साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कथनी एक करणी अनेक

Nepal Telecom ad

प्रिय लेखकज्यू,
सप्रेम सम्झना !
म तपाईं च्याँच्याँ गरेको ठाउँमा कुसल–मङ्गलका साथ जीवनरथको सारथि बनेको छु । त्यहाँ तपाईं पनि मैले तोते बोली बोलेको र बामे सरेको ठाउँमा स–कुसल रहनुभएको समाचार समेटिएको पत्र भर्खरै मात्र प्राप्त गरेँ । पत्रमा मेरा बारेमा त्यहाँ थाहा पाएका दर्जनौँ कुरा समेट्नुभएको रहेछ । म पनि तपाईंका बारेमा मैले यहाँ थाहा पाएका एकाध कुराहरू समेट्ने जमर्को गर्दै छु ।
अँ त लेखकज्यू ! तपाईं हरिनारायण झा, बी.बी.एस. सिद्धयाएर शिक्षण पेशामा स–परिवार पहाडी इलाकामा पुग्नुभएको जागरुक युवक ! तपाईं हिम्मतिलो मान्छे ! मनमा जे छ त्यो रिठ्ठो नबिराई ओछ्याइदिने मान्छे ! दूधको दूध र पानीको पानी छुट्याउने मान्छे ! ‘जे कहैछी, ओही करैछी आ जे करैछी, ओही लिखैछी’ (जे बोल्छु, त्यही गर्छु र जे गर्छु, त्यही लेख्छु) भन्ने मान्छे । मनमस्तिष्कमा ज्ञान–विज्ञान र खेलकुदका बारेमा विशाल जानकारीको भण्डार भएको मान्छे ! समाजमा हुने गन्दे खेल विरुद्ध दाह्रा किटेर लाग्ने मान्छे ! समाजमा अक्षम्य अपराधकर्म गर्ने व्यक्ति आतङ्ककारी भएको ठहर गर्ने तर अरूले आतङ्ककारी भनेकालाई सो विल्ला भिराउन सोचविचार गर्ने मान्छे ! राजनीतिलाई असफलहरूको गन्तव्यहीन खेलका रूपमा चित्रण गर्ने मान्छे ! मान्छे मानवको कल्याण नगर्ने हो भने त्यो मान्छे नै नहुने भन्ने मान्छे !
पत्रमा ‘पहाड उजरल–फेसन आ जाँड–रक्सीसँ’ (पहाड भत्कियो– फेसन र जाँड–रक्सीले) भन्नुभएको रहेछ । बदलामा म भन्दै छु– ‘तराई/मधेस उजरल–दहेज आ भोजभत्तेरसँ’ (तराई/मधेस भत्कियो–दाइजो र भोजभत्तेरले) । अर्कातिर ‘हमर बेटाके निक नाम ताकि दिअ न’ (मेरो छोराको राम्रो नाम खोजिदिनुस् न ।) समेत भन्नुभएको रहेछ । भाषा–साहित्यकै खेती गरेर बाँचेको हुनाले शब्द भनिदिन मलाई गाह्रो छैन । यस सन्दर्भले मलाई ५÷६ वर्ष अघिको ‘बेहुला बजार–मुर्दावाद’ शीर्षकको तपाईंको लेखको सम्झना भयो । पहिले त्यसै लेखका कुराहरू अघि सार्छु । ‘बेहुला बजार–मुर्दावाद’ लेखका लेखक भएकोले मैले यहाँ ‘हरिनारायणजी’ भनेर सम्बोधन नगरेको हुँ । यो नामभन्दा लेखक निकै माथिल्लो हैसियतमा पर्छ ।
त्यसबेला तपाईंको कलमले बालेको थियोे– ‘मेरो समय त्राहीमाम छ । मान्छेबाट डराएको छ । व्यापारबाट तर्सिएको छ । मान्छेले मान्छे किन्ने दासप्रथाको झैँ चलन दिनदिनै मौलाएको छ । पशुहटियामा जम्मा पारिएका पशुहरूको मोलमोलाइझैँ वरपक्षले कन्यापक्षलाई तौलन्छ । कन्यालाई मात्र तौले त ठीकै भन्नु, उसका मातापिताको आर्थिक स्थिति समेत ढकतराजुले तौलन्छ । र, दाइजो दिनुपर्ने नगद एवम् जिन्सीको लामो सूची थम्याउँछ । कन्या पक्ष पनि तौलन्छ, वरलाई मात्र तौलदैन, कुन चाहिँ कम दाइजो लिने खान्दान छ, त्यसैलाई छोरी सुम्पन्छ । हाकाहाकी मोलतोल हुन्छ । माग र पूर्तिको दरो र खरो अन्तरक्रिया हुन्छ । ठ्याक्कै मिलनविन्दु फेला पर्छ । नपरे केटाले केटी रुचाए पनि, केटीले केटा मन पराए पनि विवाह हुन्न ।
नानाभाँतीका प्रपञ्च फत्ते गरी एउटाले छोरी पठाउँछ, अर्काले भित्र्याउँछ । भोजभत्तेरहरूको कहिरन गरिरहनुपर्दैन । त्यसैका लागि त ठूलो जनसङ्ख्याले जन्म–विवाह–मृत्युजस्ता संस्कारलाई चासोको विषयका रूपमा लिन्छ । पठाउने र भित्र्याउने यी दुई कामका लागि सयौँ जनाले दुःख पाउँछन् । दुईचार दिन दुःख पाउनु त सामान्य कुरा हो । कन्याका मातापिताले कति दिनदेखि जोहो गरेर राखेको धन क्षणभरमै स्वाहा हुन्छ । त्यसको सही उपयोग भए त ठीकै छ । छोरालाई मात्रै होइन, छोरीलाई समेत अंश दिइयो भनेर चित्त बुझाउनू ! सही उपयोग विरलै हुन्छ । लुटको धन, फुपूको श्राद्धजस्तो ठानेर सित्तैको धन यताउता गर्दागर्दै त्यत्तिकै उड्छ । अझ भनेजस्तो जिन्सी र चाहे जति नगद पाएनन् भने त्यसकै निउँमा दुलहीहरूको जीवन रछ्यानको जुठाभाँडाकँुडासरह हुन्छ । छोरी जन्मनासाथ शिर निहु¥याउनु र छोरा पाउनका लागि तीर्थ–ब्रत, पूजापाठ गर्नु यहाँको एउटा पूरातनवादी शैली छ । समय हिँडेबमोजिम मान्छे हिँडेका छन् तर उनीहरूको सोच भने पुरानै छ । आमूल क्रान्तिको आवाज बुलन्द नगरी भएको छैन । छोरो बिक्री गर्ने बाउ– मुर्दावाद ! वर किन्ने ससुरो– मुर्दावाद ! दुई मनको पवित्र मिलन– जिन्दावाद, प्रगतिशील विवाह– जिन्दावाद !’
