लक्ष्मण गाम्नागेकाठमाडौँ–झापा खटारे एक्सप्रेस
यसपालि दसैँमा निकै प्रयास गर्दा पनि घर जाने टिकट नपाएकाले धुम्म परेर बसिरहेको थिएँ । एक शुभचिन्तक भाइले शुभ खबर सुनायो, ‘एउटा च्वाँक गाडी रिजर्भ गरेको छु, जाने हो ?’ मैले सोधेँ, ‘परार सालको जस्तै च्वाँक हो ?’ उसले किरिया खाएर यसपालि त्यस्तो हुँदैन भनेपछि म करोडको चिट्ठा परेको सुकुम्वासी जस्तो खुशीले उफ्रिँदै गौशाला पुगेँ । शुभचिन्तकले ३ र ४ नम्बरका च्वाँक सिट राखिदिएको रहेछ, दोब्बर भाडा तिरेर हात पारेँ र घर आएँ । शुभचिन्तकले गाडी आइहाल्छ, तुरुन्तै घर बाहिर सडकमा निस्कनू भनेकाले म पोका पुन्तुरा र पुत्रलाई घिसार्दै बाहिर निस्किएँ । आधा घण्टासम्म पनि गाडी नआएपछि फोन गरेँ । उसले भन्यो, गाडी पेट्रोल पम्पको मुखैमा पुग्न लाग्यो । अब आइहाल्छ ।
अरू आधा घण्टापछि शुभचिन्तकले फोन गरेर गाडी नम्बर टिपायो । गाडी नम्बर आएको आधा घण्टा पछि एउटा त्यति नै नम्बरको मिनी बस घन्द्र्याङ र घुन्द्रुङ गर्दै आइपुग्यो । मैले सम्झेँ यसले लगेर अर्को ठूलो गाडीमा हामीलाई खन्याउने होला । गाडी गुड्यो । म उभिइराखेँ । गाडीको फ्रेन्च कट स्टाफले भन्यो, ‘दाइ, उभिएरै झापा पुग्ने विचार छ कि क्या हो ?’
शुभचिन्तकले सिध्याएछ, गाडी त यही पो रहेछ । मैले देखेँ मेरा च्वाँक सिटमा एउटा च्वाँक काखे बच्चो बोकेर एउटी च्वाँक महिला र एक जना पुरुष गजधम्म बसेका । मैले भनेँ यी त मेरा सिट हुन् । गजधम्मेले भन्यो, मेरा पनि यिनै हुन् । अब सुरु भयो लफडा । मैले तुरुन्तै शुभचिन्तकलाई फोन गरेँ । स्वीच अफ ।
म फ्रेन्चकटतिर खनिएँ । ऊ आफूलाई केही थाहा नभएकाले मिलेर जानुस् भन्दै पन्छियो । मैले गजधम्मेलाई सिट छोड्न भनिरहेँ, ऊ गजधम्म परेर थेच्चिइरह्यो । मेरो छोरो बाबुले पहिलो पटक कसैसँग झगडा गरेको देखेर रुँदै मलाई पछाडितिर तान्न थाल्यो । गजधम्मेकी श्रीमती जुरुक्कै उठिन् र गजधम्मेलाई घँचेट्दै भनिन्, ‘मैले अघि नै अर्काको सिटमा नबसौँ भनेको होइन ? हिँड्नुस् पछाडि ।’
गजधम्मे बल्ल बल्ल उठेर पछाडितिर लाग्यो । मेरो छोराले भन्यो, ‘आन्टी, हजुर त्यहीँ बस्नु, म पछाडि जान्छु ।’ मैले छोरालाई बिस्तारै भनेँ, ‘गजधम्मेकी श्रीमतीसँग म बस्दिनँ, तिमी नै बस ।’ म पछाडि गएर बसेँ । गजधम्मेले पनि हार्यो, मैले पनि हारेँ । च्वाँक खटारो हर्न बाहेक सबैथोक बजाउँदै अघि बढ्यो । बूढीले फोनमा सोधिन्, गाडी कस्तो रहेछ ? मैले मोबाइल ह्यान्स् फ्री गरेर भनिदिएँ, ‘म्युजिकल सुपर डिलक्स खटारे एक्सप्रेस, न्याचुरल एसी ।’ बूढीको दङ्ग परेको स्वर आयो, ‘बूढा तिमी त भाग्यमानी नै हौ, यस्तो अचानक भेट्टाएको गाडी पनि त्यस्तो भिआइपी ?’ गजधम्मे दिल खोलेर हाँस्यो र भन्यो ‘दाजुका व्यङ्ग्यवाणको कुरै नगरौँ । म त दाइका कविताको साह्रै ठूलो फ्यान नि । अलि सजिलोसँग बस्नु न दाजु ।’ मैले मनमनै भनेँ, ‘मरिछस् मोरा !’
गजधम्मेकी श्रीमती बसेको झ्यालको सिसा लक भएन । धेरै प्रयास गर्दा पनि गजधम्मेले सिसा बन्द गर्न नसकेपछि मैले उसलाई जनै चुँडालेर बाँध्न सिकाएँ । बज्जेले जनै पनि लगाएको रहेनछ । बैगुनीलाई गुनले तिरेँ, जनै पनि मैले नै दिएँ । ठाडे फोल्डिङ् सिटमा निदाउनु थिएन, रमाइलो रमाइलोमै रात बित्यो । खाने मुखलाई जुँगाले छेकेन, म जसरी पनि घर पुगेँ ।
नेपाल, कार्तिक १९, २०७२
Subscribe
Login
0 Comments
Oldest






































