डा.रवीन्द्र समीरकोरोना खोपविरुद्धको अभियन्ता
खोप केन्द्रमा लाइन तन्किरहेको थियो । अन्तरेले आफैलाई चिमोट्यो । खोपविरुद्धको अभियन्ता सुरुमै खोप लगाएर पाखुरामा कपास च्याप्दै थियो ।

‘कोभिड खोप लगायो भने धरहरा ढल्छ, रानीपोखरी सुक्छ ।’ उसले सामाजिक संजालमा वमन गर्यो ।
‘खोपको कारण लहलह धान फल्ने खेत बाँझो हुन्छ ।’ उसले कुतर्क गर्यो ।
‘खोप लगायो भने रगत चोक्टा चोक्टा हुन्छ ।’ उसले अपवादलाई पहाड बनायो ।
‘यो खोपले रुख ढल्छ, मुढोवत हलचल गर्न सक्दैन ।’ उसले स्नायु प्रणाली बुझेजस्तो गर्यो ।
‘थाहा छ ! कोभिड खोप लगाएका मान्छेलाई क्यान्सर हुन्छ, मृगौला खराब हुन्छ ।’ उसले शान्त तलाउमा भ्रमजाल फ्याँक्यो ।
‘यो खोपमा चिप्स राखेको छ, हाम्रो सबै सूचना यसले लिन्छ ।’ उसले मृत बिचार उधिन्यो ।
‘सुगर, प्रेसर आदि रोग भएका व्यक्तिलाई त भयङ्कर रियाक्सन गर्छ ।’ ऊ निकै जान्ने ठहरियो । उसले शास्त्रको सहारा लियो- आयु, कर्म, धन, बिध्या र मृत्यु यी पाँच कुराहरू मानिसलाई ऊ गर्भमा छँदै विधाताले दिइसकेका हुन्छन् । कसैले पनि यिनलाई आफूखुसी कमाउन वा गुमाउन सक्दैन ।
“उसले ज्यानमारा खोप बहिस्कार गरौ” भन्ने अभियान चलाएको थियो । महामारीको लहर लहरिंदै थियो । रुखबाट चिल्ला फलहरू झर्दै थिए । खोप हालेका फल रुखमै थिए ।
हात धोएर खोपको बिरुद्ध लागेकोले उ ‘अभियन्ता’ बनेको थियो ।
अर्को बिहान खोप केन्द्रमा मान्छेहरु जाँदै थिए ।
कथित अभियन्ताको भ्रमजालको पट्टी बाँधेको अन्तरे खोप केन्द्रमा रमाइलो हेर्न गयो । खोप लगाउनेलाई भन्दा हेर्नेलाई खसखस भनेझैं ऊ बिहानै खोप केन्द्रमा पुगेको थियो । त्यसो त उसलाई रमाइलो हेर्न डोजर, जादु, छिमेकीको झगडा एबम ट्राफिक जाम पर्याप्त थिए ।
खोप केन्द्रमा लाइन तन्किरहेको थियो ।
अन्तरेले आफैलाई चिमोट्यो । खोपविरुद्धको अभियन्ता सुरुमै खोप लगाएर पाखुरामा कपास च्याप्दै थियो ।
०००
‘कोरोनातन्त्र’ (२०७९) बाट
Subscribe
Login
0 Comments
Oldest








































