देवीप्रसाद घिमिरेसुन खानेहरूको कन्तबिजोग
बेइमानीले कमाएको धनभित्र इज्जत होइन, बेइज्जत मात्र हुन्छ भन्ने यथार्थ सबैलाई ज्ञात भया । त्यसैले घुस दिने र घुस लिने दुवै राष्ट्रका शत्रु भएकाले घुस खाएकालाई मात्र होइन, घुसको थैलो चढाएर आफ्नो काम साध्नेहरूसमेत होसियार !

देवीप्रसाद घिमिरे :
हाम्रा बाजे नन्दलाल मलाई सधैँ भन्नुहुन्थ्यो, बाबै कहिल्यै झुठो नबोल्नू ! पाप धुरीबाट कराउँछ । फटाइँ गर्नेले कसैले नदेखी सुटुक्क गरें भन्ने ठान्दो हो तर अति भएपछि चार हुन्छ । अतिचार भएपछि असत्यको हार हुन्छ अनि सत्यको जित हुन्छ । उखानै छ- डालाले छोपे देखिन्न, थुन्छेले छोपे देखिन्न तर डोकाले छोपेका दिन सबैमा छर्लङ्ग हुन्छ । आज देशमा चर्चामा आएको तात्तातो विषय पनि साँच्चै नै डालोमा छोपिँदा, थुन्छेमा छोपिँदा कसैले नदेखे पनि या देखेर पनि नदेखे जस्तो गरे पनि अख्तियारका पारखी आँखाले अपराधी ठम्याइछाडे। आम्मै नि ! कस्तो अचम्म । कसैका घरमा एक चिम्टी नुन नभएर सारङ्गी झैँ खोक्रा पेटमा फनफनी पटुका बाँधेर रातदिन पसिना बगाउँछन् तर पनि अघाउँजी खान पाउँदैनन्। भदौको खडेरीले पटपटी धाजा फाटे झैँ हरिनाठ फाटेका खुट्टाहरू लिएर मानिस अनिश्चित भविष्यको पर्खाइमा छ । अर्कातिर आज सुनका बिस्कुट खाने नेपाली जसका खेलौना मात्र पचास हजार मूल्यभन्दा बढीका छन् रे भनेको सुन्दा मानिसले नपत्याउलान् । तर, यो कुनै काल्पनिक दन्त्य कथा होइन । यो कथा नेपालकै विभिन्न कार्यालयमा बसेर नुन खानेका पसिनाहरू सुकाएर मोटाएका सुन खानेहरूको हो । हिजोसम्म खुट्टाबाट टुप्पीसम्म हिलो उछिट्याउँदै चप्पल पड्काएर हिँड्ने सुसिलखुट्टे कर्मचारी दुईचार वर्षमै पजेरो कसरी चढे । साँच्चै नै आफैँमा अनौठो जिज्ञासाले चिमोट्छ। मलाई माधवप्रसाद घिमिरेको कविता सम्झना आउँछ-
को भन्छ र नराम्रो छु नजाती कुन बन्छ र ?
छ ईश्वर तिमीभित्र सोच रे शिव सुन्दर ।
वास्तवमा सोच्दा जसले मह काढ्छ उसैले हात चाट्छ भन्नेहरू पनि कम छैनन तर मह काढ्ने निहुँमा मौरी नै खाइदिएपछि त सोच्न बाध्य हुनैपर्यो हैन र ? आज आफूलाई विशिष्ट दर्जाको नागरिक ठान्ने नव धनाढ्यमध्ये अस्ति मात्र मेरो बखुन्डोलको एउटा स्कुलमा भेट भयो । म संयोगले सहभागी भएँ। उहाँ भन्नुहुन्थ्यो- हाम्रा छोराछोरीले छुट्टै प्रकारको सुविधा पाउनुपर्यो । शौचालयदेखि अन्य आवश्यक कुरा फरक हुनुपर्छ । टुहुरा केटाकेटीसँग राख्नु हुँदैन । हाम्रो आफ्नो छुट्टै पहिचान छ, बुझ्नुभो ? भन्दै थर्काएको देखेपछि मैले मेरो छुच्चो मन थाम्न सकिनँ। अनि सोधें- के यहाँ तिर्ने शुल्क पनि तपाईं अरूको भन्दा फरक तिर्नुहुन्छ ? मेरो प्रश्न भुइँमा खस्न नपाउँदै उहाँ कन्दनी चुँडिने गरी बम्कनुभयो हामीले किन छुट्टै पैसा तिर्ने ? अब म चुप बसें । यो पैसाको नाममा सेकिएको मान्छेलाई जहाँ जे बोले पनि हुँदो रहेछ भन्ने ठानेर म घरतिर लागें ।
आज जहाँसुकै चलेको कमिसन तन्त्रलाई अन्त्य नगरेसम्म खानेले सुनैसुन खाएर आफ्नो घ्याम्पे पेट ठड्याइरहन्छ, नपाउनेले सुन त परै जाओस् नुने जाउलोसम्म नपाएर रातदिन हाड घोटिरहेको दृश्य टुलुटुलु हेर्नुसिबाय यसको अरू विकल्प देखिँदैन तर अन्याय गर्नेभन्दा अन्याय सहने पनि कम दोषी हुँदैन भन्ने यथार्थलाई अघि सारेर न्यायको खोजीमा लागेको अख्तियारले मात्र निम्न स्तरका १५-२० जना मानिसलाई कारबाही गर्दा अकुत सम्पत्ति भेटिन्छ भने ठुला ओहदामा मस्ती मारेर आनन्दमा रमाएका व्यक्तिहरूको समेत छानबिन हुन सके अवश्य पनि यो देशमा भ्रष्टाचारको अन्त्य हुन्थ्यो होला ।
