सर्वज्ञ वाग्लेजय नेपालको नाराले
जय नेपालको नाराले पुस्तौँ खाए साराले ।
आमा मेरी हुन् । म नेपाल आमाको सन्तान हुँ । त्यसैले आमाका हरेक सम्पत्तिमा मेरो अधिकार छ । अर्थात आमाको पछ्यौरी, गरगहना, सन्दुक, सन्दुक भित्रको बन्दुक चलाउने अधिकार पनि मलाई नै छ । त्यति मात्रै हो र ? भकारीका धान अधिकारका मान, ढुकुटी, गैरी खेत, काली भैंसी, पेटारे खसी, बाख्रा, कुखुरा, जमिनका टुकुडा, बैंक ब्यालेन्स, पद, पावर, पैसा आदि आदि सबै… सबै … ।
किनभने त्यसरी नै आमाले मेरा बा हजुरबा, मेरा बुढ़ा हजुरबा, लगायतका पुस्तौं पुस्तासम्मलाई दिइन् । हो त्यसैले नेपाल आमा मेरी आमा हुन्, ’जय नेपाल आमा’ ! तिमीलाई धन्यवाद आमा ! तिमीलाई लाख लाख शुभ कामना । त्यसैले म भन्छु नेपाल मेरो हो । म भन्दा पहिला मेरो बाउको थियो चाहे उनले टाउकै नझुकाए पनि । त्यो भन्दा पहिला मेरो हजुरबाउको चाहे उनले आफ्नो टाउको खाली राखेर टोपी धोतीलाई नै दिए पनि ।
त्यसैले म भन्छु मेरी आमाका हरेक सम्पत्तीमा मेरो अधिकार छ चाहे कोही पंजिकाधिकारीनै किन नहुन् अधिकारको अधिकारी त म नै हुँ नि हैन र ? चाहे आमालाई बिपत्ती किन नदिउँ मैले अधिकारले गरेको हो भन्ने बुझ्नु पर्यो ! उनको नाममा यहाँ हरेक शाम दाम र नाम रातमा दुई गुणा दिनमा चौगुणा गर्नेको ताँती छ चाहे खाँट्टी किन नहोस् । चाहे यहाँ भन्सार भन्सारमा हात्ती नै छिराउँदै गर्दा काम कुरा विराउन् नविराउन्, कर शुल्क तिराउन् नतिराउन् । फोनका घन्टीयाँ कानुनका डण्डी भाँच्नै किन नपरोस्, “नेपाल आमाका काखाँ नेपाल आमा कानुनाँ भगवानले जानुन्” बनाउनेहरूको भिडाँ म पनि भागीदार छु । नेपाल आमाका गुण्डागिरी नेपाल भित्रै चलाउन नदिनेहरूको ग्रुपाँ म पनि द्रुत गतिमै छु, को छैन र हैन ? सबैलाई नेपाल आमाले दिँदा मलाई पनि उनले दिनै पर्छ । मलाई मात्रै किन अन्याय ? सबैले नेपाल खाए मैले पनि खान पाउनु पर्यो । सबैले फोडे मैले पनि फोड्न पाउनु पर्यो । सबैले तोडे मुख मोडे मैले मात्रै किन जोड्ने ? नेपाल आमा तिमीले सबैलाई बाँड्दै छौ त मलाई पनि बाँड ।
सबैलाई बराबरी बाँड जहाँ साम्यवाद अटाओस् दिदै छौ भने सबैलाई देऊ त्यहाँ समाजवाद पनि अटाओस्, म जस्ता मुठ्ठीभरलाई दर खुवाऊ त्यहाँ पञ्चायत पनि अटाओस् तर कसैलाई कम र कसैलाई बढी नबाँड तर मलाई कम दियौ भने म क्रान्तिको नाम्माँ भ्रान्ति ल्याइदिन्छु । तिमीले अरुलाई खुवाउने, तिमीबाट छिमेकी मोटाउने म भने हेरी रहने, उसले तिम्रो सारा सम्पत्ती रित्याएको के म हेरिरहुँ ? तिम्रो झोली दिएरै रित्तिन्न भने म मात्रै टुलुटुलु टुल्कने अरुले कुम्ल्याउने ? कोही देश विदेश शक्तिको जगाँ जगमगाउने, तिम्रो मात्रै सन्दुकाँ रगमगाउने । अहँ म कदापि यो हुन दिन्न । म त तिम्रो सन्तान हुँ नि हैन र ? म पनि खोस्छु, म पनि चोर्छु । मैले पनि तिम्रो हातबाट दिन दहाडै डाँका डाल्छु । जताततै हात हाल्छु,लुटछु– ‘लुटको धन फुपुको श्राद्ध ।’
