साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आइतवार

Nepal Telecom ad

आजको दुनियाँमा एक महाद्वीपबाट अर्को महाद्वीपमा पुग्नु कुनै आइतवार छैन, तर सबैको निम्ति वा सधैंको निम्ति यो कुरा सोमबार या शनिबार पनि छैन । पहिलो त सर्वसाधारण जीवनमा यो सम्भावना नै उठ्तैन, नोकरी, व्यापार र समाजसेवाको कुनै क्षेत्रसित सम्बन्धित व्यक्तिको नाताले सम्भावना टुसाइहाले भने पनि अनेकन सङ्कट–समस्याहरूको गजमौरो छिचोल्नु पर्छ । एउटा अखवारसित सम्बन्धित पत्रकारको हैसियतले मेरो पनि युरोप जाने कुरा बेलाबेला नउठेका होइनन् । तर कहिले प्रतिद्वन्द्वीका गगनचुम्बी जुराहरूमा मिचिएर कहिले बाङ्गाटिङ्गाहरूमा किचिएर कुरा पलाउन बेर न वैलाउन बेर रहे । समुद्र तर्ने रहर हनुमानको भन्दा कम थिएन, तर उनले झैं ‘तर्छु क्षार समुद्र आज सहजै’ भन्ने न अर्थको हुति थियो न हैसियतको गुड्डी । त्यसैले अरूको निम्ति जोसुकै होस् आफ्नो निम्ति युरोपको यात्रा एउटा आइतवारै थियो ।
तर इच्छाशक्तिको तीब्रताले भन, या सेवाको कदरले वा दैवसंजोगले नै भनौं यो कुरा आइतवारको आइतवार चाहि रहेन । ०२८ सालको जाडोसगै एक बोट उन्यू टुसायो । कसोकसो मलाई पनि एउटा युरोपीय मुलुकमा गई पत्रकारिताको प्रशिक्षण लिने सौभाग्य जुर्यो । मैले जाने भनिएको मुलुक थियो जर्मन प्रजातान्त्रिक गणतन्त्र ।
“पूर्वी युरोप के युरोप ?– एउटाले भन्यो ।
कम्युनिष्ट–घोषणापत्र पढ्न जान लागिस्– अर्कोले भन्यो ।
अलिअलि कमाइने–जमाइने ठाउँ पो छान्नुपर्छ– अर्कोले भन्यो ।
तर यी टिप्पणीहरूभित्र के कस्ता आग्रह वा पूर्वाग्रह थिए त्यो बुझ्न नसकिने केही थिएन । त्यसैले कुनै पनि कुराले मेरो मन बहकाउन सकेन । बरु द्वितीय महायुद्धका स्मृतिहरूसँगै समाजवादी संसारको चहलपहल हेर्ने उत्सुकता उक्सियो । पढ्ने सिक्ने आकाङ्क्षासँगै बन्ने बुझ्ने कतिपय मूर्त अमूर्त आशाहरू जुरमुराए । समाजवादी देशबारे पढी–सुनी बनेका अन्तर कुन्तरका संस्कारहरू सलबलाए, जिज्ञासाहरू तुलबुलाए ।
म जाने भएँ ।– टिप्पणी पास भयो रे । तर म नजाने भएँ– कसैलाई कसैको आदेश भयो रे ! पिठ्यूँ पछाडिका टीका र टेबुल अगाडिका टिप्पणीहरू कसलाई के थाहा हुन्छन् र ? त्यसैले तयार हुनुको आदेश पाएको धेरैपछि जानुको राहदानी पाएँ । कोर्स जुन दिनदेखि सुरू हुने लेखिएको थियो सो दिन सामेल हुन भ्याउने गरी मैले आफ्नो प्रस्थान मिति बनाएँ– आइतबार । तर आइबार आयो गयो– टिकट आएन । राहदानी खल्तीको खल्ती रह्यो– टिकट आएन ।
पुसको आखिरीतिर पुग्नुपर्ने पुसको अन्त्यै भयो । माघको आइतबार पर्खदै रहें । बरू एउटा राजाको अन्त्य र अर्को राजाको उदय भयो तर मेरो आइतबार आएन । फागुनको पनि दुई आइतबार बितेपछि मैले आश मारें, लाग्यो– मैले एउटा युद्ध हारें । हिटलर हारेको ठाउँ हेर्ने मृगतृष्णामा आºना कामकाज सब अलपत्र पारें । म हुस्सिएँ, भुस्सिएँ, म गिज्याइएँ र खिज्याइएँ पनि ।
यस्तैमा एक दिन कार्यालयको टेबुलमा कलम जोत्दाजोत्दै एक सहकर्मीले समाचार ल्याए– तिम्रो टिकट आयो रे, तुरुन्तै जानुपर्यो रे ! म श्री ५ महेन्द्रको शोकमा खौरेको टाउको सुम्सुम्याउँदै जिल्लिएँ– पुसको आखिरीमा पुग्नुपर्ने भनेको ठाउँमा फागुनको आखिरीमा पुगे पनि हुने यो कस्तो तालिम होला ।
अब कता जुठे कता जुठेको बाबु !– नजाउँ क्या र ?
