दुर्गाप्रसाद ग्वालटारेफुलमन्त्री
इन्जिनमा गडबडी आएको उड्दै गरेको प्लेन जस्तै देशको अर्थतन्त्र सुरुरुरु…ओरालो लाग्दै थियो । प्लेनका प्यासेन्जर आत्तिए जस्तै जनता अत्यास मान्दै थिए । व्हिस्कीमा झ्वाम् भएका अल्लारेहरू गुरुत्वले तान्दै गरेको प्लेनभित्र हाहा र होहो गरेर रल्लिएझैं देश हाँक्नेहरू मस्त रमाइरहेका थिए ।
“चोरै चोरका खन्तीहरू, भुइँचालो गएको यत्रो समय भैसक्दा पनि त्रिपाल र जस्तामुनि कठ्याङ्रिएका जनता चैं मरुन् कि बाँचुन् मतलब छैन, सधैं झगडा गर्दै ठिक्क छ, आफ्नो सुबिधा भने एकमत भएर….!” एकाबिहानै श्रीमती बर्बराएको सुनेर किशोरको निद्रा खुल्यो । पुसको शनिबारे बिहान, अबेरसम्म सुतौंला भन्ने थियो उसलाई ।
“सबेरै सबेरै के भो शिलुमैयाँ, किन जर्जराएकी ?” आँखा मिच्दै सोध्यो किशोरले ।
“यी हेर्नु नि यहीँ !” हेडलाइन देखाउँदै फ्यात्त सिरकमाथि पत्रिका फालिन् शिलुले । “उच्चपदस्थ ब्यक्तिहरूले आजीवन सुबिधा पाउने सम्बन्धी विधेयक संसदबाट सर्वसम्मत स्वीकृत” लेखिएको थियो जसमा त्यस्ता पूर्व पदाधिकारीहरूले आजीवन भत्ता, आवास सुविधा, गाडी र इन्धन सुविधा, सुरक्षा तथा सहयोगी सुविधा र अन्य थुप्रै सुविधाहरू उल्लेख थिए ।
श्रीमानले खबर पढुन्जेल पनि शिलुको रिस मरेको थिएन । थुप्रै गालीहरू गर्न भ्याइन् ।
“साँच्चै नराम्रै भयो त शिलु ?” किशोरले ठट्टाको पारामा सोधे ।
“नराम्रो मात्र हो र, पातकी हुन् तिनीहरू !”
मुसुक्क मुस्कुरायो किशोर र फेरि प्रश्न थप्यो “म कति बर्षको भएँ भन त ?”
“ह्या…तपाईं पनि !” असान्दर्भिक प्रश्न लागेर झर्को मानिन् शिलाले ।
“हेर शिला, म छपन्नको भएँ । दुई बर्षपछि रिटायर हुन्छु । अफिसमा कति बर्षसम्म युनियन चलाएँ तिमीलाई थाहै छ । पार्टीमा मेरो कति बोलवाला छ तिमी बुझ्दछ्यौ । जागिर सकिएपछि त्यत्तिकै बसिंदो हो त ?..हेर, सहायक– राज्य केही खाइँदैन, फुलमन्त्री पक्का हो । के यस्तो बेढङ्गको कुरा गरेकी ? बरू भोज ख्वाउन !“
लोग्नेको कुराले शिला झल्ल्याँस्स भइन्, पत्रिका फेरि तानिन् र पढ्न थालिन् ।
एकछिनपछि छोरीलाई कराईन् “एई नानी, क्यालकुलेटर ले ले !”
२०७२ पुस २
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































