निशान निष्कर्षकवितालाई शूली
बन्दुकजस्तो आवाज निकालेर पट्कन्न कविता
तर बुलेटभन्दा बुलन्द हुन्छ
कविताबाट निस्कने आवाज ।
निर्धारित सीमाको कोर्रा लगाउँदैमा
कहाँ खुम्चेका छन् आजसम्म शब्दहरूको शक्ति ?
न त प्रदेशको सीमाङ्कन खोजेर
उरालेका छन् चिच्यावटका कर्कश ध्वनि ।
कविताहरूले जुन दिन बिर्सन्छन् नि
कवित्व क्षमता,
त्यो दिन शब्दले नै उठाउने छ औँला
आफ्नो अस्तित्व निर्धारणका लागि ।
कहिलेकाहीँ पोखिन्छन् शब्दहरू
विरोधको विद्रोहमा ।
शासकहरू नकमाउनू आफ्नो आत्मबल
र देश निकाला नगर्नु कवितालाई ।
कविताको सीमा हुँदैन,
कविताको देश, रङ र जात पनि छैन आजसम्म ।
शासकत्व जानेको नाममा
सहज स्वीकार गर्छ भन्ने ठान्दै
चढायौ भने कवि र कवितालाई शूली
विचार्नू, तिम्रो विचारको तुषारापातले
तिमीलाई नै सिध्याउने छ,
जसरी सकिएका थिए हिजोका कालपुरुषहरू ।
तिम्रो नियतमा जस्तो क्रुरता हुँदैन शब्दसँग
न त विभेदको विश्वासमा विस्तारित छ
कविताको आयाम ।
फेरि यो नठान्नू,
मूर्दा शान्तिको अर्को नाम हो कविता ।
पख,
कवि र कविताले शूली चढ्नु परे पनि
सकिन्न शासकको शक्तिजस्तो कविताको शक्ति ।
शोकलाई शक्तिमा बदल्छ ।
बन्दुकजस्तो आवाज निकालेर पड्कन्न कविता
तर बुलेटभन्दा बुलन्द हुन्छ
कविताबाट निस्कने आवाज ।
पन्द्रुङ, गोरखा
Subscribe
Login
0 Comments
Oldest








