जाऊँ जाऊँ
अब कहिले हिंड्नुहुन्छ त ?
आइबारतिर जाउँला ।
तर अर्का एकजना उहीँ पुग्ने सज्जन शुक्रवारै हिंड्ने रहेछन् । मैले पनि प्रस्थान मिति वर सारें र आइतवार हिंड्ने होइन पुग्ने तय भयो । अब भने युरोप पुग्न अर्को आइतवार नपर्खिनुपर्ने भयो, आउँदो आइतवारै त्यस लक्ष्यभूमिको पदार्पण हुने भयो ।
तर अर्को एउटा कुराले डोठ्याङ खायो । भीसा चाहिँ दिल्लीमा गई लिनुपर्ने रे ! दिल्लीमा नभ्याए बर्लिन विमान स्थलमै पाउने गरी तयार गरिदिने रे ! कम्युनिष्ट मुलुकमा जाने भीसाचाहिँ भाखामा राखेर ?
म त जान्न भनिदिन्छु– स्वाभिमान कुल्र्यो ।
तर किन नजाने ?– अहं उर्ल्यो ।
भीसा नपाए हवाइजहाजैबाट भए पनि बर्लिनको पर्खाल हेरेर आउँला ! भित्र जान नपाए विमानस्थलमै भए पनि आइन्स्टाइन र गेटेको भूमि टेकेर आउँला ।
विमानस्थलमा थुनिनु पर्यो भने नि ?
त्यो स्थितिको अनुभव कस्तो हुन्छ, एउटा हास्यव्यङ्ग्य लेखुला, के भो ?
तर्क बितर्क खेलाउँदा खेलाउँदै जाने भनेको दिन विहानभरि म हल्लिरहें । तर फेरि समाचार आयो– भीसा लिन आउनु रे ! राहदानीमा भीसाको छाप लाग्दा आफू आइतवार वर्लिन पुगिने ग्यारेन्टी पाएजस्तो लाग्यो । यस्तै दुई महिनासम्मको जाने जाने र आनेकानेले न सुरसार पूर्वकको जाने जोरजाम हुनपायो न रहने काजकाम । हिंड्ने दिन पनि १ बजे उड्ने भनेको ४ बजेसम्म आफू उड्ने विमानैको पत्तो नहुँदा फेरि मेरो आइतबार झण्डै धरमरिएको, तै पाचै बजे भएपनि बाकस बोकेर घर फर्कनु परेन । विमानभित्र पसेर आफ्ना चिचिला केटाकेटीलाई हात हल्लाउँदा जर्मनकै धावामा जान लाग्दै छु कि जस्तो गरी भित्रभित्र कताकता नरमाइलोको एउटा सिर्का पनि आयो । निस्कदै छोप्पिदै गएका मेरो देशका अनगिन्ती हिमशिखरहरू आफ्नो फेर समात्दै पर परसम्म पछि लागे जस्तो लाग्यो । तर पनि बेलुकीपखको सूर्यले आफ्ना अवीर किरणहरूको तुल बिछ्याएर मानूँ मलाई आफैं भएैतिर तानिरहेथ्यो । पर कता तारामय आकाशमुनि बिजुलीमय धरती झैं दिल्ली पर्खिरहेको थियो ।
जतिपल्ट पुगेको भएपनि फेरि पुग्दा नौलै लाग्ने दिल्लीको स्वभाव छ । तर हामीले त्यो नौलोपन केही घण्टा विमानस्थलमै हेरेर चित्त बुझायौं । यो एक रात पनि यहाँ किन अलमलिने ? भारतको ढोकामै गएर उभिए आइतबार चाँडो आइहाल्छ कि ? मैले भोलि बिहानको साइतलाई अहिले भरेकैमा सार्न लगाए“ ।
