कोमल भट्टनमरी स्वर्ग देखिन्न
आयो फेरि निकै चिसो समय यो जाडो बढ्यो बेसरी
कामेको छ शरीर लुगलुग हुँदै बर्षी हिमैको झरी
पेटीमा पथमा तथा चउरमा चिप्लेर बाधा भयो
हिंड्नै आपत भो मरिन्छ कि भनी यो देह आधा भयो ।।१।।
पुग्नै पर्दछ काममा दिनदिनै लड्दै र पड्दै छिटो
नाना दर्द र ताप हुन्छ मनमा बोल्दा बलैले मिठो
बोल्छन शिष्ट यहाँ तथापि मनमा भारी छ कालो कुरा
मौका पाउनु पर्छ यी सकलले झिक्छन् तुरुन्तै छुरा ।।२।।
बोल्ने फुर्सद हुन्न काम गरंदा थाकिन्छ झन् ग्लानिले
सोच्नै हुन्न विदेश हुन्छ सजिलो भन्ने कुरा ज्ञानीले
कैले सम्म रहन्छ जागिर भनी भन्नै छ गाह्रो अति
जैले हाकिम झोकियो तब भयो अत्यन्त ठूलो क्षति ।।३।।
छोड्यो बन्धु सखा पिता र जननी आयो विदेशै महाँ
गर्थ्यो सुन्दर कल्पना छिनछिनै पुग्थ्यो कसोरी यहाँ
‘मर्नै पर्दछ स्वर्ग देख्न सबले’ देखिन्न जिम्दो हुँदा
पश्चाताप रहन्छ भित्र मनमा तड्पेर साह्रै रुँदा ।।४।।
नैकाप, काठमाडौं, हाल : अमेरिका
Subscribe
Login
0 Comments
Oldest







































