साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो एकबारको जुनीमा

Nepal Telecom ad

यो एकबारको जुनीमा अमेरकिाको वासिङ्टन वा न्युयोर्क वा त्यतै कतैकी धनाढ्य कुइरेनीको कोखबाट जन्मिएको भए तेरो नाम लक्ष्मण गाम्नागे रहने थिएन साइँला ! अर्थोकै केही हुने थियो । जापानको राजधानी टोकियोको कुनै व्यापारी, उद्योगपति वा स्वीट्जरल्यान्डकै भनौँ, कुनै धनीमानीका घरमा तेरो जन्म भएको भए आज यो निबन्ध जन्मिने थिएन । तर, त्यो सब केही भएन । तँ समस्यै समस्याको माखेसाङ्लोमा जकडिएको दक्षिण एसियाको एउटा अनकन्टार गाउँपाखामा, त्यो पनि एक साधारण परविारमा जन्मिइस् । बाबुबाजेको पुख्र्यौली सम्पत्तिका नाममा एउटा फुटेको हाँडी पनि नभएका बाबुको तँ छोरासँग पनि बाबुले सिकाएको संस्कार र वंशानुगत रूपमा प्राप्त गरेको दुब्लो, पातलो, होचो, खुइलेखुइले परेको एउटा ज्यानबाहेक अर्थोक केही छैन भन्ने मलाई थाहा छ । र, त्यही केही नहुनुको फलस्वरूप यो एकबारको जुनीमा तँ बेलाबेला हाम्रा लागि मनोरञ्जन प्रदान गर्ने व्यंग्यहरू दिन्छस् । बधाई छ गाम्नागे ।
एकबारको जुनीमा यो गाम्नागेको ज्यान ५ फिट ४ इन्चसम्म पुगेर अड्कियो । अब त्यो उचाइमा आधा सेन्टिमिटर पनि थपिने सम्भावना छैन । दुई-चार दिन अलि सन्तोष हुँदा र खान राम्ररी पाउँदा एक-दुई किलो वजन बढ्न सक्छ । त्यो पनि कुन दिन चिनी रोग देखा पर्ने हो र घट्न थाल्ने हो, टुंगो छैन । ठूलो खाइलाग्दो ज्यान लिएर सडकमा लमरङ्लमरङ् हिँड्न पाउनु र परैबाट ‘आहा क्या ज्यान पाएको मान्छे’ भनेर मान्छेहरूले -खासगरी आइमाई मान्छेहरूले) ईष्र्या गरुन् भन्ने इच्छा यो गाम्नागेको पनि हुँदो हो । यस्तो सपना यो एकबारको जुनीमा कसैगरी पूरा नहुने भो ! सम्भावनाका ढोकाहरू बन्द गरिदियो समयले, शरीरले, सम्पत्तिले, देश, काल, परििस्थति र धेरैथोकले ।
यो एकबारको जुनीमा यो गाम्नागेले जसलाई बाबु, आमा, दाजु, दिदी, भाइ, बहिनी, मामा, काका, सासू, ससुरा, साथी, प्रेमिका, पत्नी भन्न पायो, यिनै पायो, यस्तै पायो । यीभन्दा गतिला फेला पारेन, यीभन्दा गएगुज्रेका पनि भेट्टाएन । तीमध्ये प्रायः सबै गाउँले, पहाडी, किसान, मास्टर, भरयिा, गोठाला, पुरेत, सानातिना कर्मचारी यस्तै भए । ठूला मान्छे भन्नु एक-दुई जना लुतेलाम्रे प्राध्यापक र केही भुत्तेभाङ्ग्रे साहित्यकार पायो । कुनै चल्तापुर्जा मन्त्रीलाई, कुनै भ्रष्ट सचिवलाई, कुनै कालो व्यापारीलाई, कुनै धनाढ्य उद्योगपतिलाई, कुनै सामन्त जमिन्दारलाई, कुनै ठूला पुलिस अफिसरलाई, कुनै सहरका कुख्यात डनलाई, कसैलाई पनि उसले कुनै नातो लगाउन पाएन । त्यस्तो नातो लगाउन नपाएकाले यसले कसैलाई कुट्न/कुटाउन पनि पाएन, कसैको कुटाइ खान पनि पाएन । त्यसैले समाजमा यसको कुनै चर्चा भएन । सहरको एउटा कुनामा गुमनाम बस्नु, १० बजे दिक्क मान्दै कार्यालयमा हाजिर जनाउनु, ५ बजे दंग पर्दै घर फर्किनु र थुप्रैथुप्रै अभाव, असन्तुष्टि र आक्रोशहरूलाई कागजमा पोख्नुबाहेक यो एकबारको जुनीमा यो गाम्नागेले अर्थोक केही ननाप्ने ग्यारेन्टी भयो ।
