सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

डल्ले कविको सल्य हाँसो

Nepal Telecom ad

कुरोको उठान :
साहित्यको विधि विधामध्ये ‘हास्यव्यङ्य‘ पनि एउटा सशक्त विधा हो । हास्यव्यङ्ग्य सुन्दा एक वचन जस्तो लागे पनि यसमा दुई वचन छ हास्य र व्यङ्ग्यको संयुक्त स्वरूप नै हास्यव्यङ्ग्य हो । एउटा सफल हास्यव्यङ्ग्य कृति पढ्दा जति आनन्द आउँछ तर हास्यव्यङ्ग्य लेख्न चाहिँ चिटचिट पसिना अउँछ । हास्यव्यङ्ग्य लेख्नु भनेको खल्तीको सुपारी खाए जस्तो होइन । हास्यव्यङ्ग्य लेख्दा वा अभिनय गर्दा दुई कुरालाई एकैसाथ समान रूपमा लान सक्नु पर्दछ । कसैका नराम्रा काम कार्वाहीका बारेमा हामी जति पनि आलोचना निन्दा वा छेड हान्न सक्छौं यो कार्य सजिलो छ । प्रतिपक्षमा बस्ने राजनीतिक पार्टीले सत्तामा बस्ने सत्तापक्षलाई भरमार आलोचना गरेको छेड हानेको हामीले देखेका सुनेका छौं । यो गाह्रो काम हुँदै भएन । हँसाउने मात्रै कार्य त एउटा बहुलाले पनि गर्न सक्दछ, रक्सीको मातले चूर भएको जँड्याहाले पनि हाँसो उठ्दो कुरा गर्छ र विचित्रको अभिनय पनि गर्दछ र मानिसलाई हँसाउँछ । त्यो पनि ठूलो कुरो भएन । गारो के छ भने समाजमा भएका कुनै पनि विकृतिलाई हाँसो उठ्दो पारामा व्यङ्ग्य गर्नु । यस्तो हास्यव्यङ्ग्य छ्याङ्ग देखिने पनि हुनुहुन्न भने सर्वसाधारणले बुझ्न नसक्ने बोझिलो पनि हुनुहुन्न । यसरी हास्य र व्यङ्ग्यको सन्तुलन बराबर मिलेको सामग्री नै हास्यव्यङ्ग्य हो । एउटै भान्सामा खाना खाने परिवारमा पनि व्यक्ति पिच्छेको आ आफ्नै रुचि हुन्छन्, कोहीलाई नूनको मात्रा कम चाहिन्छ भने कोहीलाई बढी, कोही नबढी न घटी । यसरी व्यक्ति पिच्छेको रुचिलाई ध्यानमा राखेर नून अड्कल्नु भनेको सारै गारो काम भए झैं हास्यव्यङ्ग्य लेख्नु पनि एउटा गारो कार्य त छँदैछ र यो अपजसे कार्य पनि हो ।
सिस्नुले भतभती पोलिरहेको छ तर पोलिने व्यक्ति पेट मिचिमिची हाँसीरहन्छ भने त्यो सफल हास्यव्यङ्ग्य हो । यस्तै हास्यव्यङ्ग्यले नै स्वतःस्फूर्त रूपमा समाजको विकृति हटाउँदछ र देशको सरकारले लागु गर्न नसकेका कार्य हास्यव्यङ्ग्यको माध्यमबाट सजिलै गर्न सकिने भएकाले समाज परिवर्तनका लागि हास्ययङ्ग्य साहित्य निश्चय नै अचूक औषाधी तथा रामवाण हो ।

