डा. टीकाराम पोखरेलमोबाइल आतङ्क
विश्व यतिखेर आतङ्कवादबाट त्रसित छ । कोही आणविक अस्त्रशस्त्रको होडबाजीले आतङ्कित छन् भने कोही प्रकृतिक प्रकोपबाट आतङ्कित छन् । ठूला ठूलै आतङ्कबाट त्रसित, साना सानै आतङ्कबाट त्रसित । गरिबहरू गरिबीका कारण पेट भर्न नपाएर आतङ्कित छन् धनीहरू चाहिँ जथाभावी खाएका कारण खाना धेर भै स्वास्थ्य बिग्रिएर आतङ्कित छन् । यो देशका मन्त्रीहरू विपक्षीले सरकार गिराइदिने हो कि भनी आतङ्कित छन् भने अमेरिका अन्तर्राष्ट्रिय आतङ्कवादी सञ्जाल अलकायदाबाट आतङ्कित छ । हरेक राष्ट्र, सरकार, पार्टी, समाज, समूह, व्यक्ति सबैको जीवनमा कुनै न कुनै आतङ्कले जरा गाडेको छ । मेरो कुरा गर्नुहुन्छ भने चाहिँ यतिबेला मेरो जीवन मोबाइल फोनको आतङ्कबाट त्रसित छ ।
हुन त विज्ञान र प्रविधिको आजको युगमा विज्ञानले धेरै मानिसको जीवनलाई सहज र सरल बनाएको छ तर विज्ञानका आविष्कारका फाइदा मात्र होइन त्यसका बेफाइदाहरू पनि धेरै छन् । विज्ञानकै पछिल्लो चमत्कार मोबाइल फोन नेपाल भित्रँदा मोबाइलको प्रयोग सुविधाका रुपमा नभएर प्रतिष्ठाका रुपमा प्रयोग सुरु भयो । मोबाइल बोक्ने मान्छे समाजको प्रतिष्ठित गनिने भयो । यसरी कुनै समयमा प्रतिष्ठाको विषय बनेको मोबाइल फोन यतिबेला भने धेरैको जीवनमा आतङ्कको प्रतीक बनेको छ । तपाइँ पनि पक्कै पनि कुनै न कुनै रुपमा यो मोबाइल नामको यन्त्रबाट आतङ्कित हुनुहुन्छ होला । ल सुन्नुस् त हाम्रो जीवन कसरी मोबाइलबाट आतङ्कित छ ?
कुनै दिन बेलुका घर जान ढीला भयो कि गृहलक्ष्मीले यो मोबाइल नामको कण्ठसिरीमा घण्ट बजाइहाल्छिन् । हतार हतार खल्तीबाट आफूले मोबाइल भिकेर “हल्लो !” भन्न नपाउँदै गृहलक्ष्मीको कर्कशा आवाज आउँछ । “कहाँ हो ? कता हो ? के हो ? घर समयमा आउनु पर्दैन ?” आफूले कुनै उत्तर दिइरहनु पर्दैन । खाली आतङ्कित भएर गृहलक्ष्मीको भाषण सुनिदिए पुग्छ । र अन्तिममा गृहलक्ष्मी ठुस्स पर्दै छिटो घर आइपुग्ने आदेश दिन्छिन् र “वाइ” पनि भन्न नपाउँदै मोबाइल राख्छिन् । गृहलक्ष्मीको आज्ञा शिरोपर गर्दै हतारहतार घरतिर मोटरसाइकल दौडायो । बाटामा दुर्घटनामा परिन्छ कि भन्ने अर्को डर थपिन्छ । आतङ्कमाथिको थप आतङ्क ।
त्यसो त मोबाइल बोकी मोटरसाइकलमा कुद्यो, ठाउँ न बेठाउँमा मोबाइल नामको कण्ठसिरी ट्याँटयाँ टुँटुँ गर्न थालिहाल्छ । सवारी चलाउँदा फोन उठाउनुहुँदैन भन्ने ठानी म पहिले पहिले फोन उठाउँदैनथेँ । तर ती साथीहरू जसको फोन मैले उठाएको थिइँन, उनीहरूले प्रत्यक्ष भेटमा ममाथि डाइलग बर्साइहाले– “के हो निकै ठूलो भइएछ नि, हामीले गरेको फोन पनि उठाइँदैन नि ।” “म बाटामा थिएँ” भन्न पाउँदा नपाउँदै उनीहरूले थपिहाले “अरे ! बाटामा कुरा गर्न पो मोबाइल, घरमा मात्र कुरा गर्न त ल्याण्डलाइन छँदैछ नि ।” साथीहरूको डाइलग खाए पछि बाटामा पनि फोन उठाउन थालेँ । तर बाटोमा के मोबाइलमा कुरा गर्न खोज्दै थिएँ, ट्राफिक महोदयले बज्रवाण प्रहार गरिहाले– “के हो महोदय ! मान्छे हेर्दा त निकै भलादमी जस्तो देखिनुहुन्छ, तर बाटामा फोन उठाएर ट्राफिक जाम गर्ने ? हैन तपार्इँसँग ड्राइभिङ्ग लाइसेन्स त छ ? खै निकाल्नुस् त ।” कुरा पूरा गर्न नपाउँदै हतार हतार लाइसेन्स निकालेर ट्राफिकको हातमा थमाइदिएँ । ट्राफिकबाट बग्गीखाना आउने आदेश मिल्यो । जीवनमा मोबाइलका कारण अर्को आतङ्क थपियो ।