राति १ बजे शान्ताक्रूजनेरको एउटा होटलमा पुगेर टुसुक्क बस्दा एउटा सुरिलो सन्तोषको सास आयो– अब २४ घण्टा पछि त मेरो आइतबार सुरु भईहाल्छ । तर बीचमा अझै एउटा खालि शनिबार थियो । बेहान पर समुद्रका किनारै किनार, दिनभर यो बजारबाट ऊ बजार गर्दागर्दै राती गेट् वे अफ् इण्डिया हेर्न गएको शनिवारले नभ्याउला नभ्याउला जस्तो गरी हाल्यो । तर आइतबारको टुपी समाउन हामीलाई राति बाह्रै बजे विमानस्थल नपुगी हुन्थेन । गेट् वे अफ् इण्डिया र शान्ताक्रुजको दूरता मनग्गेको थियो । बेलुकाको बम्बईमा सवारी पाउनु चाहिँ असम्भव ! अनि त ? अनुभव अत्यासको मात्रै क्या ! सवारी खोज्न पूरा घण्टा लागे पनि पुग्न त बेलैमा पुगिहालियो नि !
शान्ताक्रूज विमानस्थलको घडीले दुइटा सुई जोल्ट्याएर शनिवार माथि आइतबार खप्टिएको सङ्केत दियो । पु¥याउन आउनेहरूले दुइटै हात जोल्ट्याएर जान आउनेहरूलाई विदाई दिए । हामीले १५/१५ रुपिया बुझाएर भारत छाड्ने पारपत्र लियौं । आइतबारको श्रीगणेश भयो । औपचारिकता सकेर एउटा प्रतीक्षासनमा टुसुक्क बसेका एक जोर मुडुल्टाउके टोपीधारी हामी रामवरण र म त्यतिबेलाको त्यहाँको जमघटमा शायद अलि बेग्लै देखिन्थ्यौं कि ? जस्ता देखियौं– एयरइण्डियाको बोइङ् ७०७ ले विमानस्थलको जमघट सोहोरेर आफूभित्र भित्र्याउँदा हामी पनि भित्रियौं र आइतबारले एक हान्नासाथ हामीलाई बोक्ने बोइङ् भारतको भुइबाट भुरूक्क उडिहाल्यो । यतिन्जेल सँगै बस्दै गफ गर्दै आएका हामी दुईजना झन् लामो यात्रामा एउटा एकातिर अर्को अर्कातिर परेको चाहिँ कत्ति मन परेन । मैले आफूसँगका एक सज्जनसित अनुरोध गरें– तपाईं एक्लै हुनुहुन्छ भने मेरो साथीको र तपाईंको सिट् साटौं कि ? उनले भने– हुन्थ्यो हुन त, तर मलाई झ्यालैसँगको सिट चाहिन्छ, तिम्रो साथीको त्यस्तो रहेन छ । रातको जेट यात्रामा झ्यालको उपयोगिता यिनले के लिन लागेछन्, म उत्सुक थिएँ तर उनी यात्राभर पूरै निदाइरहे घुरिरहे । लामो उडान रातमा हुनु राम्रो त राम्रै हो– निदाइदियो आनन्द ! तर आफू भने उडान होस् कि गुडान होस्, यात्रामा निदाउन नसक्ने वा !
