साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार खित्का

Nepal Telecom ad

मन्त्रीलाई सलाम

कुनै एउटा देशको निम्तो मान्न मन्त्रीजीले आफन्त टोलीलाई पठाउने निर्णय गरेछन् । टोली एयरपोर्ट पुग्यो । मन्त्रीजीले छोरालाई फोन गरेर सोधे, ‘प्लेन उड्ने बेला भो ?’ केहीबेरपछि छोरीलाई पनि फोन गरेर सोधे । मन्त्रीजीले हातमा एउटा विशेष पत्र बोकेका थिए । अरू केहीबेरपछि भान्जालाई सोधे । अहँ, प्लेन उडेको छैन ।

‘ट्याममा नउड्ने यो कस्तो प्लेन, यसरी कसरी देश बन्छ ? जे काम पनि तदारुकतासाथ हुनुपर्छ,’ यसो भन्दै हातको पत्र हेरेर मन्त्रीले खुइय गरे । बल्ल श्रीमतीको फोन आयो । उनले भनिन्, ‘ल, प्लेन उड्यो, रमाउँदै सबै जना गए !’

त्यसपछि मन्त्रीजीले पीएलाई बोलाएर हातको पत्र दिँदै मुसुक्क हाँसेर भने, ‘यो आत्मालोचना पत्र मिडियाहरूलाई पठाउनूस् ।’ आफन्तहरू विदेश गएको र उनीहरूलाई पठाएकामा मन्त्रीजीले आत्मालोचना गरेको पत्र लगभग एकसाथ मिडियामा पुगेछ । यस्तो तदारुकतासाथ काम गर्ने मन्त्रीले मात्र देश बनाउँछन् । यी मन्त्रीलाई सलाम !

हामी कसरी गरिब ?

तथ्यांकले भन्दैमा मानिँदैन, नेपाललाई गरिब भन्न पाइँदैन ! चार–पाँच सय रुपियाँ लिटर पर्ने पेट्रोलको धूवाँ उडाउँदै आठ–दस हजार रुपियाँ पर्ने खाना पकाउने ग्यास सिलिन्डर किन्न जाने नेपाली कसरी गरिब ? विश्वकै महँगो दाममा खानेकुरा किनेर छाक टार्ने नेपाली कसरी गरिब ? अहँ, हामी गरिब होइनौँ । हामी नेपाली असाध्यै स्वाभिमानी छौँ, कसैका अगाडि गरिब देखिन चाहँदैनौँ ।

अरूले हात्ती चढे धूरी चढेर देखाउँछौँ, छिमेकीले दुईतले घर बनाए, तीनतले बनाउँछौँ । ऋण गरेर सुन किन्छौँ, खानलाई नून मात्र होइन, लसुन पनि विदेशबाटै ल्याउँछौँ । दानरअनुदान दिए गुन मान्छौँ, हात थाप्दैमा कसरी गरिब हुन्छौँ ? महिनौँदेखि उद्योग व्यापार बन्द हुँदा पनि बाँचिरहेछौँ, छिमेकीले घाँटी ङ्याँक्दा पनि हाँसिरहेछौँ । खेत बाँझो राखेर चामल आयात गर्छौंै, बारी बाँझो राखेर तरकारी किन्छौँ । गरिब भए यसो गर्न सक्छौँ ? तैपनि, नेपाललाई त्यो राष्ट्रसंघले किन यसरी हेप्छ ? अब हावाबाट समेत बिजुली निकाल्छौँ अनि राष्ट्रसंघले देख्छ । हामी कसरी गरिब भयौँ हँ ?

भूतसँग होसियार

मन्त्री र उपप्रधानमन्त्रीमा के फरक ? त्यत्रो ६ जना उपप्रधानमन्त्री किन बनाएको ? भाषणबाहेक उपप्रधानमन्त्रीको अरू के काम हुन्छ ? यस्ता प्रश्नको जवाफ बल्ल मिल्यो । मन्त्रीले लिने काम मात्र गर्छन्, उपप्रधानमन्त्रीले चाहिँ दिने काम पनि गर्छन् । यही फरक रै’छ मन्त्री र उपप्रधानमन्त्रीमा । प्रस्टसँग बुझौँ– मन्त्रीले लिन्छन् मात्र, उपप्रधानमन्त्रीले दिन्छन् पनि ।

