साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘उडाउनु’ सित एकछिन उड्दा

Nepal Telecom ad

एउटा देशले भूउपग्रह उडाएकै दिन मेरो घरमा बिरालाले दूध उडाइदिएसछ । सन्जोग पनि कहिलेकाहीँ कस्तो पर्छ भने एउटा बिनासित्तिको कुराले पनि एकछिन सित्तैँ अलमल्याइदिन्छ । न त्यो देश र बिरालामा कुनै सम्बन्ध छ, न भूउपग्रह र दूधमा समानता । तर क्रियाचाहिँ दुइटैले एउटै गरे- उडाइदिए । भूउपग्रह उडाउन कैयौँको साधन र साधना लाग्यो, तर बिरालालाई दूध उडाउन न साधनको नाममा एउटा चम्चा चाहियो, न साधनाको नाममा केही चालचुल ।
तर यी दुवै कामलाई उडाउनु नै भनिन्छ भने उडाउने क्रियालाई महत्त्वपूर्णनभन्ने कि मामुली ? यो पनि एउटा प्रश्न हो । तर कस्तो केटाकेटी प्रश्न ? यो त एउटा भाषाको चमत्कार मात्र हो । हाम्रो देशमा एउटा मान्छेका दसोटा सिद्धन्त भएझैँ हाम्रो भाषामा एक शब्दको अनेक अर्थ हुन्छन । उदाहरणको लागि आफ्नो लभ परेको दिन आफ्नो नजिकको नातादारको जुठो परेको हुन्छ । जीवनको असङ्गति भनेको यही न हो ? त्यसैले बिरालाको दूधउडान र त्यस देशको भूउपग्रहको उडानमा पक्का पर्नुसट्टा अर्को कुनै महत्त्वपूर्ण समस्यामा विचार गर्नु राम्रो । मन अर्को विचारणीय समस्या खोज्न थाल्छ, तर मगजको तन्तु हल्लाउँदै एउटाले प्वाक्क सुनाउन आउँछ- “रामबहादुरले सीतादेवीलाई उडाएछ नि बुझिस् ?” रामबहादुरले सीतादेवीलाई क्यारेभलमा राखेर ब्याङ्कतिर उडाएको हो कि पछयौरामा तानेर भण्डारकोठातिर कुदाएको हो- त्यो दुबिधामा अलमलिँदै नअलमलिई म साथीसित सोध्छु- “उडाएछ ? कसरी थाहा पाइस् ?” ऊ थप्छ- “अहिले त्यहीँ रेस्टुराँमा सबै ठिटाहरु रामबहादुरलाई उडाउदैँ थिए ।” अब भएन के ? एकै दिनमा सुन्नुपरेको यी चार उडानका समाचारहरुबाट बुझेको सानो क्षितिजमा कौतूहलको चारचोसे विमान फन्का मारीमारी उड्न थाल्छ-
अन्तराक्षमा जान संलग्न देशले भूउपग्रह उडायो ।
बिरालाले दूध उडायो ।
रामबहादुरले सीतादेवीलाई उडायो ।
ठिटाहरुले रामबहादुरलाई उडाए ।
उडाउनुको यसै फन्कोमा कान्छाले बेलुन उडाएको, ठाइँलाले चङ्गा उडाएको, काइँलाले गाँजा उडाएको, साहिँलाले परेवा उडाएको, माहिलाले तहबिल उडाएको, जेठाले सर्वस्व उडाएको सम्झना पनि फन्कामाथि फन्का थप्तै उड्न थाल्छन् । अनि म फेरि छक्क पर्छु- कति विचित्र क्रिया छ यो उडाउनु !
