साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुख, मुखमुख, मुखसुख र मुखामुख

Nepal Telecom ad

पाठक महानुभावहरू ! आज म एउटै शब्द दोहोरिएर अर्को नयाँ शब्द बन्ने भाषिक प्रक्रियाको कुरो गर्न उभिएको छु । नेपाली भाषामा यस्ता सयौँ शब्दहरू छन् । ‘घरबाट घरघर, भातबाट भातसात, बानीबाट आनीबानी’ बनेजस्तै गरी नयाँ शब्दहरू बनेका छन् । यसरी नयाँ शब्द बनाउने भाषिक प्रक्रियालाई ‘द्वित्व’ अथवा ‘वीप्सा’ भन्दछन् । म घर गएँ । यस वाक्यले एउटा घरमा गएको जनाउँछ । म घरघर गएँ । यस वाक्यले धेरैवटा घर गएको बुझाउँछ । ‘भात खान्नँ ।’ भन्नु र ‘भातसात खान्नँ ।’ भन्नुमा समान अर्थ हुँदैन । ‘भात’सँग जोडिएर आएको ‘सात’ ले ‘छ’ पछिको अङ्कलाई नबुझाई ‘भात’ शब्दलाई विशेष जोड दिएको छ । ‘तिम्रो बानी राम्रो छ ।’ भन्नुमा र ‘तिम्रो आनीबानी राम्रो छ ।’ भन्नुमा पनि समान अर्थ हुँदैन । यहाँ ‘आनी’को छुट्टै अर्थ लाग्दैन । आनी’ पनि ‘बानी’को अंश हो । द्वित्वले शब्दार्थमा नयाँपन थप्छ । ‘तातो चिया खाएँ ।’ भन्नु र ‘तात्तातो चिया खाएँ ।’ भन्नु एकै होइन । ‘तातो’ शब्दले सामान्य तातोपन बुझाउँछ भने ‘तात्तातो’ शब्दले बढी तातो भन्ने बुझाउँछ ।

‘आफ्नो काम गर ।’ यस वाक्यले एक जनालाई मात्रै आफ्नो काम गर्न लगाएको छ । ‘आआफ्नो काम गरो ।’ यस वाक्यले धेरै जनालाई उनीहरूले गर्नुपर्ने भिन्नभिन्न काम बुझाएको छ । यसरी द्वित्व भई बनेका शब्दहरू भिन्न र स्वतन्त्र भएकाले यस्ता शब्दका शब्दांशहरूलाई जोडेरै लेख्नुपर्छ । ‘फाकफुक’ मा ‘फुक’ दोहोरिएको छ । ‘टालटुल’ मा ‘टाल’, ‘गोदागोद’ मा ‘गोद’, ‘मारामार’ मा ‘मार’ तथा ‘काटकुट’ मा ‘काट’ दोहोरिएको बुझिन्छ । सार्थक अंश जुन हो, त्यही जोडिएको भन्ने बुझ्नुपर्छ ।

‘घरघर, जोजो, जेजे, जसजस, जुनजुन, कोको, केके, कुनकुन, कसकस, कहिलेकहिले, कालोकालो, पिरोपिरो’ आदि शब्दमा शब्दांश पनि मूल शब्दकै रूपमा दोहोरिएको देखिन्छ । यस प्रकारको द्वित्वलाई पूर्ण द्वित्व भन्दछन् । धेरैजसो द्वित्व शब्दका अंशमा ‘स’ आएको देख्न सकिन्छ, जस्तै ः भातसात, लुगासुगा, नुनसुन, तरकारीसरकारी, आगोसागो, पानीसानी, कोठासोठा, जुत्तासुत्ता, हातसात, खुट्टासुट्टा, कलमसलम, दाँतसाँत आदि । यस प्रकारको द्वित्वलाई परिवर्तित वा आपरिवर्तित (आ+परिवर्तित) द्वित्व पनि भन्दछन् ।

‘आनीबानी, आलटाल, आलोपालो, असिनपसिन, तात्तातो, आआफ्नो, ठूल्ठूलो, छिट्छिटो’ आदिमा मूल शब्दको अंशमात्र दोहोरिएको हुन्छ । यस प्रकारको द्वित्वलाई आंशिक द्वित्व भन्दछन् । सबै प्रकारका द्वित्व शब्दमा एकै प्रकारको अर्थ खोज्नु उचित हुँदैन । ‘मुख’ भन्नाले हामी सामान्य ‘मुख’ भन्नेमात्र बुझ्दछौँ, जस्तै ः म मुख धुन्छु । ‘मुखमुख’ भन्नाले दुइटा मुख अथवा मुखनेर भन्ने बुझ्दछौँ, जस्तै ः केटा र केटी ‘मुखमुख’ जोडेर बसे । धानको बाला बोटको ‘मुखमु्ख’ आइसकेको छ । ‘मुखसुख’ धोएर आऊ । यस वाक्यको ‘मुखसुख’ मा आएको ‘सुख’ पनि ‘मुख’कै परिवर्तित रूप हो । यहाँ प्रयोग गरिएको ‘सुख’ भन्ने शब्दांश ‘दुःख’को विपरीतार्थक होइन । केटा र केटी ‘मुखामुख’ गरेर बसे । यस वाक्यमा आएको ‘मुखामुख’ शब्दले परस्परमा हेरिएका दुइटा मुख भन्ने बुझाएको छ । ‘मुखमुख, मुखसुख तथा मुखामुख’ यी तीनवटै शब्द ‘मुख’ भन्ने मूल शब्दबाटै व्युत्पन्न भएका नयाँ शब्दहरू हुन् ।

नैकाप, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
१००८ गठबन्धन महापार्टी

१००८ गठबन्धन महापार्टी

डा. गाउँले बलदेव
तिमी भोक देखाऊ, म भगवान् देखाइदिउँला !

तिमी भोक देखाऊ, म...

डा. गाउँले बलदेव
म प्रज्ञापति !

म प्रज्ञापति !

डा. गाउँले बलदेव
0
Would love your thoughts, please comment.x
()
x