राज्यको पक्षपाती व्यवहार तर आम नागरिक अहिले विशेष एउटै स्वर निकालिरहेका छन्- यो असल कार्यले निरन्तरता पाओस् । यसै गरी नङ्ग्याउँदै जानुपर्छ भ्रष्टाचारीहरूलाई तर …। खै के भनौं ! नेपालमा आदिकालदेखि नै असल कार्यको थालनी नभएको होइन, असल व्यक्तिहरूको जन्म पनि नभएको होइन तर एक्लो बृहस्पति झुटो भने साधु शूली चढेकै छन्, चोरहरूले चौतारीमा मस्ती मारिरहेकै छन् । त्यसैले यो असल कार्यमा कुनै पनि स्वार्थको बादल नलागोस्, नेताजीको भोट बैंक नबनोस् यो घटना भन्ने सबैले कामना गरेका छन् । हिजै मात्रको कुरा हो, हामी स्याबास ठिक गर्यौ भन्ने ब्यानर लिएर नगर परिक्रमा गर्दा मानिसको भिडले तालीले स्वागत मात्र गरेनन् । के यो देशमा अब भ्रष्टाचार रोकियो त ? भन्ने प्रश्नका तीर पनि बर्सिरहे। हामीले भन्यो- यो सुरुआत हो, सुरुआत राम्रो भएको छ। राम्रो कामको सबैले स्वागत गरौं, जसले गर्दा काम गर्नेलाई हौसला मिल्छ। खराब काम गर्नेहरू हलोत्साहित हुँदै जान्छन् भन्ने उत्तर दिँदा एक जना वृद्धले असनमा ओठ लेप्याउँदै खै, जुन जोगी आए पनि कानै चिरेका त हुन् नि ! भने। बिचरा ! उनलाई हामीले चुनाव प्रचार गरे जस्तो लागेछ क्यारे ।
यसरी आज जताततै नागरिक समर्थन पाएको अख्तियारको अभियानमा स्वदेशी तथा विदेशी हस्तक्षेपको कालो छायाँ नपरोस् भन्ने कामना गरौं। देश विकास गर्नु भनेर सपथ आएका कर्मचारी मित्रहरूले रातारात महल ठड्याउने सपना त्यागेर निःस्वार्थ रूपमा राष्ट्रसेवामा लागे आज मुख छोपेर हिँड्नुपर्ने थिएन । वास्तवमा ‘हातका मैला सुनका थैला के गर्नु धनले ?’ भने झैँ आज दुनियाँका अगाडि त्यो महल, त्यो ठाँट, त्यो खेलौना, ती सुनका बिस्कुट स्वतः बिलौनामा परिणत भएका छन् । तर पनि आज शिक्षकदेखि दीक्षकसम्म, वारिदेखि पारिसम्म, लट्टा दाह्रीदेखि बुट्टे सारीसम्म, मेचीदेखि महाकालीसम्म, सज्जनदेखि जालीसम्म, श्राद्धदेखि अपुतालीसम्म, घरदेखि ससुरालीसम्म जताततै मान्छे पैसाको पछि दगुरेको छ ।
लाटासोझाको श्रम र पसिना हसुरेको छ र पनि नपुगेर सुन खाएर ढाडिएकाहरूलाई नुन ख्वाएर नछदाएसम्म यो कार्य रोकिन्न । वास्तविकता र सत्यलाई कृत्रिमताले पचाइसक्न लागेको बेला अख्तियारको यात्राले निरन्तरता पाओस् । सुन खाएर ढाडिएका पेटहरू चिसा खोरमा लामखुट्टे र उडुसको नृत्य हेर्दै अब रामनाम जपून्। अख्तियारले त्यो खोरमा निरन्तर भ्रष्टाचारी थपून् । नेपालीले सत्यमेव जयतेलाई निरन्तर जपून् । अब नाका नाकामा बसेर आँखा छल्दै भुँडी भर्नेहरू जनताको रगत र पसिनामा रजाइँ गर्नेहरू, कृपया मुख छोपेर हिँड्ने दिन आउँदै छ । बेइमानीले कमाएको धनभित्र इज्जत होइन, बेइज्जत मात्र हुन्छ भन्ने यथार्थ सबैलाई ज्ञात भया । त्यसैले घुस दिने र घुस लिने दुवै राष्ट्रका शत्रु भएकाले घुस खाएकालाई मात्र होइन, घुसको थैलो चढाएर आफ्नो काम साध्नेहरूसमेत होसियार !
०००
थप्पड (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह)
Subscribe
Login
0 Comments
Oldest






































