साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा राजदूतहरू के गर्दैछन् होला ?

Nepal Telecom ad

घोषित मधेस आन्दोलनको शान्तिपूर्ण समाधान हुनुपर्छ र हुन्छ पनि, तर अघोषित भारतीय हस्तक्षेपको व्यवधान कहिले अन्त्य हुने हो, त्यो कसैलाई थाहा छैन । हाम्रा छिमेकी दूत दादाले ‘समस्या समाधानका लागि कूटनीतिक पहल भैरहेको’ बताए पनि उहाँकै गतिविधि हेर्दा ‘कूटनीति’ भनेकै के हो, बुझ्न गाह्रो भएको गजुरियल ठम्याइ छ ।
गजुरियल बुझाइअनुसार राजदूतावास तथा कूटनीतिज्ञहरूको काम विदेशमा स्वदेशको प्रवद्र्धन गर्नु, उक्त देशका रहेका आफ्ना नागरिकको सेवामा संलग्न हुनु, आफ्नो सरकारको नीति त्यहाँको सरकारलाई बुझाउनु, व्यापारिक एवं सांस्कृतिक सम्बन्ध स्थापित गर्नु तथा दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन पहल र प्रयत्न गर्नु आदि हुनुपर्ने हो ।

तर दादाहरूको इत्यादि कार्यशैली हेर्दा यस्तो लाग्छ, कूटनीति भनेको विपक्षी नेताले जस्तो सरकारविरुद्ध भाषण गर्नु, विरोधी पार्टीले जस्तो माग तेस्र्याउनु, आफ्ना कुरा लाद्न खोज्नु, दबाब दिनु, फकाउनु, हप्काउनु, जुटाउनु, टुटाउनु, फुटाउनु र आफू मोटाउनु हो ।

साँच्ची विदेशमा रहेका हाम्रा राजदूतहरू, कूटनीतिक नियोगहरू, सांस्कृतिक दूतहरू, महावाणिज्य दूतहरूचाहिं अहिले के गर्दै होलान् ? रे दादाजस्तै आक्रामक रूपमा सक्रिय छन् कि ? जागिर मात्र पचाएर बसिरहेका छन् कि ? मूलुकले भोगिरहेको पीडा कम गर्न खान–सुत्न छाडेर कूटनीतिक पहल पो गरिरहेका छन् कि ? आउनुहोस्, आज यही विषयमा गजुरियल विश्लेषण गरौं ।

भारतीय हस्तक्षेपका विरुद्ध अहिले संसारभरका नेपालीहरू प्रदर्शनमा उत्रिएका छन् । यस्ता प्रदर्शनमा विदेशी समर्थक, भारतीय शुभचिन्तक एवं दक्षिण एसियाली मित्रहरूले समेत ऐक्यबद्धता जनाइरहेका छन् । नेपालीहरू काम त्यागेर, परिवार छाडेर, जागिरको खतरा मोलेर हस्तक्षेपको विरोधमा नारा घन्काइरहेका छन्, तर हाम्रा दूतावासहरूले कस्तो कूटनीतिक काम गरिरहेका होलान् भन्ने जानकारी अहिलेसम्म प्राप्त भएको छैन ।

कूटनीतिज्ञका आफ्नै दायरा हुन्छन् । हुन त हाम्रा छिमेक दूत दायराभन्दा बाहिर आएर सक्रिय छन् रे ! यसको अर्थ, राजदूतहरूले झन्डै बोकेर सडकमा निस्कनुपर्छ भन्ने होइन । न त नारा घन्काउँदै विदेश थर्काउनुपर्छ भन्ने नै हो । उहाँहरूले कूटनीतिज्ञका सीमा, दायित्व र दायराभित्रैबाट पनि काम गरिरहनुभएको छ कि छैन भन्ने आजको रियल प्रश्न हो ।

विदेशमा नेपाली राजदूतहरूले देशको वर्तमान अवस्थामा बारेमा उक्त देशका मिडियालाई कति पटक ब्रिफिङ गरे होलान् ? त्यहाँका अधिकारकर्मीहरू भेटेर के–कस्तो लबिङ गरे होलान् ? राष्ट्रपति, प्रधानमन्त्रीहरूलाई के–के अनुरोध गरे होलान् ? आफ्ना समकक्षी राजदूतहरूसँग कुन–कुन विषयमा छलफल गरे होलान् ? त्यस देशमा रहेका नेपालीहरूसँग कहिले अन्तक्र्रिया गरे होलान् ? गरे भने के के–के प्रगति भयो ? गरेनन् भने देश दुखिरहेको बेला दूतहरूले गर्ने काम त्यही होइन ? यी प्रश्नको रियल जवाफ कसले दिने ?

राज्यले विभिन्न देशका भिन्न–भिन्न सहरमा वाणिज्य दूतहरू तोकेको छ, कुन समकक्षीसँग देशको व्यापार घाटासम्बन्धी कुरा भयो ? विभिन्न नामका कूटनीतिज्ञहरू नियुक्त गरिएका छन् । उनीहरूले कुन–कुन देशका कूटनीतिज्ञलाई हाम्रा वास्तविक समस्या बारेमा कन्भिन्स गर्न सके ? भारतलाई दबाब दिन के–के पहल र प्रयत्न भए ? थुप्रै सहरमा अवैतनिक दूत तोकेको छ । उनहरूले कुन देशको कुन सिनेटरलाई हाम्रो देशको वास्तविताका बुझाए ? कुन–कुन अधिकारकर्मीसँग नेपालीले भोगिरहेको पीडाका सम्बन्धमा सरकारका तर्फबाट कुरा गरे ? यी गजुरियल प्रश्नको रियल जवाफ कसले दिने ?

साप्ताहिक, मङ्सिर २३, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x