लक्ष्मण गाम्नागेसम्माननीय सुविधा
सरकारले पूर्वविशिष्टहरूलाई केही सुविधा दिने प्रस्ताव ल्याएछ । यो प्रस्ताव ल्याउनु अति जरुरी थियो र उपयुक्त समयमा ल्याएको पनि छ । एकातिर भूकम्पपीडितहरूका नाममा देशविदेशबाट सहयोग आएर थुप्रिएको छ, अर्का्तिर हडताल र नाकाबन्दीले विकास निर्माणका काम ठप्प भएर बजेट फ्रिज भइरहेको छ । राज्यको ढुकुटीमा पैसैपैसा छ । त्यो पैसाको केही अंशबाट विशिष्टहरूलाई अंश दिनु एकदमै उपयुक्त छ । विशिष्टहरूलाई सरकारले केही अर्ब बराबरको सम्मान गर्न खोज्दा विरोध गर्नेहरू अशिष्टहरू हुन् । सरकारले केही गरेन भन्नेहरूलाई गतिलो एउटा काम गरेर देखाएको छ सरकारले । सरकारलाई धन्यवाद छ ।
विशिष्टहरूलाई दिने एक वर्षको सुविधाले कुन्नि कति मेगावाटको बिजुली निस्कन्छ भन्ने हावादारी हिसाब पनि गरेछन् कतिपयले । युगौँदेखि हामीलाई अन्धकारमा बस्दा भयो, विशिष्टहरूकै सुविधा काटेर बिजुली निकाल्नुपर्ने कुरा कहाँबाट आयो ? फेरि, विशिष्टहरूलाई लोडसेडिङसँग के मतलब ! बिजुली माग्ने भनेका त सर्वसाधारण जनता हुन् । यी जनता भनाउँदालाई जति दिए पनि कहिल्यै पुग्ने होइन क्यारे !
आज पहिरोले घर पुर्यो भनेर सरकारले २ हजार ५ सय दिन्छ, भोलि बाढी पस्यो भन्दै आउँछन् । भोलि बाढीपीडितलाई पाँच हजारका दरले दियो, पर्सि भुइँचालोले सिध्यायो भन्दै आउँछन् । तिनीहरूलाई १० हजार दियो, निकोपर्सि नाकाबन्दीले चुलो बलेन भन्दै आउँछन् । दाउरा दियो, बन्चरो खोइ भन्छन् । विशिष्टहरूलाई एकपल्ट मनग्गे दिनूस्, पाँच वर्षसम्म बोल्दैनन् । त्यसैले उहाँहरूलाई सुविधा दिन कुनै द्विविधामा पर्नु हुँदैन ।
विशिष्टज्यूहरूलाई तुरुन्ता तुरुन्ती ती सुविधा दिने प्रस्ताव पास गरिहाल्नुपर्ने अर्को पनि कारण छ । राजनीतिले चिथोरेर छियाछिया भएको देश, त्यहीँमाथि भूकम्प र नाकाबन्दीले जर्जर छ । अर्थतन्त्र ओरालो लागेर देश रसातलतिर पुग्ने खतरा छ । साँच्चिकै देश डुबेर टाट नै भइहाल्यो भने सम्माननीयज्यूहरूको भविष्य चौपट हुँदैन ? कुन मुख लिएर आफ्नो पुरानो घरमा फर्किनु ? कुन मुख लिएर आफ्नो निजी गाडीमा चढ्नु ? त्यसैले आफ्ना हातमा डाडुपुन्यू, कसौँडी, थाल, हर्पे, चम्चा सबैथोक भएका बेला झ्याप्पै पारेपछि पारेको पारेकै हुन्छ, लजाउनु हुँदैन सरकार !
विशिष्टज्यूहरूको प्रस्तावित सचिवालय पनि अलि बढाउनुपर्छ । शाखा अधिकृत, नासु, पियन, भान्सेले मात्र पुग्दैन । बुढेसकालतिर लागेका उहाँहरूलाई जीउ मालिस गर्ने, तेल लगाइदिने, नङ काटिदिने, लुगा फेराइदिने, नुहाइदिने, छाता ओडाउने, जुत्ता लगाइदिने, दिसापिसाब लैजाने अनेक कर्मचारी चाहिन्छ । जीवनभरि विशिष्टज्यूहरूको योगदानले मुलुकलाई विकासको यो चरणमा र्पुयाएको छ, उहाँहरूलाई अलिअलि सुविधा दिएजस्तो गरेर अलपत्र पार्न पाइँदैन, सम्पूर्ण सुविधा दिनुपर्छ भन्ने हामी जनताको माग छ । हाम्रो चिन्ता गर्नु पर्दैन सरकार ! हामी जनता भनेका भोक, रोग, वर्षा, हिउँ, बाढी, पहिरो, खडेरी इत्यादि अनेक विपत्तिहरू सहने बानी भएको जात । विशिष्टहरूको तन पो साह्रै कोमल हुन्छ ।
सुविधासम्पन्न सरकारी महलमा बसेका बिचरा उहाँहरूलाई एकैचोटि आफ्नो साँघुरो पुरानो घरमा सर्नुपर्यो भने निस्सासिएर ज्यानै जान के बेर ! त्यसरी कुनै सम्माननीयज्यूको ज्यान गयो भने संसारमा हाम्रो देशको कत्रो बदनामी होला । जनता नाथे त जाडोले कठ्याङ्ग्रिँदैमा मर्दा पनि मर्दैनन्, मरे पनि सरकारको बदनामी हुँदैन । त्यसैले मुलुकको पहिलो प्राथमिकता विशिष्टहरूको सेवा नै हो, यसैमा सरकारको सम्पूर्ण ध्यान जाओस् । आगे सरकारको जो विचार !
नेपाल, पुस ९, २०७२
Subscribe
Login
0 Comments
Oldest






































