साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब त देश विकसित हुने भयो, भयो, फट् ! फट् !! फट् !!!

Nepal Telecom ad

हालसालै हाम्रो देश नेपालमा राष्ट्रको मूल कानून संविधान बनाउनाका लागि संविधान सभाको दोस्रो निर्वाचन भयो । संविधान सभाको निर्वाचन दोस्रो वा तेस्रो पनि भएको रेकर्ड विश्वका कमै मुलुकमा पाइन्छ, तर हाम्रो मुलुकमा दोस्रो पटक पनि निर्वाचन भयो । निर्वाचनलगत्तै मैले सम्झिएँ– अब हाम्रो मुलुक अविकसितबाट विकासशील हुँदै विकसिततातर्फ उक्लिने भयो । विकास गर्नाका लागि चुनाव सम्पन्न भयो । तोकिएको २४० क्षेत्रमा भएको चुनावको मतगणना भयो र परिणाम निस्कियो । जित्ने उम्मेदवारले चुनाव निष्पक्ष भयो, धाँधलीरहित भयो भनेर निधारभरि कपाल वरिपरि रातो अबीर दले । घाँटी नै भाँचिने गरेर माला लगाए विजयी सभाको आयोजना गरे र भतेरमा डकारिन्जेल भोज खाए । हरुवा उम्मेदवारले हरुवा कुकुरकै शैलीमा दाँत ङिच्याउँदै चुनावमा विपक्षीले मतदान केन्द्रलाई आफ्नो कब्जामा लियो र निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन गर्यो भन्ने आरोप लगाउँदै चुनावी परिणामलाई नस्वीकार्ने कुरा गर्यो । चुनावको प्रतिक्रियाले मलाई भने घोत्लिन बाध्य बनायो । मैले सबै राजनीतिक दलको घोषणापत्र पढ्नु पर्थ्यो, तर कसैको पनि घोषणापत्र पढिनँ । साह्रै गल्ती गरेझैँ लाग्यो म पछुताउनसम्मन् पछुताएँ । हुन त राजनीतिक दलका घोषणा पत्र पढेकै भए तापनि मैले बुझ्दै बुझ्दैनथे तर एकथरि मतदाताले गरेको चुनावी नाराले भने मलाई निकै प्रभाव पारेछ, भनूँ त्यो नारा थियो: एक भोट गाईलाई अर्को भोट गधालाई ।’ यसै नाराको पूरक भएर अर्को नारा पनि गाउँघरमा, शहर बजारमा घन्किएको थियो :– एक भोट दाइलाई, अर्को भोट गाईलाई ।’
परिणाममा गाईले आश्चर्यान्वित पार्दैनसोचिएको मत ल्यायो । गाई चिह्नले जितेकामा गाईका पूजारी हिन्दूहरू मख्ख परे । राजावादीहरूले पुनः राजसंस्था फर्किन्छ कि भन्ने झीनो आशा पलाएको भाव व्यक्त गरे । यसै गरी अखण्ड नेपाल भन्नेहरूले यसै दलले राष्ट्रलाई छिन्न भिन्न हुने अवस्थाबाट जोगाउँछ कि भन्दै खुसी जनाए ।
अरूहरूले जे जे सुकै कुरा भनेर मनको लड्डु खाए तापनि मैले भने वर्तमान समयको सक्रियताले सिङ्गो राष्ट्रलाई छिन्न भिन्नताबाट रोक्छ कि आमूल परिवर्तन गर्छ कि भन्ने आभास पाएँ, सङकेत पाएँ । यो सङकेत भने निराधार छैन, किनभने यस किसिमका सबै कारक तत्त्वहरू, जसले विकास निर्माणलाई रोकेका थिए ती सबै निमिट्यान्न भएर रोकिने भए । मेरो विचारमा राष्ट्रलाई अघि बढ्न नदिने कारक तत्त्वहरू धेरै नै भए तापनि प्रमुख कारक तत्त्वहरू निम्नलिखित थिए– नेपाली भाषामाथि संस्कृत भाषाको थिचोमिचो, नेपालमा विक्रमीय संवत्को राइँदाइँ, ‘नेपाल