झ्यालतिरका सज्जन मात्र होइन छेउतिरका भद्रजन पनि निदाए । नगिचैका अरवहरू मात्र होइन, पारितिरका युरोपियनहरू पनि निदाए । एउटी विशालाक्षी र अर्की वुर्कुन्ची परिचारिकाको कहिलेकाहीँको फर्याक्फुरुक बाहेक घटना थिएन, जेटको हुइय बाहेक शब्द थिएन । अरेवियन सागरमाथिको निस्पट्ट आकाशमा मानूँ म एक्लै आफ्ना विगत र वर्तमानका तानावाना तुन्दै थिएँ, सम्झना र सम्भावनाका चुच्चा चुचुरा चिन्दै थिएँ । एक्कासी विमान लडारिन थाल्यो । शूलको विरामी झैं उचालिए उचालिए जस्तो, बजारिए बजारिए जस्तो, कोल्टिए कोल्टिए जस्तो र पल्टिए पल्टिए जस्तो कस्तो कस्तो अनुभव भयो, आवाज आयो “कृपया आसन पेटी बाँध्नुहोला !” पूर्ण निस्तब्धतामा एउटा सनसनीको लहर मिलिक्क आयो,– टिक् टिक् टिक् ट्कि पुछारदेखि टाउकोसम्म एउटै अपूर्व बाद्य झङ्कार आयो– खीप तरङ्गको । मान्छेका जीजिविषा र मृत्यु सन्त्रासका सजगताहरू कति तीब्रतम हुन्छन् । तर म जेलाई पनि र जसलाई पनि पूर्ण विश्वास गरिदिने मान्छे । दुर्घटना होला भन्ने अविश्वास वा मरिएला भन्ने सन्त्रासले कत्ति पनि छोएन, बरु कतै बीचमै अडिएर आइतबार बर्लिन नपुगिने भइयो भन्ने मात्रै लाग्यो । विमानको गति मौसमको खराबीले बरालिएको भन्ने सुनेपछि झन् पक्का भयो– कतै बीचमै उत्रनुपर्छ अब ! तर दैवसंजोग, त्यस्तो अवरोध केही परेन !
सवा सात घण्टा जतिमा हामी काहिरा उत्र्यौं । आफ्नो घडीले झण्डै सवा ८ बजाएको थियो तर काहिरामा झिसमिसे नै थियो । बम्बईबाट सुरु गरेको आइवारको आदित्य काहिरामा भरखर भरखर अरुणिमा फ्याक्दै आइपुग्दै पो रहेछ ! त्यहाको घडीमा चार चानचुन त्यस्तै थियो । सबभन्दा लामो उडान सकिएको, अब एक बिसौनीमै वर्लिन पुगिने भएको, मिश्रको त्यो इतिहास प्रसिद्ध राजधानीमा टेकिएको र अझ् आफ्नो प्यारो आइतवार लम्बिएकोमा रामबरणजी र म दुवै मख्ख पर्यौं । काहिरामा हामीसित समय थोरै भए पनि उत्सुकता धेरै थिए– पिरामिड हेर्ने, के हेर्ने, के हेर्ने, कमसेकम शहर हेर्ने । तर भिसा थिएन । त्यसैले विमानस्थलमा अफिस, बजार, रेष्टुरा र त्यस्तै यताउति छरिएको जमघटमा मैले मिश्रलाई खुम्च्याएँ, काहिरालाई चिहाएँ । कसिकसाउ जिउका लविदरे अरवहरूले पिरामिड देखिका गौरव र स्वेजनहरू देखिका गर्व थुप्रै कुरा आफूभित्र अटाएझैं लाग्थ्यो । तर अरवी घोडा जस्तै दगुराएर बोलिने अरवीको आफू ‘अ’ पनि नजान्ने हुनाले गफ गन्थनको बाटै नपाइने ।
संसार नगिचिएको कुरा हाम्रो निम्ति कुनै पनि नयाँ होइन, तर प्रत्यक्ष अनुभव मेरो निम्ति नयैं थियो । हामी बम्बईबाट आएको बोइङ्को यात्रापथ संसारको पूर्वी छेउदेखि पश्चिमी छेउसम्मको थियो भने हुन्छ, किनभने त्यो टोकियोबाट हङ्कङ, बैङ्कक, कलकत्ता हुँदै मानू हामीलाई टिप्न बम्बई आएको थियो र अब हामीलाई काहिरा छाडी उसलाई रोम, जेनेभा, लण्डन हुँदै न्यूर्योर्क पुग्नु थियो । त्यसैले ऊ हामीलाई एकोटा ब्रेकफास्टका टिकट दिएर बिदा गर्दै आफ्नो बाटो लाग्यो, हामी जर्मन प्रजातान्त्रिक गणतन्त्रको विमान इन्टर फ्लूको बाटो हेर्दै रह्यौं ।