पस्किनै पर्ने ? :
यी माथि उल्लेख गरिएका अभिव्यक्तिले तपाइँ पाठकहरूलाई निश्चयनै हँसाउन सकेको छैन र न यसमा कसैप्रति व्यङ्ग्य नै छ । हो, यसले हास्यव्यङ्ग्यलाई चिनाउन मिरमिरे उज्यालो छर्ने काम चाहिँ गरेको छ भन्ने लागेको छ । यति भूमिकाका साथा म अलिकति हाँसेर धेरै व्यङ्ग्य पस्किन चाहन्छु । पाठकवृन्द तपाइँहरूलाई भोक पनि लागेका होला, मैले पस्किन्छु पनि भनिसकें । तर म बडो दुःखका साथ प्रष्ट पार्दछु कि म दूधभात अथवा मासुभात पस्किन लागिरहको छैन । वास्तवमा, मैले प्रस्तुत गर्न चाहन्छु भन्नु पर्ने थियो तर पस्किन चाहन्छु भनें । तर यसमा मेरो दोष कति पनि छैन किन भने हाम्रा उद्घोषक महोदयहरू कविता प्रस्तुत गर्नुलाई उहाँले मिठो कविता पस्केर जानुभयो भन्ने गर्दछन् । प्रस्तुत गर्छु भन्दा शायद त्यो शब्द साहित्यिक हुँदैन क्यारे, त्यसै भएर मैले पनि आफूलाई अब्बल दर्जाको साहित्यकार बन्नका लागि ‘पस्किन चाहन्छु’ भनेको हो ।तपाइँहरूलाई दूधभात वा मासुभात खुवाउनका लागि पस्किन चाहन्छु भनेको हैन । म आफ्नै जहान परिवा।का लागि त के कुरा आफ्नै लागि पनि भात पस्किन्न र अरूले नै पस्किदिनु पर्दछ । के मलाई बहुला कुुकुरले टोकेको छ र ? तपाइँहरूलाइ भात पस्की दिने ? अझ साँच्चै भन्ने हो भने मलाई त पस्की दिएर मात्र पनि हुँदैन, पस्किएको भात एउटी षोढसीले बडो स्नेह र प्यारले ख्वाइदेओस् र अनि चुठाइ देओस् भन्ने मेरा चाहना हुन्छ । त्यसकारण तपाइहरू मैले पस्केको भात खाने कुरा यो जुनीमा त के अर्को सात जुनीमा पनि आश नगर्नुहोस् ।

देश दुख्छ ? :
प्रिय पाठकवृन्द हाम्रा राष्ट्रवादी कविहरूले देश दुखेको कविता सुनाउनु हुन्छ बेलबखतमा । तपाइँहरूले पनि पक्कै सुन्नु भएको होला देश दुख्छ भन्ने कविता सुन्दा म एकछक मात्र होइन, तीन छक परेको थिएँ । आफूलाई घाउचोट लाग्दा दुखेको थाहा थियो तर देश दुखेको थाहा थिएन । पछि बुझ्दै जाँदा हाम्रो देशको साँध सिमाना मिचिएको देख्दा हाम्रा लेखक कविको हृदय दुख्ने होइन रहेछ त्यो देश मात्र दुख्ने रहेछ । लेखक कविलाई चोटपटक लागेको भए पो उहाँहरूलाई दुख्थ्यो, देशको साँधसिमाना मिचिएको देशैलाई पो दुख्छ । त्यसबेला देखि मेरो देशमा विदेशीको हस्तक्षेप भए पनि साँधसिमाना मिचिए पनि मलाई पटक्कै दुख्दैन मात्र मेरो देश दुख्छ । मलाई त सधैं सुख छ । सर्वसाधारणको भाषा र साहित्यको भाषामा खास भिन्नता यही नै रहेछ ।