सबै जातको फूलबारी हो’ भन्ने भावनात्मक नारा, अनि अखण्ड नेपाललाई छिन्न भिन्न पार्न हुन्न भन्ने इसारा र हिन्दू धर्मका सारा कर्मलाई शुद्ध पार्ने गाईको रक्षा गर्नुपर्छ भन्ने गोरक्षको अवधारणा । अब यिनै काँडाहरूलाई पन्छाउन सिङ्गो राष्ट्र दिलोज्यानले अघि सरेपछि मैले राष्ट्रलाई अघि बढ्न नदिने कारक तत्त्व वा काँडा हुन् भनेर जुन जुन कुरालाई औँल्याएको छु, ती ती बस्तुलाई अलिक विस्तारका साथ स्पष्ट पार्ने अनुमति माग्छु ।
पहिलो काँडो हो– संस्कृत भाषा । यो संस्कृत भाषा मृत भाषा भइसकेको छ, हिजोआज त यसको केवल अस्तु मात्र बाँकी छ । अस्तु भनेको तपाईंलाई थाहा छ त्यो हो आगाले लाश खाक गरिसकेपछि बाँकी रहेको थोरै अवशिष्ट भाग । अझ भनूँ मृत व्यक्तिको खप्परको अगाडिको हाडको टुक्रा जसलाई अन्य पवित्र नदीमा बगाउन भनेर मसानघाटबाट सुरक्षापूर्वक ल्याइन्छ । नेपालको सन्दर्भमा संस्कृत भाषा त्यही लाश हो, जसलाई नयाँ शिक्षा रूपी हतियारले छिया छिया पारेको थियो । त्यसै अतृप्त आत्माले अझै पनि वायु भएर हामीहरूलाई दुःख दिएको छ, छ । त्यस भूतलाई पन्छाउन/ मन्साउन भनेर कक्षा ७।८ सम्मका विद्यार्थीलाई थोरै जिम्मा दिइयो तर ती कक्षामा पढाउने अधिकांश गुरु भने कस्ता परे भने नि संस्कृति र संस्कृत भाषाको बीचको अन्तर नै छुट्याउन नसक्ने जान्दै नजान्नेउनै गुरुहरुले पढाउने र परीक्षार्थीलाईपरीक्षामा भने ९८ प्रतिशतसम्म अङ्क दिने भएपछि संस्कृत भाषालाई जङ्ग नचल्ने कुरा पनि आएन । एक रातको सपनामा यस संस्कृत भाषाले ऐठन गर्दै मलाई भन्यो– ए नेपाली भाषा बोल्ने मनुवा ! लौ त मलाई उत्तर दे– “नेपाल संस्कृत विश्वविद्यालयद्वारा प्रवीणता प्रमाणपत्र स्तरको परीक्षाफल प्रकाशित गरियो अथवा“नेपाल प्रज्ञा प्रतिष्ठान द्वारा प्रकाशित सम्पूर्ण पुस्तकहरु स्तरीय एवम् पठनीय अनुभव हुन्छ” यी अभिव्यक्तिहरु कुन स्तरको नेपाली भाषा हो अनि मैले पनि सपनामा नै भनें– यी वाक्यमा त विभक्ति र क्रियापदमा मात्र नेपाली भाषाको प्रयोग छ, अरू सबै शब्दहरू त संस्कृत भाषाका हुन् । अझ तपाईंको प्रश्नभन्दा पनि अगाडि मैले पनि केहीभनूँ है त– स्तरीय नेपाली भाषा बोल्ने वक्ताहरूले यस्तै भाषा बोल्छन् । उत्कृष्ट पुस्तकका लेखकहरूले पनि यस्तै स्तरको भाषाको प्रयोग गरेका छन् । हिजोआज त संस्कृत भाषाको खिल फाल्न भनेर कामीको आरानमा सियो अर्चाप्न जानेहरूको ठूलो भीड लागेको छ । अब खिल पनि झिकेपछि नेपाली भाषा झर्रो हुने भयो भनेका छन् । कुरो संस्कृत भाषाको मात्र होइन, बरु यसै भाषामा आधारित संस्कृतिको पनि हो । संस्कृत भाषासँगसँगै हिन्दू संस्कृति पनि नासिने भएको छ । संस्कृति मरे पछि जाति पनि मर्ने नै भयो । मलाई यसभन्दा ठूलो खुशीको कुरो के होला र खोइ !”