’जसले हान्यो उसले जान्यो ।’ ‘जसले जान्यो उसले माग्यो’, खोस्यो, चोर्यो, लुट्यो, कुम्ल्यायो, सात पुस्तालाई पुग्ने गरी सम्पत्ती जोड्यो । चाहे देशै किन नफोडोस् चाहे भाइ भाइ किन नतोडोस्, आफ्नो पाकेट गरम, गर्न शरम किन हराम नगरोस् गोजी त गरम त गर्यो नि हैन र हजुर ? नेपाल आमाले जे जे दिएकी छन् खुब खाऊ मोज गर मस्ती गर, तिम्रो ललाटाँ पूर्व जन्माँ भावीले लेखेरै ल्याएको होला नि हजुर हैनत ? ‘जय नेपालको नाराले’ म भन्दै थिएँ, एउटाले प्याच्च लाएर भन्यो– “दुख पाए साराले ।” अर्कोले भन्यो– “सुख पाउँछन् साराले”। अनि अर्कोले विबाद गर्यो र भन्यो– “बिदेशिनु पर्यो साराले” त्यहाँ सबै हाँसे हा… हा… हा… हा… ।
अर्को त्यहाँ आयो र आफै भन्यो– “जय नेपालको नाराले खाने भए साराले ।” अर्कोले भन्यो– “हैन हैन लाने भए साराले” अनि फेरि अर्कोले भन्यो– “पुस्तौँ खाए साराले ।” अर्कोंले त बेस्सरी चिच्याएर भनिहाल्यो– “यहाँ देशी विदेशी शक्त्तिको घुसपेठ छ कि छैन ?” सबैले एकै स्वरमा भने छैन । अर्कोले एउटा माइक समातेर भन्यो– “यदि छ भने कसैले नेपाल आमालाई नेपालमै खाने, विदेशमा लानेको भिड बढ्यो तर विदेशीले नै आँखा लगायो भने म उसको आँखा फोडी दिन्छु । हात उठायो भने हात तोडी दिन्छु । लात उचाल्यो भने लात मर्काइ दिन्छु । मुन्टो कर्कायो भने मुन्टो फर्काई दिन्छु । यो त हाम्रो नेपाल हो, यहाँ हामीले नेपाल आमाको ऋण खाएका छौँ, चाहे हामीले हात किन नउठाउँ चाहे लात, चाहे यहाँ कानुनको नाममाँ डण्डा किन नउठाउँ, चाहे विदेशी इसाराँ झण्डा उचाल्दा चाहे देशै अशान्त किन नपारौँ, चाहे देशबन्द गरेर तोडफोड र लुटपाटै किन नगरौँ, यो हाम्रो देश हो । यी त मेरी आमा हुन् । उनलाई दुख दिने हाम्रो अधिकार छ । त्यसैले मलाई नागरिकता दिएकी हुन् बसी बसी खान, लाउन र गाडी चढ्न, त्यति मात्रै हो र गाडीÞयाँ पेट्रोलसम्म हाल्न अनि घर परिवार सवै सवै । दुखै दिनलाई सुख दिएकी होइनन् चाहे अर्कैको नुनको सोझो गरूँ ! म अहिले नेपालभित्रै छु । यहाँ वितण्डा मच्चाउन, विदेशीको बुई चढेको दुईले मात्रै भनेर हुन्छ र ? देशले म जस्ता कस्ता सस्ता हरामलाई गाडी, गाडी गुड्ने पेट्रोल, घरवार, सम्पत्ती बसी बसी खाने र विध्वंश गर्ने अंश दिएकै छन् केरे ! रिस गरेर के गर्छौ बाबै ‘आमा काखाँ बसेर मामा कुरा काट्ने’ ? खासै नेपाल आमाका सन्तान नभए नि झडकेलो कसले भन्ने ? कुपुत्र र कुलङ्घार कसले भन्ने ? त्यसैले म भन्छु आउनुस् हामी शरम र धरम नहुने एकै लाइनाँ बसौं त । ‘छोरा’ बाबाले बोलाउँछन्’ हजुर, बुबा’ भन्न पाएको छैन । छोरा डाँको हालेर रून थाल्छ र रून्चे स्वरमा भन्छ– ‘बुबा देश ह्याइँं छ ?’ ह्याइँं छ बाबु’… ह्वाँ… बाबु छोरा डाँको हालेर रून थाल्छन्…। “अब के गर्ने बुवा… हुम्लाँ जाने ?”
“सबै धर्मात्मा बस्ने मुगु, कालीकोट, मुसीकोट, जाजरकोट र जुम्ला हुम्ला जस्ता विपन्न गाउँ जहाँ छ ऐसेलु, काफल र आँफ्नै बारीको फापर पाउने ठाउँ । हामी पनि त्यहीं जाम…..!”
हाल, अमेरिका
Subscribe
Login
0 Comments
Oldest







