मेरो कार्यालय :
पाठकवृन्द मेरो लेखा परीक्षण कार्यालय पञ्चायतकालीन वर्गीय सङ्गठनको सचिवालय जस्तो थियो कुनै जमानामा । आज पञ्चायती व्यवस्था खारेज भएको पनि चौबिस वर्ष भइसक्यो । पञ्चायती व्यवस्था भोगेका सूर्यबहादुर जस्ता केही व्यक्ति बाहेक कतिले त यो धर्ती छाडि पनि सके । चालिस वर्ष सम्मका व्यक्तिले पञ्चायती व्यवस्थाको वर्गाीय सङ्गठनको साझा कार्यालय बारे थाहा नपाउनु अस्वाभाविक भएन र जानु पर्ने परिस्थिति पनि भएन । तर मलाई नै परेको छ यसको चासो ।
अहिलेका राजनीतिक दलहरूका विभिन्न भातृसङ्गठन भए जस्तै पञ्चायती व्यवस्थाका पनि विभिन्न भातृसङ्गठनहरू थिए– जस्तै महिला सङ्गठन, युवक सङ्गठन, किसान सङ्गठन, भू.पू. सैनिक सङ्गठन र प्रौढ सङ्गठन । प्रत्येक जिल्लामा ती सबै सङ्गठनको एउटै साझा कार्यालय हुन्थ्यो । ती सचिवालय सञ्चालन गर्न सुब्वा स्तरको एउटा साझा सचिव र एउटा पियनको दरवन्दी पनि हुन्थ्यो । आलोपालो गरी महिनाको एक दुई पटक प्रत्येक सङ्गठनको वैठक पनि हुन्थ्यो । प्रत्येक सङ्गठनको कागजपत्र राख्ने छुट्टाछुट्टै दराज पनि हुन्थे । यो व्यवस्था किफायती थियो र मलाई राम्रै लाग्थ्यो । मैले पनि त्यसैको सिको गर्दै प्रत्यक शुक्रवार तीन बजेपछि प्रेलेसको नियमित बैठक र भेटघाटको कार्यक्रम मेरै कार्यालयमा चलाएँ करिब आठ वर्ष । त्यसैगरी साहित्य सन्ध्याको कार्यालय, युद्ध प्रसाद मिश्र प्रतिष्ठान र पंडित क्षेत्री समाजको कार्यालय पनि चल्यो मेरै कार्यालयमा । त्यस अवधि अवधिमा मेरो कार्यालयमा देशका सबैजसो अगतिशील प्रगतिशील लेखकहरू (कति त स्वनामधन्य )मेरो कार्यालयमा आउनुहुन्थ्यो । त्यसै समूह मध्यका एकजना कविका बारेमा केही चर्चा गर्न मन लागेको छ आज ।

डल्ले कविको हाँसो :
मेरो नाम भक्तबहादुर भए पनि म छु सारै डरछेरूवा । आँखै नदेख्नेको नाम नयनबहादुर भएझैं मेरो नाम पनि बहादुर भएको छ । जे होस् ती सज्जनको नाम त नभनूँ भैगो तर उनको हुलिया चाहिँ अवश्य नै बताउन मन लाग्यो, चिन्ने काम भने तपाइँहरूकै हो ।