आफू सामान्य कर्मचारी । विद्यालयमा छोराछोरीको शुल्क कहिले पनि विद्यालयले तोकेको समयमा तिर्न सकिँदैन । शुल्क तिर्न मासिक तलब पर्खनुपर्छ । त्यसमा पनि हरेक महिना कुनै न कुनै शीर्षकमा थपिने अतिरिक्त शुल्कको भार त अर्कै हुन्छ । भार माथि भार । सयममा शुल्क तिर्न नसकेपछि कार्यालयमा काम गर्दा गर्दै मोबाइलमा विद्यालयका प्रिन्सिपलको आतङ्क बज्छ, “के हो महोदय ! बच्चा पढाएपछि समयमा शुल्क तिर्नुपर्छ भन्ने थाहा छैन ? समयमा शुल्क तिर्न नसक्ने भए हाम्रो जस्तो “क” श्रेणीको विद्यालयमा किन भर्ना गरेको ? कतै सरकारी विद्यालय देख्नुभएन । नदेखेको भए हामी विद्यालय खोजिदिने सेवा गरौँ कि ?” मुटु चस्स दुख्छ । निरुत्तर हुन्छु । आतङ्ककले झन गहिरो जरा गाड्छ ।
त्यसो त अस्ति मेरो एक जना साथी सवारी दुर्घटनामा पर्यो । उसलाई हतार हतार अस्पताल पु¥याएँ । उसको घरमा फोन गरेर खबर गरौँ भनी नम्बर दाबेँ । लगातार “माफ गर्नुहोला, तपार्इँले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्वीच अफ गरिएको छ” भन्ने आवाज आइरह्यो । बल्लबल्ल दुई घण्टापछि सम्पर्क भयो र किन मोबाइल अफ राखेको भनी सोधेँ । उनको मोबाइल त अफ भएकै रहेनछ । यस्तै छ यो मोबाइल चाहिने बेलामा सम्पर्क हुँदैन नचाहिएको बेला घण्टी बजेर आतङ्कित गराइरहन्छ ।
यो मोबाइल भन्ने कण्ठसिरीले नेपाल टेलिकमलाई चाहिँ नेपाल ठेलीकम नै बनाएको छ । टेलिकमलाई पैसाका ठेली सोहोरेर भ्याइनभ्याइ छ, प्रयोगकर्तालाई भने आतङ्कै आतङ्क थपेको छ । आफ्नो ब्वाइफ्रेण्डलाई पठाएको एसएमएस् अरुको विवाहित पतिलाई पुगेर ती लोग्ने स्वास्नी बीच सम्बन्ध नै विच्छेद भएको घटना मेरै टोलमा छ । एक जना मोबाइल प्रयोगकर्ता आफ्नो साथीलाई भेट्न साथीको घरमा पुगेको तर साथी घरमा नभएकोले साथीकी श्रीमतीसँग कुराकानी गरी फर्केको र साथीलाई मोबाइलबाट फोन गरेर “तेरो घरमा पुगी भाउजुसँग कुराकानी गरी फर्केँ, बडो मजा आयो” भन्दा मोबाइलको गडबडीले सुन्नेले चाहिँ “कुराकानी” भन्ने शब्द बाहेक अरु मात्र सुनेकाले कुराको अनर्थ लाग्न गई साथीसाथी बीच झगडा मात्र होइन लोग्ने स्वास्नी बीच सम्बन्ध विच्छेद नै भएको भन्ने मनोज गजुरेलको हास्यव्यंग प्रहसनले पनि मोबाइल चर्तिकलको राम्रो उदाहरण प्रस्तुत गरेको छ । चर्तिकला चाहिँ मोबाइलको, पैसा सोहोर्ने चाहिँ टेलिकम, प्रयोगकर्ताको चाहिँ बिल्लीबाठ । जीवनमा आतङ्कै आतङ्क ।
त्यति मात्र कहाँ हो र, आजकल जताततै बच्चा अपहरण आतङ्क चलेको छ । अपहरण मुक्त गर्न सौदावाजी गर्न पनि यही मोबाइलले अपहरणकारीलाई ठूलो सहयोग पु¥याएको छ । अपहरित व्यक्तिका परिवारमा चाहिँ मोबाइलबाट अपहरणकारीको आवाज आतङ्क बनेर छिर्छ । मोबाइल सौदाबाजीमा सहयोग पुर्याउँछ । अपहरित व्यक्तिको घर रित्याउने मात्र होइन जीवन नै समाप्त पार्न समेत कामयावी भैरहेको छ । यसरी यो मोबाइलबाट कहिले श्रीमतीको धम्की सुन्नुपर्ने कहिले साथीभाइको डाइलग कहिले ट्राफिकको खप्की खानुपर्ने कहिले विद्यालयका प्रिन्सिपलको अमिलो उपदेश । अनि चाहिएको बेलामा सम्पर्क नै नहुने, नचाहिएको बेलामा भने बजिरहने, श्रीमान् र श्रीमती बीच सम्बन्ध विच्छेदमा योगदान पुर्याउने, हुँदाहुँदा अपहरणमा यो मोबाइलले नै अपहरणकर्तालाई सौदाबाजी गर्न सहयोग पुर्याउने । यो मोबाइल नामको कण्ठसिरीबाट कतै तपाइँ पनि म जस्तै आतङ्कित हुनुहुन्छ कि ?
हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