एकबारको जुनीमा गाम्नागेले झन्डै एक दर्जन दाजुभाइ, दिदीबहिनी र एकजोडी बाआमा पायो । यसका बा पण्डित, आमा निरक्षर गृहिणी । बाबुको नाम एक-दुई सय मान्छेले जान्दा हुन्, आमाको नाम त उनकै छोराछोरी पनि सबैले जान्छन् कि जान्दैनन्, सोध्नैपर्छ । गाम्नागे सम्झन्छ, त्यो राहुल गान्धीकी आमा सोनिया गान्धी पनि आमा, गाम्नागेकी आमा लक्ष्मी भट्टराई पनि आमा । ऊ आमा दरबारमा बस्छिन्, वायुयानमा चढेर छिनछिनमा संसार घुम्छिन् र चौरासी व्यञ्जन हसुर्छिन् । यी आमा मधेसको एउटा गाउँको झोपडीमा बस्छिन्, लौरो टेकेर खोच्याउँदै तल्लाघर, माथ्लाघर गर्छिन् र बिहान साग र भात, बेलुका भात र साग खाएर सातडाँडा पर भएका सन्तानहरूलाई सम्झिदै रातभर कोल्टे फेरेर बिताउँछिन् । एकबारको जुनीमा ती आमाले पाएको छोरो यस्तै र यो छोराले पाएकी आमा त्यस्तै भए । यो एकबारको जुनीमा मरगिए यी दुई अब बदलिँदैनन् ।
यो एकबारकै जुनीमा हो त्यो बज्जे बिल क्लिन्टनले माया गरेकी त्यो पड्के मोनिका संसारप्रसिद्ध भई । संसारभरकिा अखबार र टेलिभिजनहरूले उनीहरूको ‘लभस्टोरी’ प्रसारण गरे । तिनीहरूले गरेको ‘किस’को कथा छापेर पत्रपत्रिकाहरूले लाखौँ डलर आम्दानी गरे । संसार हल्लाएर उनीहरू छुट्टएि । गाम्नागेले पनि गर्‍या हो नि पिरेम त ! उसले गरेको पिरेम त्यो लठ्यौरी मोरी र गाम्नागेबाहेक कसैले चालै पाएनन् । भित्रभित्रै पिरेम गरे, भित्रभित्रै केके विषयमा झगडा गरे र कसैले चालै नपाई छुट्टएि । गाम्नागेले नजिकका साथीभाइलाई त्यो केटीसँग प्रेम गरेको कुरा सुनाउँदा गाम्नागेको अनुहार, ज्यान, खानपान, आम्दानी, जागिर हेरेर तिनीहरूले उसलाई हाँसोमा उडाए, पत्याएनन् । थुक्क मोरा गाम्नागे तेरो लभ स्टोरी !
हिजोआज गाम्नागे विचार गर्छ, यदि त्यो भँगेरी साइजकी केटीसँग छुट्टनिु नपरेको भए एकबारको जुनीमा आजको कथामा थोरै भए पनि फरकपन आउँथ्यो होला । अर्कै अनुहारका, अर्कै चरत्रिका, अर्कै बानीबेहोराका, अर्कै शारीरकि बनावटका छोराछोरी हुन्थे होला यसका । त्यो भँगेरीका कारण यो जुनी यसभन्दा सुखी हुन्थ्यो वा दुःखी हुन्थ्यो होला । ठ्याक्कै यस्तै त के हुन्थ्यो होला र ! तर, त्यो सब केही भएन । यो मात्रै भयो, जो अहिले भएको छ । जस्तै, एउटी …परेकी भए पनि श्रीमती छे -खाली ठाउँ भर्नु गाम्नागेको स्वास्थ्यका लागि हानिकारक छ) । राम्रा र असल दुइटा छोराछोरी छन् । बाँदर लड्ने भीरमा जन्मिएर यहाँ आइपुगेको गाम्नागेलाई के चाहियो ? मनग्य पुगेको छ, दंग छ । संसारै जितेजस्तो ।
एकबारको जुनीमा कस्तो लोग्नेको कल्पना गरेकी थिई होला गाम्नागेकी श्रीमतीले ? भन्ने उल्लु विचार पनि आउँछ गाम्नागेको खप्परमा । खुसी भएका बेला सोध्दा पनि यो रहस्य ऊ खोल्दै खोल्दिनँ । कुरा गर्न खोज्यो आआ, ऊँऊँ गर्दै कुरा अन्तै मोड्छे । अग्लो, बलिष्ठ, खाइलाग्दो, टन्न गाँठ भएको, आँटी, उद्योगी, माथिल्लो तहसम्म पहुँच भएको, जहाँ पनि कुरा मिलाएर जस्तासुकै काम पनि पट्याउन सक्ने- कस्तो ? त्यस्तो सपना यो एकबारको जुनीमा कसैगरी पूरा नहुने भो उसको । दुई छाक अलि मीठो तरकारी किन्न पनि सधैँ गोजी टक्टक्याउने ज्यालादारी पोई उसलाई के मन पर्दो हो र ! तर, विवशता ऊ हाँसेको अभिनय गर्दै, सुखैले बाँचेको अभिनय