अशोककुमार शिवासधैंको त्रास, पालमुनिको बास
महाभूकम्पले महाविनास गरेर नपुगेर आज एक महिना दश दिन भैसक्दा समेत हल्लाउन छाड्या छैन । वार्पाक हुँदै कोदारी र रसुवा हुँदै दोलखा पुगेर ताण्डव देखाएको भूकम्पले मानिसलाई डर देखाउन नछाड्नुको रहस्य के हो, ऊ आफै जानोस् । बैसाख १२ गतेबाट घर भत्केर, चर्केर अथवा फेरि ठूलो कम्पन आएर भत्कने डरले होस् मानिसहरू कोही राहतको पाल किनेर त कोही आफ्नो पुरानो जगेडा पाल झिकेर अर्काको खाली जग्गामा वा नजिकैको चौरमा डेराडण्डा जमाएर बसेका छन् । भूकम्प आएदेखी व्यापार विजिनेस चौपट । जुवाडेहरूलाई दिनभरी पालमा बसेर तास खेल्ने मौका जुरेको छ । अझ रमाइलो त राती पो हुन्छ रे त पालमा । अनेक थरीका मानिसहरू एकै पालमुनि टाउको जोडेर सुत्छन् । चिनजान चाहिएन तुरुन्त परिचय ग¥यो छि¥यो पालमुनि । बडो रमाइलो भाछ तिनलाई ।
बाहिरका मानिसहरू अधिकांश भूकम्प आएको भोलिपल्टबाट आफ्नो पहाड घरतिर लागे भने तराईबासी पनि काठमाडौंमा बितण्डा हुने डरले घरतिर टाप कसे । सरकारमा बसेकाहरूलाई तँछाड मछाड गर्दै कसले कति राहत सामानको व्यापार गर्ने भन्ने होडमा लाग्दै फुर्सद छैन । कोही हुलासको कर्कटपाता त कोही हुलासको चक्की आँटा, कोही पाल त कोही चामल व्यापार गर्दै फुर्सद पाएका हैनन् । जनता सरकारले राहत लिएर आउला भनेर पर्खेर बस्ने, दुष्ट्याई बानी परेका व्यापारी मनस्थितिकाहरू सामानको मुल्य बढाउदै जनतालाई डस्ने । यता भाडामा बस्नेहरू साहुको घर केही नभए पनि खै के पाउने आसले हो कुन्नि कोठामा नबसेर पालमा बस्याछन् जाँडरक्सी सेवन गरेर टोलबस्तीमा मनपरी बोल्दै हिँड्याछन् । कसैलाई केही चासो छैन न त सुरक्षा सम्बन्धी कुनै सम्बेदनशीलता छ न त सामाजिक उत्तरदायित्व बोध । फोहरमैलाले वातावरण दुसित पार्न थालिसक्यो । विपदमाथि आपद आउला भन्ने त्रासले सताउन थाल्या छ । महामारी फैलियो भने अर्को समस्या सुरु हुन्छ । बालबालिकाको स्वास्थ्यको चिन्ताले सताउन थाल्या छ ।
नुवाकोटतिर केरा पनि बोल्यो रे अनि जोत्दै गरेको गोरुले पनि हलि तिर फर्केर ‘जोत, कति जोत्छस् जोत, अब फलानो दिनसम्म त हो त्यस पछि त तँ नि मर्छस् म नि मर्छु’ भन्यो रे । यही हल्ला सुनेर मैले वर्षौदेखि पूजाआजा गरेर राखेको गणेश लगायतको मूर्तिहरूलाई तै वोलिहाल्छन् कि गोप्य कुरा केही भए भन्लान् कि भनेर अरु दिन भन्दा अलि बढी नै घण्टी हल्लाए सकिनसकी शंख समेत फुकें र सोधे, प्रभु केरा अनि गोरु सकेत बोलिसके अरे, केही भए बोल्नु प¥यो नि अब, यसो बेलैमा थाहा पाईराख्न पाए साईड लाग्न सजिलो हुन्छ भनेर खुसामत गरेको मरे बोल्या हैन । के पत्याउनु के नपात्याउनु । फेरि बेलायती भूगर्भविद्ले नेपालमा ८ म्याग्नेच्युट भन्दा माथिको भूकम्प आउन सक्ने कुराले आफू चिन्तित भएको भनेछ, तेस्का बाजेको त्रास माथि त्रास । यो सधैंको त्रास, कहिलेसम्म डराएर बस्नुपर्ने हो ? बरु यसै हुने उसै हुने झ्याप्प बत्ति निभाएजस्तो गरी निभाए त सकिजान्थ्यो । आफूले दुःख गरेर आफ्नो सुरक्षाको लागि भनेर बनाएको घरसँग आफै डराउँनु पर्ने । यस्तो चालले कहिलेसम्म कुर्नु पाल ? भएन त बेहाल ? २०७२÷०२÷२२
काठमाडौें
Subscribe
Login
0 Comments
Oldest








