तर छक्क पर्ने कुरा पो के रह्यो र ? प्रकृतिले पक्षपात गरेर मान्छेलाई पखेटा दिएन । त्यसै झोकमा होला, उसले उड्नु र उडाउनुका अनेकौँ क्रियाहरु सिक्न थाल्यो । उड्नुमा भन्दा उडाउनुमा आफ्नो पुरुषार्थ व्यक्त हुने देख्न थाल्यो । अझ भनूँ भने प्रकृतिले त उडाउनलाई प्वाँख र पखेटा नभई नहुने गराएथ्यो, तर मान्छेले मान्छेलाई बिनापखेटा हावामा पनि उडाइदिन लाग्यो, हाहामा पनि उडाइदिन लाग्यो । त्यसैले एपोलो र सोयुजका उडान सफल भएकै ताका आफ्नो घ्याम्पोउडान असफल भएर मध्यटुँडिखेलमा अग्निकाण्ड परे तापनि नेपालीहरुसमेत उडाउने काममा पछि परेका छैनन् । भनूँ भने उडाउने क्रियामा नेपालीहरु अरु दुई पाइला अगाडि नै छन् भन्ने मेरो धारणा छ; किनभने प्रकृतिले प्वाँख र पखेटा खोजिरहोस्, विज्ञान अक्सिजन र नाइट्रोजन जोडिरहोस्, हामी कुरैकुरामा कैयौँ कुरा भुर्र उडाइदिन्छौँ । हाम्रो भाषा स्वयं कति वैज्ञनिक छ भने उडाउने क्रियामै उसले सयौँ प्वाँख र पखेटाहरु जोडिराखेको छ, त्यसैले कसैले चाहेमा यहाँ पच्चीस पैसामा जुँगादाह्री उडाउन सक्छ, सोह्रठाडीमा घरबारी उडाउन सक्छ; अलिकति भेटीघाटीले एउटा गजबको ठेकदारी उडाउन सक्छ; एक-दुई जनाले धर्म छाडे एक-दुई हजारको धर्मभकारी उडाउन सकिन्छ । उडाउनुलाई यति व्यापक र बहुउद्यश्यीय गराई आफ्ना कयौँ क्रियाप्रतिक्रियासित सम्बद्ध राख्न नेपालीहरुले कम ‌श्रम र समय खर्चेका छैनन् । त्यसैले एउटा कागतको घ्याम्पो उडाउन असफल हुँदैमा हामीले आफूलाई उडाउन नजान्ने भनी आत्मग्लानि लिनु पर्दैन । हावामा उडाउने प्रतियोगिता अमेरिका र रुसले गर्दै रहून्, हाहामा उडाउने विज्ञानको लागि विश्वले नेपालबाट धेरै कुरा सिक्न बाँकी नै छ ।
उडाउने काम गर्न वैज्ञानिकहरुलाई विमान र वेधशाला नभई हुँदैन, तर हाम्रा ऋषिमुनि मन्त्रैमन्त्रले पहाड उडाइदिन्थे रे, हाम्रा गुभाजुहरु तन्त्रमन्त्रले हाड उडाइदिन्थे रे । त्यसैले मान्छे जाबालाई उडाउन विमान र वेधशालाको के खाँचो ? आजको युगमा मन्त्रतन्त्रको खोजीनिती झन् कल्ले गरिरहोस् ? हो, कसैलाई मेचैसमेत उडाइदिनु छ भने यसो चुक्लीसुक्ली लगाइदिए भइहाल्यो, होइन; सामान्यलाई सामान्यै किसिमबाट उडाउनचाहिँ त दुई चुच्चाको एक जमघट भए जत्ति भने पनि पुग्छ । त्यसैले धारामा होस् वा चौतारामा होस्, सडकको पेटीमा होस् कि रेस्टुराँको कुर्सीमा होस्, हामी चुच्चैचुच्चा मिलेर एउटा विचित्र वेधशाला बनाउन सक्छौँ र धमाधम मान्छे उडाउन सक्छौँ ।
उडाइने मान्छे भोजपुरमा होस् कि भक्तपुरमा होस्, भोज खान लागेको होस् कि भोकै मर्न आटेको होस्, उसको उपस्थितिबिना नै उसलाई भर्र उडाइदिन सक्नु हाम्रो उडानको अद्विआतीय विशेषता हो । अर्को विशेषता के छ भने जुन बेला तपाईं अर्कालाई उडाइरहनुभएको हुन्छ, त्यसै बेला तपाईंलाई अर्काले उडाइरहेको हुन्छ । त्यसैले यो उडानमा जति आनन्द आउँछ, उडाउनेले नै पाउँछ, उड्ने बिचराले कहाँकहाँ कसकसले कसरीकसरी आफूलाई उडाउँदै छन् भन्ने कुराको