गर्दै गाम्नागेसँग गाँसिएर घिसारँिदैछे । यो एकबारको जुनीमा त्यसबाहेक बिचरीसँग विकल्प पनि भएन । सबै विकल्प ऊ तरुनी हुँदै एकदिन समाप्त भएका थिए, जुनदिन के-के न पाएँ भनेर एउटा सरकारी संस्थानको दुगुरे खरदारसँग उसले आँखा चिम्लेर लगनगाँठो कसेकी थिई । विस्तारै चाल पाई होली उसले- छ्या भनेर त्याग गर्न पनि नसकिने, राम्रो भनेर टाँस्िसन पनि मन नलाग्ने । भोकै पनि नमार्ने, अघाउन्जेल खान पनि नदिने । नांगै पनि नराख्ने, भनेजस्तो लगाउन पनि नदिने । के-के न गर्न खोजेजस्तो गर्ने तर केही खालो नसार्ने । यस्तो टोक्नु न बोक्नुको बूढासँग उसको पनि सक्किएछ एकबारको जुनी । यसरी स्वास्नी, छोराछोरीको जिन्दगीलाई पनि भीरको चिन्डो बनाउन सफल भएकामा रावण हाँसेजस्तो हाँस्छ गाम्नागे- हि हि हि हा हा हा हा हा ।
एकबारको जुनीमा गाम्नागे यस्तै भयो । यसभन्दा फरक कसै गर्दा नहुने भयो । तै फरक पर्छ कि भनेर थुप्रैले थुप्रै प्रयास गरे । बाबुआमाले छोरो डाक्टर, इन्जिनियर होला भन्ने सपना देखेर बिहान झिसमिसेदेखि बेलुका आधा रातसम्म फकाइफकाई ‘पढ् बाबु पढ्, पढ् बाबु पढ्’ भने । उनीहरूको सपनालाई धूलो चटाएर यो लण्ठु हुन पुग्यो एउटा ट्याउरे सरकारी नोकर । मरतिरी बाँच्नसम्म पुग्ने तलब दिएर गज्जबको गुलाम हात पार्‍यो सरकारले पनि । गुलामीमा बित्यो साइँला तेरो यो एकबारको जुनी ।
अड्डाका मित्रहरूले युनियनको लिडर बनाएर भाषण गर्न पनि लगाइहेरे गाम्नागेलाई । यसले भाषण गर्न पटक्कै जानेन । लिडर हुन अलिकति छल, अलिकति बल, अलिकति आँट, अलिकति ढाँट, अलि ठूलो बोली, सुरक्षित भोलि साथै अलिकति निडर हुनुपर्ने रहेछ । त्यस्ता एउटा पनि सद्गुणहरू नभएको यो डरछेरुवा लिडर पनि हुन सकेन । केही साथीभाइले लेखक बन्न हौस्याए । हास्यव्यंग्यमा उल्का मच्चाउनुपर्छ भन्ने पनि निस्किए । हो कि क्या हो भन्दाभन्दै लाखौँ लेखकहरूको हूलमा यो कता हरायो कता । अबलाई भने एकबारको जुनीमा यो गाम्नागे डाक्टर, इन्जिनियर, पाइलट, वैज्ञानिक, वकिल, सचिव, मन्त्री, नेता, व्यापारी, हिरो, नर्तक इत्यादि केही हुन नसक्ने पक्कापक्की भयो ।
उसबेला गाम्नागे काँचै थियो । स्कुल पढ्दै गर्दा एकदिन यसलाई वामपन्थीहरूले समाते र प्रशिक्षण दिए । तिनीहरूले सुरुमा उसलाई नसमातेको भए कांग्रेस प्रभावित परविारमा यो पनि कांग्रेसै हुने थियो । नेपालमा भएका चुनाव र हुनेवाला चुनावमा गाम्नागेको एक भोट सधैँ वामेहरूले पाए र पाउने भए । हुन त नाथे गाम्नागेको एक भोटले न कांग्रेसलाई १२ हातका टाँगाले छोएको छ, न कम्युनिस्टलाई कुनै राहत भएको छ । तैपनि, चुनाव आयो कि गाम्नागेलाई चौचौ हुन्छ र भोट खसाल्न लाइन बसिहाल्छ । नबिराई भोट खसाले पनि आफ्नो भोट खेर गएको बाहेक गाम्नागेले कुनै मीठो अनुभूति गरेको छैन । यो जुनीमा उसको भोट सत्यानाश नै भएको लाग्छ उसलाई । यसका कतिपय साथीहरूले यो पार्टीबाट ऊ पार्टी, ऊ पार्टीबाट त्यो पार्टी चहार्दै ठूलाठूला जागिर पाए, कद बढाए, नाम कमाए, दाम कुम्ल्याए । यो बज्जेलाई त्यो बुद्धि पनि आएन, आउलाजस्तो पनि छैन । एकै ठाउँमा टाक्सिएर सिद्धिने भो यो मूर्ख गाम्नागेको एकबारको जुनी !
