बुढो माझी र देश
दिल बहादुर माझी
नारायणी वारिपारि दिनहरू खियाउँछ
पानीकै गाउँतिर रमाउँछ
पानीकै गल्लीे–गल्ली डुल्छ ।
बिताउँछ–
रंगहीन, स्वादहीन र आकारहीन
पानी जस्तै जीवन ।
झुपडीको निँदालमा
बुढो रेडियो घ्यारघ्यराई रहन्छ–
अक्कासिएको महँगी
अस्तव्यस्त कुशासन
छरपष्टिएका बेथिती समाचार ।
अर्को कुनामा
दिल बहादुर पेरुङ्गे मनभरि छोपिरहन्छ
जीवनको आकाशमा रहरका चङ्गाहरू उडाउँदै
नारायणी तरेर गएकाहरू, जो–
जप्दै छन् ओँठभरि देश
भर्दै छन् अँगालोभरि देश
रसाउँदै छन् आँखाभरि देश ।
यो देश
चोक चोकमा आक्रोश चिच्याउँछ
सडकहरूमा बन्द(हडताल हिँड्छ
र, बिताउँछ संक्रमणकाल ।
दिल बहादुर माझी
नारायणी किनारमा कोरिरहन्छ क्यानभास
घरकुरुवा वृद्ध आँखाहरू
अधुरो सुहागरात पर्खीरहेका यौवनपूर्ण रातहरू
बाका चुम्बन थाप्न आतुर कलिला गालाहरू ।
यो देश
थुप्रै–थुप्रैसित आफ्नो सिमाना नाघेर जान्छ
थुप्रै–थुप्रैसित आफ्नै आँगनमा अभाव बाँचिरहन्छ
र, एउटा भरिया चिन्ता बोकेर शहर पस्छ ।
दिल बहादुर माझी
नारायाणी किनारमा अनेक तर्कनाको माछीजाल बुन्दै बस्छ–
हूलका हूल अभावग्रस्त जीवनहरू
परदेशमा बग्ने रगतपसिना
विरानो रणमा ‘‘आयो गोर्खाली’’को गीत
रेडलाईट एरियाको अँध्यारो ।
दिल बहादुर माझी
खुम्चिएको निधारको एउटा भूगोल उचाल्दै सुस्ताउँछ थकान ।
सक्ने भए फनक्क फर्काइदिन्थे
बाटोमा छेकबार लाइदिन्थे
पीडाको गहिरो नारायणी तर्दै परदेशिएका छन् जो–
सजाउँदै हृदयको भित्ता भित्तामा देश
उचाल्दै शिरमाथि देश
टाँस्दै मनमस्तिष्कमा देश ।
देश चाहिँ
गहिरो दुखिरहन्छ बुढो माझीको छातिमा जस्तै
असंख्य असंख्य मुटुहरूमा
…छप्ल्याङ …छुप्लुङ
…छप्ल्याङ …छुप्लुङ ।