सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कमरेड ओलीको टोली

Nepal Telecom ad

नेपालले फुटबलमा भारतमाथि भव्य जित आर्जित गरेकोमा एक नेपालीको नाताले म आनन्दित हुनु अस्वाभाविक होइन । तर मेरो खुसीको खास कारण के हो भने हामीले एकदमै ठिक समयमा यो विजय पाएका हौं । केही दिन अघिमात्रै हामीमाथिको भारतीय नाकाबन्दी हटेको हो । कायमै रहिरहेको भए हामीले भारतलाई नै फाइनलमा हराएर पाएको स्वर्णपदक नेपाल भित्रिन सक्थ्यो त ?

छिमेकी मुलुक भारतमा भएको बाह्रौं दक्षिण एसियाली खेलकुद (छोटकरीमा साग) प्रतियोगिता सकिएको भए पनि दुई नजिकका छिमेकी मुलुक नेपाल र भारत बीचको राजनीतिक (अथवा आर्थिक) खेल जारी नै छ । यही सिलसिलामा हाम्रो प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली भारत भ्रमणमा जाँदैछन् । यसैका लागि ‘ठूलदाइले’ लगभग साढे चार महिना लामो नेपालमाथिको अघोषित नाकाबन्दी खोलिदिएको हो कि ? अब यस अतिरिक्त पनि अन्य कुनै गोप्य कारण रहेको छ भने मलाई थाहा हुने कुरै भएन । म एक सामान्य जनता हुँ । र जनतासँग नेताहरूका लुकामारीको खेल बराबर चलिनै रहने गर्छ । यसले गर्दा हामीले धेरै थाहा पाउने कुराहरूबाट अनजान रहनुपर्छ । यसै पनि कमरेड ओली र म बीचको खेल कुनै नयाँ कुरो होइन ।

याद रहोस्, म एक पुरानो एमाले हुँ । अँ त, सबै खालका गोप्यरअगोप्य मार्गप्रशस्त भइसकेपछि हाम्रो वर्तमान प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीले सरासरी जाने भनेको त्यहीं नै हो । अर्थात भारत भ्रमणमा । उनले अरू कहाँ जाने त ? हुन त हाम्रो अर्काे छिमेकी मुलुक जनगणतन्त्र चीनमा कमरेड प्रधानमन्त्री ओली जाने कुरा पनि सिंहदरबारदेखि बल्खुदरबार (अहिले धुम्बाराही) सम्मको राजनीतिक वायुमण्डलमा हलुका–हलुका किसिमले तैरिइरहेको थियो । एक प्रकारले शिष्ट एवं विशिष्ट गाइँगुइँको शैलीमा भन्नोस् ।

‘सुन्नुभयो विमलजी, प्रधानमन्त्री कमरेड ओली पहिले चीन भ्रमणमा जानेछन् ।’ मेरो एक परिचित एमाले कमरेडले मेरो काननेर आएर खासखुस गरे ।

‘भारत नगएर सोझै चीन जाने भए त कमरेड प्रधानमन्त्री ओली ?’ मेरो बोलीमा केही आश्चर्यका साथ बडेमानको अविश्वास थियो ।

‘हो ।’ उनले पर्याप्त अप्रसन्नतामा मतिर हेरेर भने, ‘प्रधानमन्त्री कमरेड ओली पहिले चीन नै जानेछन् ।’

