मनोज गजुरेलदुखमा नआत्तिनु, सुखमा नमात्तिनु
‘दुखमा नआत्तिनु, सुखमा नमात्तिनु ।’ यो उक्तिसँग हामी धेरै नेपाली जानकार छौं । हामी अधिकांशलाई उक्ति कण्ठ पनि होला तर व्यवहारमा यो उक्ति हामी कति जनाले पालना गरेका छौं, त्योचाहिं मुख्य कुरा हो । गजुरियल विश्लेषण भन्छ, कण्ठस्थ कुरा जीवनमा लागू हुनैपर्छ भन्ने छैन । किनभने कण्ठमा भएको कुरा कण्ठभन्दा भित्र पस्न निकै अप्ठेरो हुन्छ । जबसम्म कुनै कुरा कण्ठबाट मन हुँदै मस्तिष्कसम्म पुग्दैन, तबसम्म त्यसले कुनै सकारात्मक परिणाम ल्याउँदैन ।
त्यसैले हामी दुस्ख पर्नासाथ आत्तिएर सांघाई पुग्छौं, सुख मिल्नासाथ मात्तिएर दिल्लीमै अड्किन्छौं । चिन्ता र्पयो सतीलाई सराप्छौं, चिन्ता घट्यो भगवान्लाई पुकार्छौं । खुसी भए बुरुक्क उफ्रन्छौं, दुस्खी हुँदा खिस्रिक्क पर्छौं । पाए बिन्दास, गुमाए उदास । भेटे दंग, हराए उदांगो, भए वाह, नभए छ्या गर्ने बानीले हामीलाई कहिल्यै आनन्द दिंदैन । त्यसैले दुस्खमा नआत्तिने र सुखमा नमात्तिने गजुरियल तरिका विश्लेषण आजको अंकमा प्रस्तुत गरिन्छ ।
नाकाबन्दीकै कुरा गरौं । जब भारतले नाकाबन्दी गर्यो, तब आत्तिएर चीनतिर ढल्कियौं । चीनले इन्धन दिन्छु भन्यो, मात्तिएर भारतविरोधी भयौं, फेरि चीनले ढिलो गर्यो, आत्तिएर बंगलादेशसँग नजिक हुन खोज्यौं । बंगालादेशले दिन सक्दिनँ भन्यो, मात्तिएर पाकिस्तानको आशा गर्न थाल्यौं । अन्तिममा न चीनले भनेजति सहयोग गर्न सक्यो, न भारतले चाहेजति रोक्न सक्यो । हामी फुटबल बन्यौं । कहिले यो पोस्टमा पुग्यौं, कहिले त्यो पोस्टमा पुग्यौं । हामी पिङको झड्का बन्यौं । कहिले उत्तरतिर मच्चियौं, कहिले दक्षिणतिर मच्चियौं । आशा गरेजस्तो सहयोग कतैबाट नपाएपछि, मच्चियौं मच्चियौं, अन्तमा आफैं थच्चियौं ।
जब मन अस्थिर बन्छ तब तन पनि अस्थिर हुन्छ । जुन देशका जनता आफैंमा थिर छैनन्, त्यो देश पनि स्थिर हुन सक्दैन । यदि हामीले नाकाबन्दीलाई अवसरका रूपमा लिएर आफ्नै खुट्टामा हिँड्न सके, समस्यासँग आफैं भिड्न सके, चीन वा भारतको साटो स्वनिर्भरता रोज्न सके, आन्तरिक द्वन्द्वको समाधान देशभित्रै खोज्न सके, मितव्ययिताको पाठ पढ्न सके, स्वाधीनताको पहाड चढ्न सके, नाकाबन्दीको जवाफ दिन सके, समाधानको जस लिन सके न हामी दुस्खमा आत्तिने थियौं, न त सुखमा मात्तिने थियौं ।
तर दुखमा आत्तिने र सुखमा मात्तिने कुरा हाम्रो स्वभाव नै भैसकेको छ । हिन्दी गीत सुन्न छाडेर चिनियाँ गीत सुन्छु भन्नु, चिनियाँ सामान किन्न छोडेर बंगाली सामान लिन्छु भन्नु, मोदीसँग रिस उठे जिनपिङसँग नाता जोड्नु, जिनपिङसँग रिस उठे ओबामासँग सम्बन्ध बढाउनु, सबैसँग रिस उठे भुस कुट्नुजस्ता कुरा सुखमा मात्तिने र दुखमा आत्तिने स्वभावका लक्षण हुन् भन्ने गजुरियल ठम्याइ छ ।
यो साताकै कुरा गरौं न, दुई दिन अघिसम्म हामी भारतलाई शत्रुराष्ट्र मान्थ्यौं, भारतीयलाई नेपालविरोधी मान्थ्यौं । दुई दिनपछि भारतीय संसद्मा नेपालसम्बन्धी छलफल सुरु भयो । कसैले नेपालमा भाजपा सरकारको हस्तक्षेप बन्द गर भने । कसैले मोदीफाइड दबाब रोक भने । नेपालको पक्षमा भारतीय नेताहरू कुर्लिए । नेपालीको हितमा भारतीय सांसदहरू उर्लिए । नाकाबन्दीबाट आत्तिएका हामी नेपालीहरू फेरि ए, यो त भारतीय होइन, भाजपाई हस्तक्षेप पो रहेछ भनेर मात्तिन थाल्यौं । यो स्वाभाव ठीक होइन भन्ने गजुरियल ठम्याइ छ ।
भारतीय संसदमा भएको हंगामा नेपालीको प्रीतमा कम, भारतीय हितमा ज्यादा हो । नेपालको सार्वभौमिकताको सम्मानमा थोरै, भारतीय सुरक्षा चिन्तामा बढी हो । सबैले आफ्नो देशलाई प्राथमिकतामा राख्ने हो, बाहेक हाम्रा देशका केही नेताहरू । आफ्नो देशको चासो र चिन्ता लिँदा हाम्रो पक्षमा केही बोलिएको हो तर समग्रमा नेपाल र नेपालीप्रति कुनै विदेशीले आफ्नो ज्यान दिनेवाला छैनन् भन्ने गजुरियल ठम्याइ छ ।
साप्ताहिक, मङ्सिर २७, २०७२
Subscribe
Login
0 Comments
Oldest










