सुइँको पाउँदैन । उडाउने कलामा अशिक्षित र गाउँलेहरुभन्दा सभ्य र शिक्षितहरुले बढी सफलता पाउनु स्वाभाविकै हो, किनभने आजको शिक्षा र सभ्यता नै गराइदिनुमा भन्दा उडाइदिनुमा बढी लहसिएको छ । त्यसैले तपाईं मलाई उडाउनुहुन्छ, म तपाईंलाई उडाउँछु । हामी दुवै जनाको भेट भए फलानालाई उडाउँछौँ । उड्नु र उडाउनुको यस अभियानमा घरको तरकारी समस्यादेखि अफिसको सरकारी फाइलसम्म न केहीको पीर, न कसैको परवाह ! अरुलाई उडाउँदा पाइने एउटा गुलियो रसमा रसना रसाउँदै एकैछिन हल्ल हाँस्न पाइन्छ; आफ्नो अहंमा एक थप्की लगाउँदै बाँच्नुको मजा चाख्न पाइन्छ ।
यो त भयो अनुपस्थितिमा उडाउने कुरा । कोही मान्छे अघिल्तिरै उपस्थित छ र उसलाई उडाउनु छ भने थाल्नोस् तपाईं उसको तारिफ गर्न । उसको टोपीको टुप्पो सगरमाथाको जस्तो छ कि गौरीशङ्करको जस्तो छ ? त्यसको बयानबाट सुरु गरी अन्तयमा भनिदिनुहोस्- “चाहेको भए तपाईं उहिल्यै केके भइसक्नुहुन्थ्यो !” यो दिव्य वचन सुन्नासाथ ऊ आफ्नो भित्रबाहिर हेर्दै नहेरी अहंका पखेटा फटफटाउन थाल्छ र एकैछिनमा भारहीन भएर स्वयं उड्न थाल्छ- “प्रधानमन्त्रीसम्म पाएको भए सोच्नुहुन्थ्यो, मन्त्री जाबो को भइरहोस् !” तपाईं थपिदिनुहोस्- “यहाँजस्तो योग्य व्यक्तिले मन्त्री मात्र हुनु त नसुहाउने नै कुरा हो !” अनि ऊ झन् अकासिन्छ र आफूबाहेक सबैलाई लम्फूलम्फू देख्न थाल्छ । तर आफूलाई हाइलम्फू ठानेर उडाउँदछन्, बिचाराले पत्तै पाउँदैन । उडाउने योचाहिँ कलामा उड्नेले आत्मतृप्तिको महँगो मेवा पाउँछ, उडाउनेले मनोरञ्जनको सितनस्वरुप सके दुई घुट्को जाँडै पाउला नसके एक तुर्को चिया कतै नजा !
त्यसैले, मर्सिडिज कारले कसैका आँखासम्म धूलो उडओस् वा शिक्षित बेकारले एक थाल झिँगा उडाओस्- उडाउनु भनेको वास्तवमा उडाउनु नै हो । यो सबै हेरिल्याएको खण्डमा बीसौँ शताब्दी उडाउने युग हो । रकेट उडाउनेदेखि पाकेट उडाउने कलासम्ममा आज जति प्रगति भएको छ, त्यति पहिले कहिल्यै थिएन । हिरोशिमा उडाउनेदेखि लिएर साँधसीमा उडाउनेसम्मका सयौँ उडान पृथ्वीमा भएका छन् भने चन्द्रदेखि मङ्गलसम्मका कैयौँ उडान अन्तरिक्षमा भएका छन् । तर मलाई सोध्नुहुन्छ भनेचाहिँ, आधुनिक उडानको इतिहास हनुमान्देखि सुरु हुन्छ । हनुमानले द्रोणाचल उडाए भने उनका वंशज वानरहरुले पशुपतिको पूजासामा उडाउनुमा के आश्चर्य; वानरले देवतालेको पूजासामा उडाउँछ भने वानरबाट विकसित नरले पृथिवी नै उडाउनुमा के दोष ?

(\’गलबन्दी\’बाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
आराधना-नैतिकताको

आराधना-नैतिकताको

भैरव अर्याल
0
Would love your thoughts, please comment.x
()
x