अस्ति राहतमा पाएको त्रिपाल फिर्ता गर्छौ ? काईलाउले भने– टिन पाए त त्रिपाल फिर्ता गरिन्छ नि ।
यति भनिसकेपछि तल्लो गाउँ झरेका काईलाउलाई तल्लो गाउँका सन्तमानले अहिलेसम्म त्रिपाल नपाएको तर कसैले दोहो¥याएर त्रिपाल पाएको गुनासो गरेपछि काईलाउको कन्सिरीका रौं ठाडो बनेर आयो । उनी गाउँले बटुलेर तिनै वडा नागरिक मन्चको अध्यक्षकोमा गएर त्रिपालको बारेमा घर घर गएर छापा मार्नुपर्छ अनि नपाउनेलाई बाँड्नु पर्छ भनेपछि छापा मार्न पनि हुलमै गए । पछि पत्ता लाग्यो उनै वडा नागरिक मन्चको अध्यक्षकोमा संस्थाको छाप हानेको ११ वटा त्रिपाल लुकाएर राखिएको रहेछ भने उनका कार्यकर्ताको घरमा पनि कम्तिमा २ वटा देखि ५÷७ वटा त्रिपाल सम्म भेटियो । काईलाउले सोचे– यस्तालाई के अभियोग लगाएर थुन्ने ? कुनै कानुन त्यस्तो छ र ? जदौ
बेसीशहर नगरपालिका ७, लमजुङ
Subscribe
Login
0 Comments
Oldest





































