साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माकःफुईं

Nepal Telecom ad

“रोइ पिठखुवा, कुनाकुना बेराछोक ? हिनोङ करबासे देरि होइजातोक, जल्दी कोरिस ।” (ए ! पिठखुवा कता कता बराल्लिँदै छस् ? यसै गरि रहिस् भनें ढिलो हुन्छ नि, छिटो गर ।) –कद्दुलाल राजबंशीले हपार्यो पिठ्खुवा ताजपुरीयालाई ।
“थाम रे थाम, मुइ आल्लाइ आस्नु ।”(पर्खी है पर्खी, म अहिल्यै आइ हालें)– पिठखुवा घरभित्रैबाट करायो ।

खटियामा बसेर चुर बेर्दै गरेको मागुर ताजपुरीयाका हात टक्क रोकिए नातिहरूका कुरा सुनेर अनि बुढाले आधा बेरिएको चुरको खिल्लीलाइ चुर राख्ने सानो ढाकीमा राख्तै सोधे– “कहाँ जान लागेको छुवा, यति बिहानै ?”
“गेउरीगनला ।” (गौरीगन्ज)– कद्दुले उत्तर दियो ।
“गेउरीगनला !”– बुढाले केटाकै शब्द दोहोयार्ए र थपे– “गेउरीगन चैं किन जान लागेका नि ? आज न बुधबार हो न शनिबार हो, बुधबार वा शनिबार भएको भए त हटिया भर्न भन्न हुन्थ्यो, तर हटिया पनि त दुई बजेपछि मात्र लाग्छ ।”
“हामी हटिया जान लगेको हैन त नाना, मधेसिया आन्दोलनमा जानलागेका पो त ।” –कद्दुले उद्देश्य बतायो गौरीगन्ज जानुको ।

केटाको कुरा सुनेर मगुर बुढो “हँ !” गर्दै प्वाक्क मुख बायो र एक्लै फत्फतायो– “मधेसिया त म पनि हुँ त अनि मलाई नै थाहा न भएको कुन मधेसियाको आन्दोलन रहेछ हँ !” र फेरि केटातिर फर्किएर सोध्यो– “केको आन्दोलन रहेछ हँ छुवा ?”

“मधेसिया पहिचानका लागि, मधेसिया अधिकार प्राप्तिका लागि, जबर्जस्ती हडपेको हाम्रो भूमि फिर्ताका लागि, हामीलाई हाम्रै भूमिमा अल्पमतमा पार्ने पहाडिया षड्यन्त्र बिफल पार्नका लागि ।” –कद्दु बोल्न नपाउँदै बुढाको नाति पिठ्खुवा बाहिर निस्कियो र भाषण गरेझैं गरेर उत्तर दियो ।

नातिका कुरा सुनेर मगुर ताजपुरीया के भन्नु के भन्नु भयो र सोच्यो यिनीहरूलाई कसले पहाडिया भनेको छ र यिनीहरूलाई मधेसिया पहिचान चाहिएको होला ! अनि दुबै हातले मुन्टो थामेर बिगतमा हरायो– २०१७ ।१८ सालतिर होला ऊ अर्थात मागुर ताजपुरीया इण्डियाको दिगलबाँकको बाटो हुँदै झापाको कोरोबारीको तुलचन भन्ने गाउँमा आइ पुगेको थियो । तिनताका जङ्गलै जङ्गल भएको झापामा औलोका डरले पहाडियाहरू मधेस झर्न उत्ति हिम्मत नगर्ने हुनाले झापामा ऊभन्दा एकदुइ पुस्ता अघि ऊ जस्तै गरेर बसाइँ सरि उर्बर भूमि खोज्दै आएका राजबंसी, ताजपुरीया, माक्रा तथा सतार आदिका जसोमात्र बस्ती भेटिन्थे जङ्गलका बिचमा कता कता, तर पहाडियाका घर भने औँलामा गन्न पुग्नेगरी पनि थिएनन् होला ।

२०२१।२२ सालदेखि भने पहाडियाहरूको पनि बिस्तार बिस्तार मधेस झर्ने क्रम बढ्दै जान थाल्यो । पहाडतिरबाट पैसा बोकेर मधेस झर्न सक्नेहरूले खेत किनेरै र पैसा नहुनेहरूले भने जङ्गल फाँडेरै भए पनि घरबास गर्न शुरु गरेका थिए ।
पहाडीयाहरूको उल्लेख्य जनघनत्व बढेपछि भनें पहाडीयाहरूसँग उसलाई औधी डर लाग्न थालेको थियो । कम्मरमा यति लामो खुकुरी भिरेर हिँड्ने पहाडियाहरूले थात थलो सोध्ने पो हुन् कि भनेर । उमेर छिप्पिदै गएपछि उसलाई ऊ हलिया बसेकै घरमालिक घुग्नी राजबंसीकी छोरी बोलोसरी राजबंसी मन परी र बोलोसरीले पनि उसलाई मन पराई । त्यस बेलासम्म राजबंसीहरूले ताजपुरीयालाई दखिना, पानी नचल्ने जात भनेर छोरी दिँदैनथे । त्यसैले मागी विवाह सम्भव थिएन । अनि ऊ बोलोसरीलाई साथ लिएर भागी विवाह सम्पन्न गर्न कोरोबारी छोडेर जुरोपानी पन्चायतमा पर्ने बैराँती गाउँतिर सर्न बाध्य भएको थियो ।