उनको उचाइका आधारमा भन्ने हो भने उनलाई होचापुड्का सङ्घको अध्यक्ष बनाउन लायक भए पनि बौद्धिकतामा आफूलाई सगरमाथाको समकक्षमा राख्दछन् । पुड्के ठेउके जे भए पनि खाइलाग्दो जिउ, पुटुक्क उक्सेको भुँडी, बडा हँसिला छन् । उनी आफूलाई लागेका कुरा मज्जाले गर्दछन् र उनलाई मन नपरेका मानिसका बारेमा जेपिटी (जेपायो त्यही) भन्ने गर्छन् र अनि आफै हा…हा…हा…! गरेर मरी मरी हाँस्छन् । अरू हासे पनि र नहाँसे पनि उनी आफू एक्लै हाँस्छन् एक प्रकारको जोक्कर जस्तो । उनको हाँसो सुनेर करबल अरू पनि हाँसोमा हाँसो मिसाइ दिन्छन् । उनी आफ्ना कुरा भन्छन् र मज्जाले हाँस्छन् अर्थात् अरूलाई खुब खिल्ली उडाउँछन् । उपेक्षाको हाँसो मजाले हाँस्छन् । अरूको कुरा सुन्ने उनको बानी नै छैन । अर्थात् उनी आफूले जे बोल्यो त्यो ध्रुवसत्य हो भन्ठान्छन् । व्यङ्ग्य नगरी भन्ने हो भने, कुवाको भ्यागुतोले कुवालाई नै संसार सम्झे जस्तै छ उनको प्रवृत्ति । जे होस् उनी मेरो कार्यालयमा आउँदा रमाइलो चाहिँ हुन्छ । आफ्नो कार्यालयमा आएका स्वनामधन्य कविलाई ‘पागल झै बिनासित्ती किन हाँसेको ए ठेउके’ भन्न त भएन । मूर्खदेखि दैव डराए भने झैं आफू पनि एकछिन हाँसिदियो टन्टै साफ । हलेदो भनेपछि किन कोट्यानु पर्यो ? बुझ्नेले बुझेकै छन् ।
हाम्रो मौनतालाई उनले घृणाको रूपमा नलिइकन विजयको मिथ्या धारणा बोकेर झनै उत्साहित हुन्छन् उनी । त्यस्ता स्वनामधन्य मानिसले गम्भीर भएर अरूको इज्जत गर्दै सारगर्भित कुरा गर्नु पर्ने । उनका कुरा सुनेर मानिस हाँसून्, हँसाउनेले आफू कहिल्यै हाँस्दैन । तर यसको ठीक विपरीत गुण छ ती स्वनामधन्य कवि महोदयको । के भएपछि किन हाँस्नुपर्छ भन्ने कुरो उनलाई थाहै छैन । अरूलाई अन्टसन्ट भन्यो, अनि खिल्ली उडायो आफै मज्जाले हाँस्यो, आफै विजयको मिथ्या दम्भ बोक्यो हिँड्यो आनन्द छ । उनका लागि मान्छेको गोबर र गाईको गोबर बराबर । उनले धेरै किताब पढेका होलान्, आफूलाई ठूलै समालोचक पनि सम्झन्छन् तर उनले अकबर वीरबलको कथा चाहिँ पढे जस्तो लागेन । यदि पढेको भए जहिले पनि तबेलाको घोडा हिल्लिए जस्तो हिल्लिने थिएनन् कि ?

