नयाँ कथा
यो पुरानो कथा हो–
युवाहरू गाउँमै थिए । बुढाबुढीहरू पनि गाउँमै थिए । खेतबारीहरू कतै बाँझा थिएनन् । सबैतिर हराभरा थियो । गाउँका विवाहित महिलाहरू पनि हराभरा थिए ।
गाउँमा हरियाली त थियो तर बिस्तारै युवाहरू विदेसिन थाले । हुँदाहुँदा गाउँ त युवाविहीन पो हुन थाल्यो । हराभरा महिलाहरू पनि खेतबारीझैं बाँझै हुन थाले । गाउँमा बुढाबुढी र केटाकेटी मात्र बाँकी रहे । तिनले बाली लगाउन सक्ने कुरो भएन ।
यो नयाँ कथा हो–
गाउँका बुढाबुढीहरू पनि विदेश जान थाले । कोही चार महिना, कोही छ महिना, कोही एक वर्ष विदेश बसेर गाउँ फर्कन थाले । चौतारोमा गफ गर्ने पुरानो चलन हो । उनीहरू चियापसल तथा घरघरमा जम्मा भएर मात्र होइन, चप्पल जत्रा आधुनिक मोबाइल फोनबाट समेत गफ दिन थाले– ‘हाम्रो नेपाल त खत्तमै रहेछ नि ! त्यहाँ त टोपी खस्ने महल, चिल्ला बाटा, समुद्र, जे खाए पनि पाइने ।’
कुनै जमानामा विदेश जान नसकेका युवाहरू गाउँमा बस्न लाज मान्थे । आजभोलि विदेश नगएका बुढाबुढी गाउँमा बस्न लाज मान्न थालेका छन् ।
सेतै फुलेका तल्लाघरे बुढा लट्ठी टेकेर धनबहादुरको घर आए र गर्वका साथ भने— ‘हैन हौ, तँ कति पटक विदेश गइस्, हँ ? तेरा सबै छोराछोरी विदेश छन् ।’
उसलाई खुब लाज लाग्यो । उसले मनमनै भन्यो– ‘विदेश गएर फुर्ति देखाउन आएको बुढो । आफ्ना त छोराछोरी पनि मख्खिचुस परेछन्, यसो बाबुआमालाई बोलाउनु नि !’
तल्लाघरे बुढाले फेरि सोधे— ‘तँ अस्ट्रेलिया गइस् धने ?’
धनबहादुरले जवाफ दियो– ‘भिसा र टिकट त धेरै पटक पठाए । ज्योतिषले जहाज चढे प्रलय हुन्छ भनेर पो मार्यो ।’
काठमाडौं