यसै प्रसङ्गमा अर्को खुशीको कुरो पनि तपाईंलाई सुनाइहालूँ कि ?तपाईंले विद्वान्हरूको गफ सुन्नुभएकै हुनुपर्छ, उहाँहरू भन्नुहुन्छ:– ग्लोबलाइजेशनले गर्दा पृथ्वी एउटै भयो । विज्ञानले भूगोललाई खुम्च्यायो । यत्रो भूगोल खुम्चिएपछि खुम्चिने क्रममा झीना मसिना कुराले पनि खुम्चिनु पर्यो । विलीन हुनु नै पर्यो, हराउनु पर्यो । मानि लिनुहोस्:– एउटा बाटामा क्रमशः कमिलो, मुसो, बिरालो, कुकुर, भैँसी र हात्ती हिँडेछन् । यसरी हिँड्दा कमिलाको पद चिह्नलाईमुसाको पद चिह्नले, मुसाको पदचिह्नलाई, बिरालाका खुट्टाले बिरालाका पाइतालालाई, कुकुरका चरणारविन्दले, कुकुरका पदचिह्नलाई भैँसीका खुरले विलीन बनाइसकेपछि त्यही बाटो हात्ती लम्किँदै आएछ र सबैका पद चिन्हलाई लोप गराइदिएछ र “सर्वपदं हस्तिपदे निमग्नम्” बनाएछ । यही क्रम हाम्रो वर्ष गणना गर्ने संवत्मा पनि परेको छ। संवत् भनेको कुरो तपाईंलाई थाहा छँदै छ– अथवा म तपाईंलाई ताजा रूपमा सम्झाइदिन्छु । संवत् भनेको कुनै विशिष्ट व्यक्ति वा प्रशासनका पालादेखि आरम्भ भएको वर्षको गणना हो । उदाहरणकै रूपमा भन्ने हो भने नेपाल संवत्, शक संवत्, विक्रम संवत्, इसवी संवत्, आदि इत्यादि यस्ता संवत्हरू विश्वमा अनेकौँ छन् ।
यी संवत्हरूलाई हाम्रा विश्व विद्यालयहरुले जुवाको शैली सिकेर भारेभुरे वाद भनेका छन् । कुरो के भने नि अबदेखि विश्व विद्यालयबाट दिइने प्रमाणपत्रहरूमा इसवी सन्मात्र चलाउनु पर्छ । तपाईं सचेत व्यक्तिलाई के थाहा छ भने ‘इसा’ भनेको इसाई वा क्रिश्चियन धर्मका प्रवत्र्तक, इसाई धर्म चलाउने महापुरुष यिसु ख्रिस्ट हुन् । यिनै इसाको मरण कालपछि चलेको संवत् नै इसवी सन् हो । तपाईंलाई के पनि थाहा छ भने विश्वविद्यालय भनेको विश्वका विभिन्न विषयका वा विभिन्न किसिमका शास्त्रहरूको उच्चकोटिको शिक्षा प्रदान गर्ने संस्था हो । यस्तो उच्च संस्थाले नेपाल संवत्, शक संवत्, विक्रम संवत्, जस्ता भारेभुरे संवत्मा खुम्चिएर बस्न हुन्छ त ? अहँ हुँदैन । हाम्रा विश्वविद्यालयहरुका पदाधिकारीहरूमा ढिलै भए पनि सद्बुद्धि आएको छ, उनीहरूलाई धन्यवाद दिनैपर्छ । साना साना संवत्, लेखिएका प्रमाणपत्रहरूविश्व बजारमा विकेनन् भने यी विश्वविद्यालयहरुबाट उत्पादित शिक्षार्थीहरूको ज्ञानराशि माटामा मिल्ने थियो । अब हामीहरूले देवनागरी पद्धतिका शून्यदेखि नौसम्म (०–९) का सङ्ख्यासूचक चिह्नहरूको प्रयोग गरेर आफूलाई सङ्कीर्ण नबनाउने रे । अब रोमन लिपिलाई आत्मसात् गरेर (1-9) लेख्ने रे । हाम्रा पदाधिकारीहरूमा यसरी ज्ञान फुरेको देखेपछि हामीले पनि नाक नफुराउने त ? सम्वत् र अङ्कका यी काँडाहरू हटेपछि यो राष्ट्र अघि नबढ्ने कुरै भएन । अङ्कको साम्राज्यमा हाम्रो राष्ट्र पनि मिल्ने भयो । अङ्कलाई नम्बरले निल्यो, कप्लक्कै खायो ।
