साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मार्क्सवादी बुद्धिजीवी

Nepal Telecom ad

उहाँ अर्थात् हेमन्तप्रसाद सुवेदी खरो मार्क्सवादी बुद्धिजीवी । उमेरले बाउन्न वसन्त पार गरिसकेका हेमन्त सर मार्क्सवादी दर्शनका कुशल व्याख्याता पनि हुनुहुन्छ । जिल्लामा पनि उहाँ स्थापित व्यक्तित्व, राजधानीतिरै हराएका वरिष्ठ नेताहरूसम्म उहाँको पहुँच राम्रै छ । आफू सम्बद्ध रहेको राजनीतिक दल सत्तामा पुगेका बेला राजनीतिक नियुक्ति पाएर पटकपटक विशिष्ट पदमा पुगिसक्नुभएको छ उहाँ । केन्द्रीय नेताहरूकै सिको गर्दै राजधानीमा उहाँले पनि सानोसानो महल उभ्याउनुभएको छ ।

अहिलेको लोकतन्त्र र अलि अगाडिको प्रजातन्त्र आउनुभन्दा अघि हेमन्तप्रसाद लामै समय भूमिगत राजनीतिमा सरिक हुनुहुन्थ्यो । भूमिगत काममा सक्रिय रहँदा क. मुक्ति, क. विज्ञान, क. विद्युत आदि नामले परिचित उहाँ एकजना कुशल राजनीतिक प्रशिक्षक । माक्र्सवादी दर्शन, राजनीति र फेर्नुपर्ने हाम्रा सांस्कृतिक आचारविचारबारे उहाँ घण्टौँ प्रवचन दिन सक्नुहुन्छ । धार्मिक मत–मान्यता र रुढिग्रस्त संस्कारका विपक्षमा विज्ञानसम्मत तर्कहरू दिँदै उहाँले दर्जनौँ प्रशिक्षण शिविरमार्फत हजारौँ कार्यकर्ताहरू प्रशिक्षित गरिसक्नुभएको छ । यता आएर त्यस किसिमका प्रशिक्षण शिविरहरू पातलिँदै गएकाले होला सामाजिक रुपान्तरणका लागि हाम्रो सांस्कृतिक चिन्तन फेरिनुपर्ने खरो विचार प्रस्तुत गर्दै हिजोआज उहाँ पत्रपत्रिकामा लेखहरू लेखिरहनुभएको छ ।

एकानब्बे वर्षको वयोवृद्ध वय पूरा गरी हेमन्त सरका पिताजीको भर्खरै देहान्त भयो । केही वर्षअघिदेखि नै पिताजी अलिक अस्वस्थ र अशक्त हुनुहुन्थ्यो । हेमन्त सरले पिताजीलाई काठमाडौँ ल्याएर महँगो नर्सिङहोममा राखी औषधि उपचार पनि गर्नुभएकै हो । तर अन्ततः उहाँ जानुभयो । गाउँमा पिताजी बितेको खबर पाएर हेमन्त सर घर पुग्नुभयो । उहाँ पुगेपछि मात्र शवयात्रा सुरु गरियो । शवयात्रा पूर्णतः परम्परागत हुने नै भयो । परम्पराअनुरुप नै वैदिक विधिअनुसार नजिकैको घाटमा दाहसंस्कार गरी मलामीहरू फर्किए ।

हेमन्त सरद्वारा प्रशिक्षित उहाँको एउटा चेलो रुपेश अहिले गाउँको हर्ताकर्ता र अगुवा भएको छ । हेमन्त सरबाट ग्रहण गरेको दार्शनिक शिक्षालाई व्यवहारमा ओराल्न ऊ निकै मेहनत पनि गरिरहेको छ । आफ्ना आदरणीय गुरुलाई हिजोआज त्यति बाक्लो भेट्न नपाए पनि अखबारमा निस्किएका उहाँका लेखहरू पढेर ऊ आफूलाई अझ परिमार्जित गर्ने बल गरिरहेको थियो । पिताजीको देहान्त भएको खबरपछि हेमन्त सर घरमा आउनुभएको थाहा पाएर रुपेश एकाविहानै त्यतै लाग्यो । उसले सोच्यो– गुरुप्रति समवेदना जाहेर गरिदिउँ र धर्मको आडमा चल्दैआएका ढोँगी संस्कार कसरी बदल्ने होला भन्ने व्यावहारिक विषयमा गुरुसँग छलफल पनि गरूँ ।

रुपेश हेमन्त सरको पुरानो घर पुग्दा ऊ आश्चर्यको भूमरीमा पर्यो । गुरुका पिता बित्नुभएको आज सातौँ दिन रहेछ । गोबरले सिनित्त लिपपोत गरिएको दलानमा बसेर गाउँका ज्ञवाली पण्डित गरुड पुराण वाचन गरिरहेका थिए । सेतो लगौँटी र सेतै छोपो ओढेर हेमन्त सरका चारैजना दाजुभाइ दलानको अर्को कुनामा चोखो राढीमाथि बसी पुराण सुन्नमा ध्यानमग्न थिए । कपालको नकोरेको झाँक्रोसँगै केही महिलाहरू उसै गरी बसिरहेका । सेतो फरिया बेरेकी हेमन्तकी आमा र अरु चाहिँ छोरी बुहारीहरू । पण्डितका अगाडि केही दुना–टपरी, फूल–अक्षता र घिउबाती असरट्ट । काजक्रियाको विधिविधानमा रौँ बराबर कुनै अन्तर परेको देखिन्नथ्यो । हेमन्त सर चाहिँ त्यो हूलमा देखिएका थिएनन् । रुपेशलाई लाग्यो हेमन्त सर फेरिए पनि उहाँले आफ्नो परिवारलाई भने त्यति फेर्न सक्नुभएको रहेनछ । रुपेश एउटा मुढा तानेर गाउँका अन्य पाका पुराना मानिसहरूसँगै सिकुवामा बस्यो ।

केहीबेरपछि नै अर्को एकजना मानिस हातमा पायसका तीनवटा डल्ला हालिएको टपरी हातमा लिएर भित्रको कोराबाट फुत्त बाहिर निस्कियो । खौरिएको कपालमा उस्तै सेतो छोपो, उस्तै सेतो लगौँटी, काँधमा सामान्यभन्दा निकै मोटो जनै, अरु सर्वाङ्ग नाङ्गो । त्यो मान्छे पिण्डको सर्दाम दलानको भित्तातिर जतनसँग राखेर राढीमा अरु क्रियापुत्रीसँगै बस्यो र पुराण सुन्नतिर ध्यान दिन थाल्यो । निकैबेरपछि मात्रै रुपेशले चिन्यो– त्यो मानिस त संस्कार मात्र हैन संसारै फेर्ने माक्र्सवादी दर्शनले आफूजस्ता हजारौँ कार्यकर्तालाई प्रशिक्षण दिने आफ्नै गुरु, कुशल प्रशिक्षक र एक समयका सक्रिय सङ्गठक क. विज्ञान अर्थात् हेमन्त सर नै हुनुहुँदो रहेछ । रुपेश अवाक बनेर एकोहोरो हेमन्त सरलाई टुलुटुलु हेरिरह्यो ।

कलङ्की, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x