एकबारको जुनीमा गाम्नागेले यो देशका बारेमा राम्रो कुरा कहिल्यै सुन्न पाएन । जुन दिन त्यो राजनीतिक कार्यकर्ताले गाम्नागेलाई पहिलो प्रशिक्षण दियो, त्यो दिन उसले यो देशको भयावह चित्र सुनाएको थियो । व्रतबन्ध गर्दा पुरोहितले गायत्री मन्त्र सुनाएजस्तो । गाम्नागेले गायत्री मन्त्र बरु बिर्सियो तर त्यो राजनीतिक मन्त्र कहिल्यै बिर्सेन । त्यो दिनदेखि बुझ्न थालेको यो देशको गति सधैँ ओरालै झरेको मात्रै अनुभव गर्‍यो उसले । देश उकालो लगाउन गतिलो नेता चाहिन्छ भन्ने उसलाई लाग्यो र सधँै ऊ त्यस्तो नेताको जन्मको प्रतीक्षामा प्रार्थना गर्न थाल्यो । यस्ता महान् नेताहरू फेला परून्, जसलाई च्याप्पै समातेर खुट्टामा ढोग्न मन लागोस्, त्यो चाहना थियो गाम्नागेको । तर, खुट्टामा ढोग्न त के परैबाट नमस्कार गर्न लायक नेता पनि आजसम्म फेला पारेन उसले । कान चिरेका जोगीहरूको जगजगी मात्रै देख्यो ।
नेताहरूले किस्ताबन्दीमा पटकपटक आन्दोलनमा बोलाए उसलाई । केही हुन्छ कि त भन्दै उनीहरूका पछि लाग्यो यो । एकदिन आन्दोलन सफल भयो । नेताहरू पनि सफल भए । तर, देश सफल भएन । गाम्नागेको आधा उमेर असफल देशको बिलखबन्द नागरकिका रूपमा बितिसक्यो । यसले देश सम्झेर सधैँ पिरोलोबाहेक केही बेहोरेन । पापी, पातकी, लोभी, स्वार्थी, अपराधी, भ्रष्टाचारी, लाछी, निकम्मा इत्यादि नेता र प्रशासकहरूको बिगबिगीले राष्ट्र सधैँ आक्रान्त भएको मात्रै भोग्यो । यो एकबारको जुनीमा यो देशको गति यहाँभन्दा बेग्लै केही होला भन्ने आशा मार्‍यो उसले । चुर्लुम्मै डुब्यो साइँला तेरो यो एकबारको जुनी निराशा र अनिश्चितताको दलदलमा । सबै अनिश्चित ! सरकार अनिश्चित, संविधान अनिश्चित, देशको भविष्य अनिश्चित, जनताको जीवन अनिश्चित ! व्यापार, व्यवसाय, शिक्षा, स्वास्थ्य, रोजगार सब अनिश्चित । एउटै निश्चित कुरा छ- अनिश्चय ।
यो अनिश्चितताको आँधीहुरीबीच उत्पन्न तेरो जीवनको गति मात्रै किन निश्चित हुन्थ्यो र गाम्नागे । त्यसैले बाँकी सबैथोक छाड्दे र अगाडि देखिइरहेको अनिश्चयको भुँमरीतिर अन्धाधुन्ध अगाडि बढ् गाम्नागे ! एक बारको जुनीमा यसमै तेरो कल्याण छ । तथास्तु !

तिलगङ्गा,काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x