यस मुलुकको विकासको अवरोधको अर्को कारण थियो, जातीय सद्भाव । देशका सबै जात साझा हुन् । सबै भाषा, सबै संस्कृति साझा सम्पदा हुन् भन्नु नै गलत कुरो हो । यिनीहरू मुलुकलाई अगाडि बढ्न नदिने तत्त्व हुन् । साझा संस्कृति भनेको बाझाबाझको कारण हो । साझाले व्यक्तित्वको विकास हुन कहिल्यै दिँदैन । साझे बाझे त्यसै भनिएको होइन । तपाईं किसान हुनुहुन्छ भने तपाईंलाई पक्कै के थाहा हुनुपर्छ भने एउटा बारीमा सबै खाले तरकारी लगाउन खोज्दा त्यस बारीबाट उब्जाउ बढी लिन सकिँदैन । कुनै तरकारीलाई बढी पानी चाहिन्छ, कुनै तरकारीका बिरुवालाई चिस्यानमात्र भए पनि पुग्छ । कुनै खेतमा झिनुवा बढी हुन्छ भने कुनै खेतमा सामान्य धानकै फसल बढी देखिन्छ । भाषा भेष भनेको पनि त्यस्तै हो । त्यसैले हाम्रो भाषा, हाम्रो भेष एउटै हुनुपर्छ भन्ने सोच नै गलत । अब त जति जात उति नै भात हुने माग बढेको छ । हिमाल, पहाड र तराई, कोही छैन पराई त ठीकै हो । हावापानी सुहाउँदो भेषभूषा हुनुपर्छ भन्ने माग पनि ठीकै हो, तर जातअनुसारकै शासन चाहिन्छ भन्ने सोच त बेठीकै हो कि ? जेहोस्, अब त यी सबै कुरामा सहमति भइसकेका छन् । त्यसैले पनि अब राष्ट्रले विकासको गति लिनुको विकल्पनै छैन ।
तपाईंलाई हाल झन्डै झन्डै ८२ प्रतिशतको सङ्ख्यामा रहेका नेपालका हिन्दूहरू अल्प सङ्ख्यकमा पर्न लागिसकेको कुरा थाहा छ कि छैन ? थाहा छैन भने तपाईं पूर्वका काकडभित्ताको मेची भन्सारमा जानुहोस् र हेर्नुहोस् अनि विराटनगर पुगेर रानी भन्सारमा उभिनुहोस्, त्यसपछि दौडिँदै बिरगन्ज नजिकैको रक्सौल भन्सारमा पुगेर गम खानुहोस्, रक्सौलबाट रेल चढेर भैरहवा उत्रिनुहोस् र सुनौली नाकाबाट नेपाल भित्रिएर तात्तातै बाँकेको रूपैडिया भन्सारमा पुगेर दक्षिणतर्फ जान लागेका गाई गोरुहरूको सङ्ख्या गन्नुहोस् र महेन्द्रनगरको भन्सार नाकामा गएर आरामगर्नुहोस् । रातभर त्यहीँ बसेर चिन्तन गर्नुहोस् गम खानुहोस् यी नाकाहरूबाट गाई गोरुहरू, बहर÷कोरलीहरू, बाच्छाबाच्छीहरू शुल्कै नतिरी ट्रकमा चढेर बाहिर जान थालेका देखिन्छन् । कति गइसके, कति जाँदै छन् साँच्चै नै गाईको वर्ग फोगट्यामा पाइने वस्तु भएको छ । सीमा क्षेत्रमा बसेर हेर्दा के देखिन्छ भने सीमा बाहिरबाट नाक छेडिएका राँगा र भैँसीहरू पशुपतिनाथको दर्शन गर्न भनी नेपालतर्फ आउने गरेका छन् भने गाई गोरुहरू भने नेपाल तर्फबाट भारतको विश्वनाथको दर्शन गर्न गइहेका छन्। यी कार्यहरूले दुईदेशका बीचमा राम्रो सद्भाव छ भन्ने देखाउँछन् । हिजोआज सबैवस्तुको मूल्य बढेको छ, तर हिन्दूहरूको पुज्दै आएका गाईका सन्तानहरूको मान भने खस्किँदै आएको छ मान पनि साँच्चि नै खस्किँदो छ । हिन्दू धर्मका विपक्षपातीहरूका लागि यो अवस्था जति खुसी लाग्दो छ, त्यति नै दुःखदायी छ हिन्दूधर्मका पक्षपातीहरुका लागि । अब त गाईको दूध, दही घ्यू गहुँत र गोबर मिलाई पूजादि कार्यका लागि बनाइने पवित्र