सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खोपडी

एउटा जाबो कुर्सी नियन्त्रण गर्न नसक्ने हाम्रा नेताहरूलाई कसैले खोपडी भर्ने अलिकति गिदी पैँचो दिए हामी निमुखा जनताका पनि दिन फर्कन्थे कि ? साँच्चै गजब छ यो खोपडीको करामत !

Nepal Telecom ad

देवीप्रसाद घिमिरे :

झुपडीमा रमाउनेदेखि दिनलाई रात र रातलाई दिनमा परिणत गरेर कमाउनेसम्म, फुटपाथमा भविष्य खोज्नेदेखि दरबारमा पलङ रोज्नेसम्म सबैको आआफ्नै प्रकारको खोपडी हुन्छ । मानिसको सबैभन्दा माथि के हुन्छ ? भन्दा कसैले आलु औँ खुइलिएको तालु भन्लान्, कसैले हिउँझैँ सेताम्य देखिने कपाल भन्लान्, कसैले टाउको भन्लान्, कसैले खप्पर भन्लान् । सबैका तर्क मिल्दाजुल्दा जस्तै देखिए पनि खाँटी कुरा चाहिँ मानिसको सबैभन्दा माथि खोपडी हुन्छ । त्यस खोपडीलाई ढाक्नलाई मात्र त्यहाँ अन्य तत्त्वको उपस्थिति देखिन्छ ।

खोपडीलाई खप्परको संज्ञा दिएर कसैले तेरो त खप्परै बलियो बा। गर् अब मस्ती गर् ! भन्दै धाप मारेको देखिन्छ अनि चर्चित नेपाली उखानको बखान गर्दा, भाग्यमानीको खप्परै ठुलो, अभागीको अर्थोकै ठुलो पनि भन्छन् । हेर्दा त मानिसका टाउका सामान्यतया सबै उस्तै देखिन्छन् तर समाजमा उसले कमाएको इज्जत मान, प्रतिष्ठा, ख्याति आदिका आधारमा खप्परको व्याख्या गर्ने प्रचलन हाम्रो समाजमा व्याप्त छ ।

यो खप्पर वास्तवमा खप्परै हो । खप्परमा भए भगवान्ले पनि छप्परै फोरेर दिन्छन् रे । कसैको खप्परमा काकताली कसैको खप्परमा अपुताली, अर्का थरीको खप्परमा केवल अपजस र गाली मात्र लेखेर अन्याय गर्ने भावीलाई नेपालका नेताजीहरूले भेटे भने त विदेशीसँग दान मागेर भए पनि घुस खुवाएर आफ्ना खोपडीमा चाहिँ श्री र विपक्षीका खोपडीमा सबै पिचिरी लेख्न दबाब दिँदै भोक हड्ताल सुरु गर्थे होलान् । तर विचरा ! उनीहरूले त्यो पिलन्धरे भावीलाई देखेकै छैनन् र पो यो अचम्मको खोपडीसँग टक्कर लिन खोज्दा बाउन्न हन्डर त्रिपन्न ठक्कर खाएर चक्कर लागेपछि माघे जाडोमा मकर नुहाउन हिँडेका नेताजी अक्करको भिरमा चिप्लिएर भिरको चिन्डो झैँ पो भएछन् ।

यो खोपडीरूपी खप्परको वास्तविकता चाहिँ के हो त भनेर जति घोत्लिए पनि चित्त बुझ्दो उत्तर नपाएपछि अब मेरा खप्परले पनि काम देला जस्तो लागेन । यसलाई रिपेयरिङ गर्न भारत, चीन, अमेरिका कतै लान र जान सके देश पनि हेरिने मुख पनि फेरिने लोभले विदेश मन्त्रीलाई बिन्तीभाउ गरेको त बाबै उल्टै मै लिखुरेसँग चन्दा मागेर हैरान भनेको ! यो चन्दाको धन्दामा लागेर भरे आफूले आफ्नै बारीमा फलाएको बन्दामा पनि आयकर तिर्नुपरेपछि मलाई अर्थमन्त्रीको खोपडीलाई त तुरुन्तै धन्यवाद दिन मन लागेको छ ।

यो खप्पर, खोपडी, ललाट, भाग्य, निधार, भाग्यको भकारी, जान विज्ञानको टोकरी, तनावहरूको पोखरी, पीडाव्यथाहरूको पुञ्ज, समस्यै समस्याको खानी, समाधानको मानी, कतै लोभी, कतै दानी, नभए गरिब भए भाग्यमानी साँच्चै अचम्मको अङ्गको खोपडी । आजको एक्काइसौ शताब्दीमा हुँदा खानेदेखि हुनेखानेसम्म, गरेर खानेदेखि खाएर गर्नेसम्म, मरेर बाँच्नेदेखि ज्यूँदै मर्नेसम्म, सबैको खोपडी फरक सोच विचारमा रङ्मगाएको हुन्छ । शिक्षकदेखि दीक्षकसम्म, नेतादेखि अभिनेतासम्म, रक्षकदेखि भक्षकसम्म सबै खोपडीको प्रतिस्पर्धामा जुटेका हुन्छन् । कहिले जुटे जुटे जस्तो गर्छन्, कहिले फुटे फुटे जस्तो गर्छन् । विकास निर्माणमा सधैँ फुट्छन् । खाने बेलामा सबै जुट्छन् अनि मातृभूमिका स्वाभिमान र स्वाधीनता हिह्वस्कीमा चुस्की लगाउँदै पिउन थाल्छन् तनतनी ।

मान्छे खोपडीले बाँच्छ खोपडीकै करामतले झोपडीलाई दरबार बनाउँछ । थोत्रे चप्पल पजेरोमा परिणत हुन्छ । खान नपाएर दाप्सिएको पेट गजभुँडीमा परिणत हुन्छ । साँच्चै गजब छ यो खोपडीको करामत ! भनिन्छ नि, भाग्यले दिएको कर्मले ठेलेको ।

मान्छेले आफ्नो भाग्य आफैँले लेख्न सक्नुपर्छ । अर्काले लेखेको भाग्यमा विश्वास गर्नेहरूले आफैँ दुःख पाउनु दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले भने झै हुन्छ । खप्परमा लेखेको कसैले देख्दैन तर व्यवहारमा भोगेको सबैले देख्छन् भने झै भाग्यमा लेखेको छ भनेर डोकामा गाई दुहुन थाल्यो भने अन्त्यमा थोत्रे डोकाको पिँध बाहेक हात लाग्नेवाला छैन ।

विश्वमा मानव खोपडीले आकाशमा विजय गर्‍यो, जमिनमा पानीमा विजय प्राप्त गर्दै हावाको तरङ्ग, सूर्यको प्रकाश समेत आफ्नो नियन्त्रणमा लिन सफल अवस्थामा एउटा जाबो कुर्सी नियन्त्रण गर्न नसक्ने हाम्रा नेताहरूलाई कसैले खोपडी भर्ने अलिकति गिदी पैँचो दिए हामी निमुखा जनताका पनि दिन फर्कन्थे कि ? जय खप्पर । जय खोपडी !

०००
काठमाडौं
थप्पड (२०७३)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
औँलो

औँलो

देवीप्रसाद घिमिरे
पुच्छरमा झुन्डिएको ‘टर’

पुच्छरमा झुन्डिएको ‘टर’

देवीप्रसाद घिमिरे
सुन खानेहरूको कन्तबिजोग

सुन खानेहरूको कन्तबिजोग

देवीप्रसाद घिमिरे
थुतुनु

थुतुनु

देवीप्रसाद घिमिरे
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी