साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नआएको भुइँचालो

Nepal Telecom ad

कहाँ आयो र भुइँचालो ?
तिमी भन्छौ– आयो, आयो
भुइँचालो आयो !

खाटमा, निद्रामा
बाथरुममा, भान्सामा
अफिसमा, क्यान्टिनमा
तिमी निकै ठूलो भ्रम चिच्याइरहेछौ–
भुइँचालो आयो, भुइँचालो‘ !

ए ! बेवकुफ हल्लाहरू
कहाँ आयो र ! खोइ भुइँचालो ?
उ भत्केको छैन त विभेदको गौरीशङ्कर
ढलेको छैन शोषणको पहाड
अत्याचारको केन्द्र सग्लै छ– बेनाम दरबार
भ्रष्टाचारका कीर्ते धरहराहरू दुरुस्तै छन्
उसरी नै हाँसिरहेकै छ उपल्लो वर्गको सन्झ्याल !

हजारौं करङको राजमार्ग बनाएर
कुदिरहेका सत्ताका कार्गेडहरू रोकिएका छैनन्
नाराको हाइटेन्सन लाइन छोएर असन्तुलित
राजनीतिको निर्मम परेड बन्द भएको छैन
भुइँचालो आएको हुन्थ्यो त–
भत्किनुपर्थ्यो अमानवताका महलहरू
भग्नावशेष हुनुपर्थ्यो मक्किएको व्यवस्था
कतै पुरिनुपर्यो कालो इतिहास
सोत्तर हुनुपर्यो नागरिकका यातना–शिविरहरू !

–किन पहिरो गएन त–
आमाको उजाड दुःखको निधारमा
र किन थुनिएन उनको आँसुको कालीगण्डकी–मुहान ?
किन धरापमा परेन त–
बाबाको छातीमा गाढिएको ऐतिहासिक शूल
र किन रोकिएन त्यो हृदयको विषादको लय ?
किन अवरुद्ध भएन त–
मेरो दुर्भाग्यको अन्तर्राष्ट्रिय विमानस्थल
र किन रद्द भएन सपनाहरूको खाडी–उडान ?
किन पहिचान भएन त–
तेस्रो मुलुक बेचिएकी बैनीको फरिया
र, किन उद्वार भएन
भूगर्भजस्तो उनको पेटमा फसेको राष्ट्रियताको)

कतै चर्किएन त वर्णव्यवस्थाको कारागार
एकै बित्ता घटेन नाकथुम्के डाँडाको उचाइ
एकै मिटर उठेनन् चिम्सा भू–भागहरू
पृथ्वीनारायणको ‘इन्डेक्स औंला’ तीन मिटर दक्षिण पनि सरेन
मच्चिएन दमनकारी राज्यको फुँडो लिङ्गो
पछारिएन नर्कको उपत्यका छिर्ने द्वार
सुदूर जनताका सपनाका फराकिला फाँटहरूमा
खुसीको कम्पन महसुसै भएन
मेटिएनन् असमानताका जीपिएस केन्द्रहरू
तर, तिमी कसरी भन्छौ–
भुइँचालो आएकै हो ?

भुइँचालो आउँथ्यो त–
कुर्सी खरिद–बिक्रीको लाइसेन्स पाएको
त्यो पुरानो सत्ताको पसल धूलोमा मिसिनुपर्थ्यो
धमिराले गुँड बनाउने
त्यो संसद् सचिवालय खण्डहर हुनुपर्थ्यो
राहत बोकेर घन्टाघरको लङ्गडो समय
पर कतै
पूर्व–पश्चिम, उत्तर–दक्षिण पुगिसक्नुपर्थ्यो !
तर, हुनुपर्ने केही भएन
आठ दश हजार गरिब मरे
दुई, चार हजार माटोका मालिक बस्ती शरणार्थी भए
दुई,चार लाख पौरखका घरहरू लडे
निरीहता हार्यो
इमान पछारियो
दुई, चार सय विषादका पराकम्पन
देशको मुटुभरि सलबलाए !

ढल्दै ढलेन त–
अकुत सम्पत्तिका गगनभिल्लाहरू
ठेकेदारका विलास–बङ्गालाहरू
अन्तर्राष्ट्रिय एजेन्टका चेम्बरहरू
पुँजीवादको अजङको होर्डिङबोर्ड उभिएको घर
हल्लिनसम्म हल्लिएन–
गरिबको रगत बिक्री हुने मदिरालय
मानवताको खुलेआम चिरहरण हुने वेश्यालय
निरीहमाथि लादिने संविधानको तासमहल !

अहँ, अझै आइपुगेकै छैन
आउनुपर्ने भुइँचालो त !
ए ! बेवकुफ हल्लाहरू
अब तिमी टड्कारो भ्रम चिच्याउन बन्द गर !

कविता डटकम

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लामबद्ध देश

लामबद्ध देश

राजेन्द्र तारकिणी
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
0
Would love your thoughts, please comment.x
()
x