वस्तु पन्चगव्य बनाउनै नपर्ने भयो । साँच्चै नै हिन्दू धर्मावलम्बीहरु अल्पसङ्ख्यकमा पर्ने नै भए । हिन्दूहरूले पैसा खर्च गरी गरी आफ्ना धर्मावलम्बीहरूको सङ्ख्या बढाउन नै सक्तैनन् । अझ भनूँ चाहँदै चाहँदैनन् । धर्म निरपेक्ष राष्ट्रको फाइदा लिँदै अन्य धर्मावलम्बीहरूले भने रात दुगुना, दिन दश गुनाका दरले आफ्ना धर्मावलम्बीहरूको सङ्ख्या बढाएका बढायै छन् । हिजो आजहिन्दूहरूको पावन ग्रन्थ वेद हराउन हराउन लागेको छ तर बाइबलको नयाँ संस्करण महिनैपिच्छे छापिएका छन् छन् । पुराण पारायण गर्ने पण्डितहरू चामलका बीयाँ जस्तै भएका छन् भने बाइबल बेच्नेहरू बजारभरि फैलिएका छन् छन् । यस मुलुकका विकासको तगारो अथवा बाधक अझ भनूँ काँडो हिन्दू धर्म थियो । अब त्यसको पनि हालत झन् झन् गम्भीर हुँदै नाश हुनथालेको छ । अब तपाईं नै भन्नुहोस् यसरी विकास विरोधी तत्त्वहरु धमाधम नाशिन थालेपछि नेपालले विकासको फड्को नमारी सुख पायो त ? नेपाली भाषाको जग संस्कृत भाषा थियो अब त्यस संस्कृत भाषालाई विस्थापित गरी अङ्ग्रेजी भाषा आयो, विकास विरोधी अर्को तत्तवको खुट्टो भाँचियो । खुसीमाथि खुसी थपियो । सबै कुडा करकट, समाप्तै भइसके, जाती माथि जाती भयो । संस्कृतिको गति पनि संस्कृतकै जस्तो छ। त्यसैले दसैँका स्थानमा क्रिमसम आइपुगेको छ । अझ भनूँ दसैँलाई क्रिसमसले विस्थापित गरेको छ । भारत वर्षीयका लागि वैशाख १ गते नववर्षको सुरुको दिन थियो, अब त्यसको पनि अन्त्य भयो, किनभने जनवरी १ ले, क्रिसमस डेले त्यसलाई पनि विस्थापित गर्यो ।
भावनात्मक रूपमा एक जाति नेपाली थियो । त्यो सङ्कीर्ण सोचको अन्त्य भयो । जाति त जात जातमा विभक्त भएर विकास गर्न अग्रसर भयो । यो पनि न विकासकै लक्षण हो ।एउटा पशु गाईलाई महत्व दिएर उच्च मूल्याङ्कन हुन्थ्यो । अब त गाई र गधामा केही अन्तर भएन । सबै प्राणी बराबरी भए । यो पनि विकासकै लक्षण हो । सबै क्षेत्रमा केन्द्रीकृत व्यवस्था ध्वस्त हुँदै गएको छ । हिमाल, पहाड र तराईमा मुलुक विकेन्द्रित भएपछि विकासको लहर बढ्ने नै भयो । अब तपाईंले निर्धक्क भएर भन्नुहोस् अबहाम्रो मुलुक अविकसित वा विकासशीलमात्र नभएर विकसित मुलुकका हाराहारीमा उक्लिइसक्यो । आफ्ना सारा मौलिक विशेषताहरूलाई तिलाञ्जली दिएर विकसित मुलुकका वैशिष्ट्यलाई आँखा चिम्लिएर आत्मसात्गर्दा पनि, स्वीकार गर्दा पनि आफूहरू विकसित नागरिकमा गनिँदैन भने भुत्रो गर्ने हो त ? संविधान सभाको निर्वाचनले स्पष्ट रेखाचित्र कोरिसक्यो । अब हाम्रो चिन्ताको अन्त्य भयो, भएन त ? मलाई त त्यस्तै लाग्छ कुरो कसो भयो कुन्नि?अब पनि ब्यास बूढाका गीतावाणी–“स्वधर्मे निधनः श्रेयः परधर्मा: भयावहः” जस्ता प्रतिक्रियावादी तत्वका पछाडि हिँड्ने हो र ? होइन नि होइन त ?
पृथ्वीनारायण क्याम्पस, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x