सुमी लोहनीपिरिम पर्व
सन्त भ्यालेन्टाइनका सम्पूर्ण शिष्यशिष्यालाई सलाम !
आहा ! फेरि आयो चीर प्रतीक्षित १४ फेब्रुअरी !
जय होस् ! सन्त भ्यालेन्टाइनको जसले आफ्नोे घरबार, परिवार नभए तापनि आफ्नो अनुयायीका सन्तानले नै भए पनि डाँडाकाँडा ढाकून् भन्ने महान् उद्देश्य लिएर होला आफ्ना शिष्यशिष्याका मनमा मायाको मन्त्र फुकी प्रेम दीक्षा दिएर घरजम रुपी जन्जालको व्यवस्था मिलाएका थिए । यसबाट ती आपूm घरबार त्यागेर अरूलाई पनि सबै कुरा छोडेर मेरै शरणमा दौडेर आऊ भन्ने ज्ञानी ध्यानीले पनि केही ज्ञान लिए कति राम्रो हुन्थ्यो ।
आपूmलाई फाइदा हुने कुराको त सबैले अनुकरण गर्नैपर्छ । तीमाथि झन मायाप्रेम त यसै राम्रो उसै राम्रो ! यस्तो राम्रो सम्झिदै मनै रसाउने रसबरीजस्तो रसदार कुराको उत्सब अथवा प्रेम दिवस त हरहालतमा नमनाईकन हुँदै हुन्न । हाम्रो कल्चर हैन भन्नु होला, अहिलेको मोर्डन युगमा यस्तो कन्जरभेटिभ कुरा गर्नु हुन्न क्या ! तपैँलाई थाहै छ नि मायाप्रेम अन्धो हुन्छ भन्ने कुरा ! अनि यस्तो जन्मजातै अन्धो मायाप्रेमका लागि ‘के तेरो, के मेरो’ उसका लागि सबै समान सबै बराबर ! आमा दिवस, बाउ दिवस, बच्चा दिवस आदि केके जाति दिवस नमनाए नि केही फरक पर्दैन । यिनीहरू त ‘कहाँ जालिस मछली मेरै ढडिया’ भने झैँ मनाए नि आप्mनै, नमनाए नि आफ्नै हुन क्यार ! तर ‘भ्यालेन्टाइन डे’ चाहिँ मनाउनैपर्छ । नत्र हामी एक्काईसौँ शताब्दीका, रकेट युगका प्राणी हौँ भनेर अरूले कसरी पत्याउनु नि ! त्यसैले आउट अफ डेट हुनबाट बच्न र आफ्नोे बुच्चे नाकको इज्जत चुच्चो पारी जोगाउनका लागि भए पनि प्रेम पुजारी बन्नु अति आवश्यक छ । अब पुजारी भएर पूजै गर्नु परेपछि पूmल, नैवेद्य, उपहार आदि पूजा सामग्रीको पनि त राम्रो व्यवस्था गर्नु परिहाल्यो । यसका लागि कोकोसँग केके झुटो साँच्चो बोलेर, छलछाम गरेर बेलैमा जोहो नगरे ‘हस्स बूढी ङिच्च दाँत’ हुन बेर छैन । अनि होटेल रेष्टुरेन्टका कोठा, टेबुल बुक गर्न ढिला भए फेरि सार्वजनिक स्थलमै ‘खुल्लम खुल्ला प्यार करेङ्के’ भन्दै प्रेम दिवस सेलिब्रेट गर्नुपर्ने सिचुयसन आउन सक्छ ।
३६५ दिन वाकयुद्धका लागि तीखा–तीखा वचन वाण जिब्रोको तरकसमा तैयार राखे पनि १४ फेबु्रअरीका दिन ‘रेड रोज’ साटासाट गरी प्रेम दर्शाएपछि वर्ष दिनभरिलाई पर्याप्त हुन्छ । एउटै ‘रेड रोज’ नओइलाउन्जेल धेरैसँग साटासाट गरी मितव्ययिता गर्न सके झनै राम्रो ! दिने लिनेको मन, भावना कालो सेतो जस्तो सुकै भए पनि ‘रोज’ चाहिँ रातै हुनुपर्छ । ‘इलू इलू’ भन्नेको जीउज्यान फुकिढल भए पनि मायाको तराजुमा गिप्mटको ओएट जति हृयाभी हुन्छ उति नै धेरै माया गरेको ठहरिन्छ । किनभने ‘धनको खनखन विना मनको गनगन’को के काम ! ‘जति धेरै मनी उति धेरै हनी’ यही हो मोर्डन युगको मायाको फर्मुला !
ल त, तपैँ पनि यही फर्मुला अपनाएर राम्ररी ‘पिरिम पर्व’ मनाउनुस् । म पनि रातो गुलाब ठीक पारौँ क्यार !
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