बैराँती आइपुग्दा मागुरले धेरै धेरै अनैठा लाग्दा घटनाहरूका बिचमा आफूलाई पाएको थियो । यस नयाँ ठाउँमा पहाडीया र मधेसियाको बराबरै जसो जनसंख्या, महाराज सोनबरिस मन्त्री बहादुर चौधरी भनेर महाराज थानमा फूलघोडा चढाउँदै र अगरबत्ती बाल्दै जिलेबी खाएर सिरुवा पाबनी मनाउँदै मेला भर्ने पहाडिया, पहाडियाहरूको दशै पाबनीमा पहाडीयाका घरमा मासुचुडा खान जाने मधेसीया र मधेसियाको सादीब्याहमा कोलाको पत्तामा घुग्नीमुरी तथा दहीचुडा खान खुसीसाथ सम्मिलित हुने पहाडिया समुदाय देखेर ऊ आश्चर्यचकित भएको थियो र अझ अर्को कुरा मधेसियाहरूको झारफुक गर्ने ओझा चैं करु दाहाल नाउँ भएको र भेषभुषाले मधेसिया देखिने राजबंसीकै छोरी सादी गरेको पहाडिया थियो । यी सबै कुरा देखिसकेपछि भने उसलाई यस ठाउँमा चै बस्न सजिलै हुनेरहेछ भनेर मन अलि हलुङ्गो भएको थियो ।

बोलोसरी दोजिया भै सकेपछि घुग्नी छोरी खोज्दै मागुरका घरसम्म आइपुग्यो । घर त भन्नु मात्रको थियो । जुरोपानीमा फडानी गरेर आवाद गर्ने जङ्गल सकिई सकेकाले जङ्गल फडानी गरेर घरबासको जोहो हुने कुरै भएन किन्नलाई पैसा थिएन त्यसैले परेका बेलामा खेतबारीमा हल जोतिदिने शर्तमा बैराँतीकै गाँठी राजबंसीको जग्गामा सानो झुपडी हालेको थियो । त्यसै झुपडीको दरबाजा अघि घुग्नी आइपुगेको देख्ता एकपटक त उसको सातोपुत्लो उडेको थियो र डरले नमस्कारै नगरी हड्बडाएर घरभित्र छिरी बोलोसरीलाई एक लोटा पानी र चुर लिएर बाहिर पठाएको थियो ।

उस्तै परे दखिनाबाट छोरी घुर्ता लिएर जाउँला भनेर आएको घुग्नी दोजिया भएकी छोरी देखेर खिस्रिक्क पर्यो अनि उसले बात बढाउँनु भन्दा सम्झौता उचित भन्ने ठानेर “किन यसरी भाग्नु पर्थ्यो ? मलाई भनेको भए मै सादी गरि दिन्थें नि, समाजमा घुग्नीकी छोरी भागी भनेर मेरो बदनाम त हुँने थिएन ।” भन्दै चोचोमोचो मिलायो । किन अर्काका जग्गामा झुपडी हालेर दुस्ख गर्छौ हिड तुलाचन भनेर फकाएको समेत थियो तर ससुराका घरमा गएर घरजमाइ बस्न उसलाइ पटक्कै मन भएन । जति फकाउँदा पनि उसले मान्दै मानेन जसको फलस्वरुप अर्कोपटक आएर उसलाई ससुराले गाँठी राजबंसीकै दुई बिगाह जग्गा किनेर काठको दोमन्जीला घरसमेत बनाइ दिएर उसलाई बैराँतीको स्थायी बासिन्दा बनाइ दिएको थियो ।

यति हुँदा पनि पहाडीयाहरूले आफ्नो थात थलो खोजेर बसाईँ हिँडाउँने पो हुन् कि भन्ने भित्री डरले भनें उसलाई छोडेको थिएन तर समयको अन्तरालसँगै तिनै डरलाग्दा पहाडीयाहरूले हामीभन्दा पहिल्यै आइ खनजोत गर्न थालेकाले तिमीहरू आदिबासी भयौ भनेर आदिबासीको पगरी लगाइ दिए र हामीसँगै नेपालमा बस्ने भएकाले नेपाली भयौ भनेर सम्मानपूर्वक नेपाली नागरिकता समेत दिएर उसका मनमा रहेको थातथलाको खोजी हुने हो कि ? भन्ने डरलाई सधैंका लागि मनबाट हटाइ दिएका थिए ।

“रोइ ! क्याँइ धरपराछोक ? जल्दी आस”– भनेर फेरि कराएको कद्दुको आवाजले बुढालाई झसङ्ग बनाएर फेरि बर्तमानमा ल्याइ दियो । अनि बुढाले नातिलाइ प्यारो लवजमा सोध्यो– “नुनु ! हामी यो ठाउँमा कहाँबाट आयौँ र कसरी नेपाली भयौँ भनेर तँलाइ थाहा छ र ! तेरो भूमि पहाडीयाले खोसे भन्छ्स् ?”

“जहाँबाट आए पनि पहाडीयाभन्दा त हामी पहिले आइपुगेका हौ नि यस ठाउँमा ।” पिठ्खुवाले जरक्क परेको लवजमा उत्तर दियो ।
“त्यही भएर त तँलाई आदिबासिको दर्जा दिएका छन् र नेपाली मानेका छ्न् नि, अर्काका घरमा तँ पहिले प्रवेश गरिस् भन्दैमा तेरोमात्र घर भै हाल्छ र ?“ –बुढाले नातिलाई सम्झाउँन खोज्यो र मनमनै भन्यो– “अब चैं पक्का पनि पहाडीयाहरूले हाम्रो थातथलो खोज्ने भए, जे नहोस् भनेको थियो आखिरमा भएरै छोड्ने भयो ।”

गौरादह–१२, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
हात

हात

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x