हाम्रो संक्षिप्त संवादको भोलिपल्ट नै प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली छिमेकी मुलुक भारतको भ्रमणमा जाने सरकारी खबर आयो । अर्थात फागुन सात गतेका दिन पारेर उनी भारतको राजधानी दिल्लीतर्फ धुमधामले उड्दैछन् । (यो लेखोट छापिँंदासम्ममा उडिसकेका पनि हुनेछन्) यही सिलसिलामा थप कुरा के पनि आयो भने कमरेड प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा सय जनाभन्दा बढीको सहभागिता रहनेछ । तसर्थ यस्तो जम्बो आकारको टोलीको सर्वत्र आलोचना पनि हुनथालेको छ । यससम्बन्धी सम्पूर्ण स्वरको सार के भने उनको भारत भ्रमणका निम्ति यत्रो ठूलो टोली किन चाहिएको हो ? यो कुरा आफ्नो ठाउँमा गलत नभए पनि मेरो व्यक्तिगत धारणा भने अलिक फरक प्रकारको रहेको छ । मेरो भन्नु के हो भने कमरेड प्रधानमन्त्री ओलीको टोली सानो खालको भए ठूला व्यापारी, सिनियर पार्टी कार्यकर्ता, उच्च सरकारी हाकिमहरू (भूतपूर्व समेत), प्रमुखतामा रहेका पदेन एमालीय सल्लाहकार, घागडान बुद्धिजीवी, सुपर–डुपर कवि–कलाकारहरू, अति नजिकका नातेदार, वरिष्ठ एनजीओ–आईएनजीओमार्का समाजसेवकहरू, केही आफ्ना र केही अरूका पाका र काँचा पत्रकार आदि–इत्यादि कसरी अटाउने ? अब प्रधानमन्त्री जस्तो गरिमामय ठाउँमा पुगिसकेका कमरेड खड्गप्रसाद शर्मा ओलीले केवल श्रीमती राधिका शाक्यलाई लिएर नईदिल्लीको विमानस्थलमा ओर्लनुभएन नि ! त्यसकारण भारत भ्रमणका लागि तय गरिएको कमरेड ओलीको टोली जम्बो नै भए पनि म आफ्नोतर्फबाट हार्दिक समर्थन गर्छु ।

यता आएर भारतलाई पराजित गरेको नेपालको फुटबल टोलीले मेरो साविक बमोजिमको सोचमा व्यापक हेरफेर ल्याएको छ । मेरो आशय के हो भने कमरेड प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको भारत भ्रमणको टोलीमा नेपाललाई सदैव घाटा गराउने साहु—महाजन, नेपाली हितसँग सर्वथा विमुख नेपालीहरू र आफ्नो राष्ट्रिय स्वार्थदेखि धेरै पर गएर अतिशय रमाउने व्यक्तित्वका साटो यी विजयी फुटबल खेलाडीहरूलाई किन समावेश नगरिएको हो ? कदाचित यस्तो भएको भए यसको प्रत्यक्ष लाभ के हुने थियो भने हामी ताजा विजयको दह्रो मनोविज्ञान लिएर भारतसमक्ष प्रस्तुत हुनसक्ने थियौं । सधैंभरि हारेका, हार्नलाई प्रतिबद्ध र हारवादीहरूलाई लगेर कुनै काम नलागेको इतिहासबाट उचित शिक्षा लिन हामी यसपटक पनि नराम्ररी चुकेकोले मलाई गहिरो दुख लागेको छ ।

अन्त्यमा,
अस्तिसम्म हामीमाथि बलात् नाकाबन्दी थोपर्ने छिमेकी मुलुक भारतबाट साहस, कौशल, स्वाभिमान, तागत, गौरव, वीरता र विजयको चम्किलो शिल्ड (स्वर्ण पदक) बोकेर राजधानी परिक्रमा गरिरहेका फुटबलका नवयुग श्रेष्ठहरूलाई देखेर म साँच्चिकै हर्षा्तिरेकमा छु । नवयुग भनेको नयाँ युग हो । यसबाट नयाँ शक्ति– नयाँ शक्ति– नयाँ शक्तिको फगत मौखिक रटान गरिरहेका नेपालका प्रत्येक पार्टीका बासी बाबुरामहरूले केही सिक्ने हो कि !

कान्तिपुर, फाल्गुन ८, २०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ज्वाइँबाबा

ज्वाइँबाबा

विमल निभा
छेपाराख्यान

छेपाराख्यान

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा