सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हामी मूर्ख हौँ !!

Nepal Telecom ad

कस्तो अचम्म ! सत्य भनौँ, कसरी भन्नु, असत्य हुँदै होइन । विश्वको विवेकशील प्राणी मान्छे विवेकशून्य भएर छेपारोले रङ फेरे झैँ छिन छिनमा बोली फेर्छ । आफ्नो अतीतले यथार्थ बिर्सेर काल्पनिक संसारमा रमाउँछ । आफ्नो पहिचान आफैँ गुमाउँछ । आफ्नै अतीतले वर्तमानलाई घुमाउँछ फनफनी, उसले लाज घिन जति स्वार्थको प्यालामा पिउँछ तनतनी । तपाईंँहरू मूर्ख हो ? कसैले प्रश्न गर्छ । मान्छे हतारिएर उत्तर दिन्छ, हो हो ! होइनौँ, कहाँ हुनु नि ! हुन सक्छौँ । धत्तेरिका ! पर्खनोस् है साथीलाई सोध्नुपर्छ । हैन हैन, म्यान्डेटबिना हामी के हौँ, बोल्नै मिल्दैन । यसरी एउटा जिम्मेवार मान्छेलाई स्वयं आफू के हो, थाहा छैन भने उसले अरूलाई केही दिन्छ भनेर आश गर्नु अवश्य पनि मूर्खता ठानेर चम्चे साहिलो नेता भा’ ठाम गएर प्याच्च मुख फोरेछ– हैन ए नेताजी ! मलाई एउटा प्रश्नले सधैँ सताउँछ । अनि हाम्रा कार्यकर्ताले पटक पटक प्रश्न गर्छन् । वास्तवमा तपाईँको वास्तविक लक्ष्य के हो ? तपार्इंँको दृष्टिकोण स्पष्ट छैन रे नि ! अनि सधैँ पीपल पाते कुरा मात्र गर्नुहुन्छ अरे । यसरी सर्प देखे पाखाँ हात, माछा देखे दुलाँ हात गर्नु राम्रो हो र ?

हि…हि…हि… ! तपाईंँ पनि कस्तो बुझ पचाएर प्रश्न सोध्नुहुन्छ । मेरो त कुरै छाड्नोस् । म सधैँ स्पष्ट छु । भोको पेटले केही हुनेवाला छैन । पहिले आफू बाँच अनि अरूलाई बाँच्ने बाटो देखाऊ । आफू र आफ्ना सन्तानले दुःख पाउनु हुँदैन । आफूपट्टिका सात पुस्ता र ससुरालीतिरका छ पुस्तासम्मलाई पुग्ने सम्पत्ति नकमाई अरूलाई हेरचाह गर्न कहाँ पो भ्याइन्छ र ! मैले गाउँका ठिटाठिटीलाई गार्मेन्ट आफैँ खोलेर जागिर दिएकै छु । केही राम्रा अलि पढेका केटीहरूलाई क्याविनमा जागिर मिलाइदिएकै छु । समय समयमा प्रेस विज्ञप्ति निकालेर मेरो जिल्लामा उचित हेरचाह नपुगेको गुनासो प्रकाशित गरेकै छु । त्योभन्दा के गर्न सकिन्छ र ? सबै बलेकै आगो ताप्ने त रहेछन् नि ! म पदमा छउन्जेल सबै गुणगान गाउँथे । अहिले केको भिजन चाहियो रे ती पाखेहरूलाई भन्दै बल्ड्याङ्ग्रा जत्रा आँखा पल्टाउँदै, दाह्रा किट्दै नेताजीले जुँगामा ताउ लाउन थालेको देखेर बिचरा चम्चे साहिँलो अक्क र बक्क परेछ । फेरि प्रश्न तेस्र्याएछ– हे महाप्रभु ! दीनदयाल ! दीनानाथभन्दा पनि उच्च छवि भएका मेरा नेताज्यू ! यस्तो जटिल अवस्थामा तपाईंँहरू गाउँ गाउँ घुमेर आफ्ना कार्यकर्तालाई निश्चित दिशाबोध गराएर धैर्यपूर्वक समयको प्रतीक्षा गराउनुको सट्टा तपाईंँ त चुनाव जितेर एक पटक पनि गाउँ फर्किनुभएन । म त तपाईंको हनुमान, मलाई पनि कर्के नजर र झर्के स्वभाव भयो भने भोलि चुनाव भइहाले विपक्षीको सातो बुकाउँदै बुथ क्याप्चर चाहिँ कसले गर्छ हँ ? विभिन्न झुटा आश्वासन बाँडेर र शत्रुको सातो बुकाएर दिनरात धोक्रो सुकाएर टोल टोलका कुुकुर भुकाउँदै तपाईंलाई विजयश्रीको माला पहि¥याउने अन्धभक्त त हामी नै हौँ त !

आदरणीय नेताजी ! अरूलाई जे जे बखानेर पन्छाए पनि म तपाईंको स्पष्ट दृष्टिकोण लिएर मात्र गाउँ फर्कन्छु । छिन छिनमा कुरा बदल्दै कहिले यो राम्रो, कहिले त्यो राम्रो, कहिले धारा राम्रो, कहिले कुवा राम्रो, कहिले चरा राम्रो, कहिले भुवा मात्र राम्रो भन्दै हुनुहुन्छ, हुँदैन भइहाल्छ नि ! जस्ता चेपारे कुराले हामीलाई भएन । अब हामी पानीविनाको माछा झैँ छटपटाइ मात्र रहने कि एउटा निश्चित उद्देश्य बोकेर निश्चित गन्तव्यको खोजी गर्ने ? भन्नोस् सत्य कुरा के हो ?
के सक्नुहुन्थ्यो बिचरा ! अब सहरी मोजमस्तीमा आनन्दमा जीवन बिताउँदै तपाईं चिताउँदै नचिताएको स्वर्णराज्यमा रमाउनुभएको छ । आफ्ना सात पुस्ता र आसेपासे दश पुस्तालाई पुग्ने अकूत सम्पत्ति कुम्ल्याएकै छ । देशमा केही भइहाले पनि विदेश गए भइहाल्यो । तपाईंका नातिनातिना आज सुनका बिस्कुट खान्छन् रे ! तपाईंकी सालीकी मितछोरीले अनौठो कमाल देखाउँदै तपाईंकै आशीर्वाद पाएर वाग्मतीको पानी तनतनी पिएको देखेर विदेशी खुसी भएर हरिया डलर नै बर्साइदिए रे ! आज उसको सम्पत्ति देखेर मान्छे तर्सिन थाल्या छन् रे ! तपाईंका ज्याईहरू हामीले पानी पिएभन्दा बढी बियरले नुहाएर चियरमा घुमिरहन्छन् रे ! हाम्रो त नेताज्यू, खोलो पनि रातै भएको छ । दसैँका जमरा पनि रातै थिए, रगत लतपतिएर आखिर शान्तिक्षेत्र नेपाललाई अशान्त र त्रासदीपूर्ण बनाएर छोड्ने तपाईंहरू नै होइन र ?

बुद्ध जन्मेको देशमा बुद्धिको अनिकाल भएपछि विवेक जति सबै स्वार्थको जालोले ढाक्यो । नेताहरूको बोली लर्बराउन थाल्यो, जनताका इच्छाहरू लर्खराउन थाले । नेताले इमान, जमान, स्वाभिमान सबै गुमाएर धनवान् मात्र बन्ने इच्छा राखे । सिङ्गो देशमा दनदनी स्वार्थको आगो दन्केको छ । इमानदारी र कर्तव्य कागजका ठेलीमा थन्केका छन् । जनताका इच्छाहरू खरानी भएका छन् । अझै पनि नेता सत्तामा बसेर भत्ता हसुर्दै बेहिसाबसँग मस्तीमा रमाउन पाए सबै ठिक, सत्ताबाट सडक झरेको भोलि पल्टैदेखि सबै बेठिक भनेर जुवारी खेल्दाखेल्दै देश विकासको गतिमा सयौँ वर्ष पछि परिसक्यो । हिजो गुन्द्रुक र ढिँडो खाएका नेता आज ह्विस्की र सुकुटी खाँदै मस्ती मार्न थाले ।

अब स्वार्थको जालोमा तेरो र मेरो भन्दै फुटेका छत्तिसे, चौहत्तरे, बाइसे, सतहत्तरे, शेरबहादुर, अटेरबहादुर, घुमाबहादुर, गुमाबहादुर, हानबहादुर, तानबहादुर, दानबहादुर, उचालबहादुर, पछारबहादुर, दलबहादुर, ढलबहादुर, टुटबहादुर, फुटबहादुर सबै जुटेर लुट्न र फुट्न छाडेर जुट्न सके अनुत्तरित प्रश्नको उत्तर आफैँ आउन सक्छ । नत्र भने हामी मूर्ख हौँ गन्तव्य हराएका, हामीलाई इतिहासले धिक्कार्ने छ ।

झापा, हाल : काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
खोपडी

खोपडी

देवीप्रसाद घिमिरे
औँलो

औँलो

देवीप्रसाद घिमिरे
पुच्छरमा झुन्डिएको ‘टर’

पुच्छरमा झुन्डिएको ‘टर’

देवीप्रसाद घिमिरे
सुन खानेहरूको कन्तबिजोग

सुन खानेहरूको कन्तबिजोग

देवीप्रसाद घिमिरे