अकबर वीरबलको कथा :
प्रिय पाठकवृन्द यदि तपाईहरू आज्ञा दिनुहुन्छ भने अकबर वीरबलको एउटा कथा उहाँलाई सुनाइ दिउँ कि ? कथा यस्तो छ : अकबरको पालमा दिल्लीमा पानी नपरी निकै खडेरी लागेछ । राजालाई पिर पर्यो र ज्यातिषीकोमा हेराउन गएछन् । ज्योतिषीले भने छ– प्रधानमन्त्री वीरबल हाँसे भने पानी पर्दछ । ज्योतिषीको कुरा सुनेर अकबर खुसी हुँदै दरवार फर्किए । उनले वीरबललाई बोलाउन पठाए । वीरबल पनि दरवारमा हाजिर भए । तब अकबरले भने– वीरबल तिमी हाँस्यौ भने पानी पर्दछ रे, त्यसकारण तिमी हाँस्नुपर्यो । जवाफमा वीरबलले भनेछन्– महाराज ! हाँस्नको लागि पनि घत पर्ने कुनै कारण त हुनु पर्यो नि ! बिना कारण त बहुला मात्र हाँस्छ । देशमा पानी नपरी ठूलो सङ्कट परिरहेको छ त्यसमाथि राजाको अवज्ञा, अकबर रिसले आगो भए र वीरवललाई प्रधानमन्त्रीबाट खारेज गरी देशबाट समेत निकाला गर्ने धम्की दिए । तर पनि वीरबल हाँसेनन् । बरू प्रधानमन्त्री पद त्यागेर राज्यबाट अन्यत्रै जाने मनसायले दिल्ली छाडेछन् ।
दिनभरिको हिँडाइको थकाइ, त्यसमाथि बिनाकारण नहाँसेकै कारण साय भोग्नु परेको, यस्तो मानसिक र शरीरिक थकाइले लखतरान भएका वीरबल साँझ परेपछि एउटा पाटीको कुनामा गएर सुतेछन् । निद्रा पर्ने कुरै भएन । उनी जागै थिए । एकैछिनपछि एउटा धोबी पनि त्यहीँ बास बस्न आइपुग्यो । उसको गधा हराएको रहेछ । गधा हराएको पिरले ऊ पनि निदाउन सकिरहेको थिएन । त्यसको केही बेरपछि उखू बेच्ने एकजना मानिस पनि उखूको भारी सहित त्यही पाटीमा आएर बास बस्यो तर ऊ पनि आफ्नो उखू चोरी हुने हो कि भन्ने पिरले निदाउन सकिरहेको थिएन । अन्तमा एक जोडी नव दम्पति पनि त्यही पाटीमा बास बस्न आइपुगे । उनीहरू पाटीको अर्को कुनामा सुते । नवदम्पति रतिरागात्मक क्षणका लागि उपयुक्त समयको प्रतिक्षामा थिए । अर्थात् उनीहरू पनि निदाएका थिएनन् । केही बेरपछि पाटीमा सन्नाटा छाएजस्तो भयो । यसैलाई उपयुक्त मौका ठानी नवदम्पत्ति अलिङ्गनमा बाँधिए । यसै क्रममा पतिले पत्नीलाई सोध्यो तिमीलाई कस्तो लागिरहेको छ ? पत्नीले जवाफ दिइन्– मैले त तिन त्रिलोक चौध भुवन देखें । यो कुरा सुनेर गधा हराउने धोबीले पल्लो कुनाबाट भन्यो– तिन त्रिलोक चौधै भुवन देख्नेले त मेरा गधा पनि अवश्य देखेको होला, लौ न बताइदेउ, कहाँ होला ? धोबीको सोधाइ सुनेपछि पत्नीले आत्तिँदै भनी बर्बाद भो, लौ झिक्नोस् झिक्नोस् । झिक्नोस् भन्ने शब्द उखू व्यापारीले पनि सुन्यो र उसलाई के लाग्यो भने उसको उखू पो अँध्यारोमा कसैले झिक्दैछ । तब उसले ठूलो स्वरले भन्यो– खबरदार, राजको दरवारमा लैजान ल्याएको उखू, कसैले नझिक्ला । अर्को कुना सुस्ताइरहेका वीरबलले यो सबै सुनेपछि हाँसो थाम्नै सकेनन् र मरी मरी हाँसेछन् । तर उनको हाँसो र हाम्रा डल्ले कविको हाँसोमा आकाश पातालको भिन्नता थियो ।
वीरबलको हाँसो एनमौका अनुरूपको थियो र उपयुक्त थियो । परिस्थिति यस्तो सिर्जना भयो कि जस्तोसुकै दुःख पिर परेको भए पनि नहाँसी धरै थिएन । तर हाम्रा कवि महोदयलाई आफू हाँस्न पाए पुग्यो, अरूले तपाइँ भनोस् कि नभनोस् आफै मपाइँ भन्यो । पागलखानाको पागल हाँसे झैं हास्यो, क्या मज्जा, क्या आनन्द । हामी बीच लोकप्रिय एउटा उखान छ मूर्खहरू कुकुरको पुच्छर घुमेको देखे पनि हाँस्छन् । आफ्नो आङ्को भैँसी नदेख्ने अर्काको आङ् जुम्रा देख्ने जस्तै छ डल्लेबाजेको हाँसो । त्यसै भएर होला हाम्रा कवि केवलपुरे यस्तो गीत गाउनुहुन्थ्यो ‘खालास पुड्के दही ।\’
सानेपा, ललितपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कवाडी र गफाडी

कवाडी र गफाडी

भक्तबहादुर नेपाली
झोलेसँग दोहोरी

झोलेसँग दोहोरी

भक्तबहादुर नेपाली
काग र कोइली

काग र कोइली

भक्तबहादुर नेपाली
कुइरे पस्यो यो देशमा

कुइरे पस्यो यो देशमा

भक्तबहादुर नेपाली
हँस्यौलीका तीन खित्का

हँस्यौलीका तीन खित्का

भक्तबहादुर नेपाली
त्यो सिंह मर्दछ

त्यो सिंह मर्दछ

भक्तबहादुर नेपाली