मन्त्रीले अरू के–के लिन्छन् भन्ने हजार शक्ति भएको अख्तियारले समेत बयान गर्न सक्दैन । दुनियाँले देख्ने गरी मन्त्रीले दुई चीज मात्र लिन्छन् अर्थात् ग्रहण गर्छन् । एउटा हो– आसन ग्रहण, अर्काे– मागपत्र ग्रहण । दुई खुट्टा तेर्साएर आसन ग्रहण गर्नु र मुसुक्क हाँसेर दुई हातमा मागपत्र ग्रहण गर्नु नै मन्त्रीकर्म हो । उपप्रधानमन्त्रीले चाहिँ आफैँले मागपत्र दिन्छन् । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले प्रधानमन्त्री केपी ओलीलाई मागपत्र दिए । मन्त्रिपरिषद्कै सदस्यले सरकारलाई मागपत्र दिन मिल्छ ? अबुझहरूले यस्तो प्रश्न उठाए । मन्त्रीले दिन मिल्दैन तर उपप्रधानमन्त्रीले मिल्छ । मन्त्री र उपप्रधानमन्त्रीबीचको यो सूक्ष्म भेद बुझ्नुपर्छ ।

उपप्रधानमन्त्री र सर्वसाधारणको मागपत्रमा के फरक हुन्छ ? मागपत्रलाई के गरिन्छ ? दुनियाँले दिएको मागपत्रलाई जे गरिन्छ, गच्छदारकोलाई पनि त्यही गरिन्छ । दुनियाँको मागपत्र ‘डस्टबिन’ नामको चिहानमा पुरिन्छ, गच्छदारको मागपत्रचाहिँ बेलाबेला ब्यूँतिन्छ । कहिलेकाहीँ ब्यूँतिएको मागपत्रले भूत बनेर पनि लखेट्छ । त्यस्तो भूतले कुर्सीको भविष्यलाई नै धरापमा पनि पार्न सक्छ । त्यसैले कुर्सीधारीहरू भूतसँग होसियार हुनुपर्यो ।

कालोबजार

सिकिस्त बिरामीका एक जना आफन्तले बजारमा औषधि किन्न पाएनछ । फर्किएर डाक्टरकोमा पुग्यो र औषधि नपाएको बतायो । डाक्टरले भन्यो, ‘कालोबजारमा पाइहाल्छ नि !’ गाउँबाट पहिलोपटक काठमाडौँ आएको मान्छे, त्यसैले सोध्यो– ‘डाक्टरसाब, कालोबजार कति टाढा छ ?’ डाक्टरले भन्यो–‘यहाँबाट बाहिर गएपछि जताततै कालोबजार छ ।’

बाहिर आएर उसले सोध्यो, ‘कालोबजार कता छ ?’ जवाफ पायो– ‘बागबजार त्यता छ तर कालोबजार कता छ थाहा भएन ।’ अर्काेले जवाफ दियो, ‘बिजुलीबजार यता हो, कालोबजार खोइ कता कता !’ त्यसपछि उसले सोधेको बटुवा स्याङ्जाली परेछ, उसले भन्यो, ‘पुतलीबजार थाहा छ, यो कालोबजार थाहा छैन ।’ अलि पर पुगेर सोध्दा जवाफ पायो– ‘रामबजार पोखरामा छ, नयाँबजार त्यता छ तर यो काठमाडौँको कालोबजार थाहा भएन ।’

धुइँपाताल खोज्यो तर कालोबजार भेटेन । स्वास्थ्य मन्त्रालयअगाडि पुग्दा पनि भेटेन, सिंहदरबारअगाडि पनि भेटेन । त्यसपछि उसले एउटा औषधि पसलेलाई नै सोध्यो । पसलेले उद्दार गरिदियो, तेब्बर भाउमा औषधि हातमा थमाइदियो । अनि उसले बुझेछ– जसले तिर्छ धेरै दाम, उसको खल्तीले मात्र देख्छ कालोबजार भन्ने ठाम !

तपाईंको खल्तीले चाहिँ कत्तिको कालोबजार देख्दैछ नि ?

नेपाल, पुस १०, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x