फागुन २२ गते अर्थात् मार्चको ५ तारिखको सूर्य काहिराको आकाशमा प्रचण्डतापूर्वक चम्किरहेको थियो । दिन प्रभातबाट मध्यान्हतिर जाँदै थियो, हामी एशियाबाट यूरोपतिर जाँदै थियौं । इन्टरफ्लूको भव्य विमानभित्र पस्ने वित्तिकैदेखि युरोपीय वातावरणको गन्ध आइरहेको थियो, जर्मन प्रजातान्त्रिक गणतन्त्रका कामदारहरूहरूको स्नेहशील सेवा कुशलताको सुगन्ध पाइरहेको थियो ।
आइतवार अन्तको लागि सप्ताहान्त भए पनि हाम्रो निम्ति साता सुरूको दिन हो । अझ भनू भने आफ्नो त जन्म दिन नै आइवार । तर यो सबैको यहाँ कुनै सान्दर्भिक महत्व छैन । आजको साँगुरिएको संसारमा एक महाद्वीपबाट अर्को महाद्वीपमा पुग्न केको आइतबार पर्खनुपर्छ ? भन्दाभन्दै आफूले पर्खनुपरेका कैयौं आइतबारहरूको सन्दर्भमा त्यो आइतबार विशेष बार जस्तो लागेको थियो । आँखामा कताकता पाराबार विहीन मरुभूमि जस्तो र कतै कस्तो कस्तो तुवालो उडिरहे जस्तो देखिइरहेको थियो ।
मनमा उत्सुकताहरूको अजस्र बाढी मडारिइरहेको थियो । हामी पूरै केटाकेटी भएर मनभरीका खुसी सोरी सँगेट्तै थियौं इन्टर फ्लू हामीलाई लिएर सोनाफिल्ड विमानस्थलको चक्कर मार्दै थियो ।
“पाँच घण्टाभन्दा बढीको उडान पनि कति चाँडै सकिएको ?”
“अँ, मलाई पनि त्यस्तै लाग्यो ।”
काठमाडौं, दिल्ली, बम्बई र काहिराका विमानस्थलहरू एकपछि अर्को व्यस्ततर र भीडपूर्ण हुँदैगएको क्रममा शायद हामीले सोचेको थियौं– बर्लिन विमानस्थल अझ कति व्यस्त होला । तर हाम्रो धारणा विलकूलै गलत सावित भयो, विमानस्थल शान्त थियो । हातको घडीमा २ बजे पनि त्यहाँ भरखर १२ बजेको थियो । तर सिरसिर बतास र सिमसिम पानीले जति पर पुग्यो त्यति लम्बिदै भरखर मध्यान्हमा पुगेको आइतबार साँझ साँझको छिन जस्तो प्रतीत हुन्थ्यो । एउटा लाममा बस्दै कस्टमको फाराम भरियो, राहदानी खुत्रुक्क एउटा प्वालमा खसालिदियो, २/३ मिनेटमै कहाँ पुगेर कसरी जाँच्चिएर आयो, बुझिएन । अगाडि सुट्केसहरू फुत्तफुत्त निस्किरहेका थिए । आफ्नो आएपछि टिपिएर खोपियो, काम खतम ! कति छिटो र सजिलोसित विमानस्थलको औपचारिकता सकियो भने हामी बम्बई र काहिरासँग यहाँको तुलना गर्दै दङ्ग पर्यौं ।
तर आइतबारको यो दङ्दासीले आइतबारकै एउटा अप्ठ्यारो पनि ल्यायो । बर्लिनमा त बिदाको दिन ! शायद पुग्ने सन्देशभन्दा आफू नै अघि पुगिएछ क्यार– सम्बन्धित ठाउँको मान्छे विमानस्थलमा कोही पनि आइपुगेको थिएन । उही भिसा लिने लहै–लहैमा लागेर गएको भए ? हामी झस्क्यौं । तर त्यो झस्को भन्दा त्यहाँ जाडाको चस्कोले पिर्यो,– मानौं हाम्रो हिमाल हामीभन्दा अगाडि नै त्यहाँ पुगेर पाँज्जिसकेछ क्या र ? जे होस् आफू जाने ठाउँमा फोनद्वारा सूचित गरेर हामी विमानस्थलको होटलभित्र पस्यौं, बल्ल बल्ल बर्लिनको सुस्केरासाथ आइतबार त्यहींको त्यहीं बित्यो ।
(‘मधुपर्क’ वर्ष ६ अङ्क १०, फागुन २०३०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
आराधना-नैतिकताको

आराधना-नैतिकताको

भैरव अर्याल
0
Would love your thoughts, please comment.x
()
x