लक्ष्मण गाम्नागेमुक्ति योद्धाहरू ! मुक्ति चाहियो !
हामीलाई हाम्रा मुक्तिदाताहरूले जन्मैदेखि आन्दोलन, हिंसा, हडताल, जुलुस, बन्द, युद्ध, कोलाहल, भय र आतंकहरूमा बाँच्न सिकाए । यसैमा हामी अभ्यस्त भयौँ । अब त हामीलाई अलिकति शान्ति हुँदा, सुरक्षाको अनुभूति हुँदा उकुसमुकुस पो हुन्छ । हामी शान्ति र स्थिरता खप्नै नसक्ने भइसक्यौँ । हाम्रो नशा नै भयो क्रान्ति । पछिल्लोपटक हामीलाई हाम्रा मुक्तिदाताहरूले तराई मधेस आन्दोलनका नाममा हत्या, हिंसा र नाकाबन्दीको भुमरीमा फनफनी घुमाए ।
अहिले अचानक मुक्तिदाताहरूले मुक्ति आन्दोलन छाडेको सुन्दा हामी स्तब्ध भएका छौँ । मितेरी पुलबाट हाम्रा मुक्तिदाताहरू हार खाएर हिँडेपछि वीरगन्ज नाका एकाएक खुल्यो । मालसामानहरू भित्रिन थाले । रक्सौलको डिपोले खुरुखुरु तेल दिन थाल्यो । भारतको पनि रिस र्मयो, हाम्रा प्रधानमन्त्रीलाई स्वागत गर्न तयार भयो । यस्तो भएपछि अब हाम्रो मुक्तिको कुरा के हुन्छ ? हामीलाई मुक्त गराउने हाम्रा नेताहरूको सपनाको हविगत के हुन्छ ? हाम्रो दैनिकी कसरी चल्छ अब ?
कति आनन्द थियो अस्तिसम्म । दिनदिनै जुलुस हुन्थे, नारा लाग्थे, गाना–बजाना, सिट्टी र भाषणहरूले निरन्तर मनोरञ्जन प्रदान गर्थे । चोकहरूमा टायरको धूवाँ उड्थ्यो । सरकारी कार्यालयहरूका कागजपत्र, टेबुलकुर्सी र कम्प्युटरहरू सल्काएर जीउ तताउन पाइन्थ्यो । मोटरसाइकल र चालकलाई समेत बालेर हात सेक्न पाइन्थ्यो । गाडीमा ढुंगा हानेर निसाना जाँच्न पाइन्थ्यो । पुलिसका लस्कर हिँड्थे, गोलीका आवाज सुनिन्थे, मान्छेका चिच्याहट र कोलाहलले सहर जीवन्त हुन्थ्यो । एफएम रेडियोहरूमा नेताहरूका चर्का चर्का अन्तर्वार्ता र पत्रकारहरूका प्रत्यक्ष प्रसारण सुनेर हामी उत्तेजित हुन्थ्यौँ, यो नरचोलाबाट मुक्ति पाउने विश्वास बढ्थ्यो हामीलाई । हरेक दिन आन्दोलनले चरम रूप लिन्थ्यो रेडियोहरूमा । हरेक दिन निर्णायक आन्दोलन हुन्थ्यो अन्तर्वार्ताहरूमा । तर, हाम्रा मुक्तिदाताहरूले हामीलाई धोका दिए । हाम्रो मुक्ति आन्दोलन छाडेर भागे नेताहरू ।
अब कलकारखानाहरू खुल्लान् । स्कुलरकलेजहरू पनि चल्न थाल्लान् । व्यापारीहरू हँसिलो मुद्रामा बजारमा देखिन थाले । रिक्सावाला, ठेलावालाहरूका चाउरिएका अनुहारमा मुस्कान देखिन थाल्यो ।
कारखानाका मालिकहरू, गाडीका साहूहरू, कर्मचारीहरू, कामदारहरू, किसानहरू कार्यक्षेत्रमा चहलपहल गर्न थाले । राजमार्गमा गाडीहरू गुड्न थाले । सबै कुरा यसरी सुचारु हुँदै गयो भने हाम्रो मुक्ति कसरी हुन्छ ? त्यसैले मधेसवादी दलहरूको पालो सकिएको हो भने अर्को कुनै मुक्तिदाता खडा हुनु पर्यो । हामीलाई उठाउनु पर्यो, सुताउनु पर्यो । हामीलाई तताउनु पर्यो, सेलाउनु पर्यो । हामीलाई उचाल्नु पर्यो, पछार्नु पर्यो । हामीलाई मुक्त गराउँछु भनेर पुलिसका बन्दुक अगाडि उभ्याउनु पर्यो । हातमा ढुंगा थमाउनु पर्यो । तिनीहरू गद्धार हुन् भन्दै हाम्रा हातमा सलाई दिएर भगुवा नेताहरूका पुतलामा आगो सल्काउन लगाउनु पर्यो । अझै ठूलो र लामो क्रान्ति गर्नु पर्यो । चौकीमा आक्रमण गर्नु पर्यो ।
पुलिसका पोसाक डढाउनु पर्यो । नाकामा धर्ना बसेर मात्रै मुक्ति पाइएन, नाकाका सबै पुलहरू भत्काउनु पर्यो । देशलाई ठप्प पार्नु पर्यो । कोब्राहरू, टाइगरहरू, राउतजीहरू किन चुप लाग्नु भयो ? कत्रो आशा गरेको विप्लवजीहरूसँग, कुन दुलामा पस्नु भयो ? लौ न, मुक्ति योद्धाहरू हो आउनु पर्यो । हामीलाई मुक्त गरेको गर्यै गर्नु पर्यो ।
नेपाल, फाल्गुन ७, २०७२
Subscribe
Login
0 Comments
Oldest







