लेखकज्यू ! तपाईंको लेखका सबै शब्द यिनै हुन् भन्न त सक्दिनँ तर आशय भने शतप्रतिशत यही हो भन्ने ठोकुवा गर्छु । त्यस बेला मलाई तपाईंजस्तो जागरुक र चेतनशील युवकले पक्कै नवीन क्रान्तिको उद्घोष गर्नुहुन्छ भन्ने लागेको थियो । परिवर्तन गर्नुछ भने आफैँबाट सुरुआत गर्नुपर्छ भन्ने भनाइ तपाईं पूर्णरूपेण लागू गर्नुहुन्छ भन्ने आश जागेको थियो । समाज अग्रगतिको दिशातिर उन्मुख भएको हेर्ने रहर थियो । नयाँ पिँढीले पुराना पिँढीका कमीकमजोरी सुधार्छ भन्ने लागेको थियो । त्यसो त के–के लागेको थियो, थियो । ती सम्पूर्ण कुराहरू बेलुन फुटेझैँ एकाएका फुटे । विचारले बाँधिएका सारा बन्धनहरू चुँडिए । आशा निराशामा परिणत भयो । तपाईंको चित्त शुद्ध थियो । त्यही शुद्धतामा द्रव्यमोहले वास गरेछ । घरेडी जोड्दा ऋण लागेछ । त्यही ऋण चुक्ता गर्न विहे गर्नु भएछ । अरू मान्छेलाई बिहे गर्दा ऋण लाग्छ तर तपाईंलाई भने बिहे ऋण चुक्ता गर्ने अवसर भएछ । मोटो नगद र आधुनिक सुविधाका जिन्सी सामग्रीले घर भर्नुभएछ । गाँठे ! तपाईं त विश्वासघाती हुनुहुँदो रहेछ । तपाईंभन्दा अर्को खेलाडी यताउता विरलै होलान् । कथनी एक ठाउँमा छ, करणी भने अर्कै ठाउँमा पुगेछ ।
लेखकज्यू ! तपाईं कस्तो लेखक ! मन नभए अक्षरलाई किन दुःख दिनु ! बोलीलाई व्यवहारमा परिणत गर्न नसके भावना किन सार्वजनिक गर्नु ! आफू भएर बाँच्न र रहन सकिन्न भने किन ‘हरिनारायण हुँ’ भनेर कुर्लनु ! ‘म दहेजनारायण हुँ’ भनेर कुर्लंदा भइगयो नि । भ्रमको वीउ छरेर समाजलाई दुषित पार्ने अधिकार तपाईंलाई छैन । तपाईंले ससुराको धन त पाउनुभयो तर मन गुमाउँनुभयो । हाम्रो मित्रता त पाउँनुहुन्छ तर विश्वास गुमाउँनुभयो । तपाईंको देखिने जिब्रो एक होला तर व्यवहार गर्ने जिब्रो अनेक रहेछ ।
लेखकज्यू ! तपाईंले विहेपश्चात् लामो स्पष्टीकरण दिनुभएको थियो– ‘समाज जे कहैछै ओ मानैल परत । दहेज लेबे करब कहने नही छी । दिअवलाके के रोकैल चाहत ! नही लैब कहिक बाह्र हात पिछा के परत ! देलक त अपने बेटीक सुखक लेल देलक । हमर तरफसँ एकर दुरुपयोग करैक कोनो बाते नही रहल । हमरा ल्यापटप, कम्प्युटर, मोटरसाइकल, फ्रिज, पलङ्ग आदित्यादिके जरुरत छल । विराटनगरमे दू कठ्ठा घरेडी जोडैल परल छल । ई सब कुछ पूरा करैल हमरा कर्जा लगै छल । अपना कर्जामे डुबनाई ओही सभक बेटीक सेहो दुःख होइत । ओही बात बुझि’क स्वेच्छासँ जे देलक ओ सब कुछ खुस भ’क स्वीकार करलौँ । एतैक करलौँ त कि गलती करलौँ । दहेजक लेल हम कोनो भी मोलतोल नही केने छी । माग आ पूर्तिके अन्तरक्रियामे सामेल नही भेल छी । लेनदेनको माध्यमसँ विआह होएल परत कहलगेल विचारके हम सब दिन विरोधी छी ।’ (समाजले जे भन्छ, त्यो मान्नै प¥यो । दाइजो लिन्छु भनेको हैन । दिनेलाई कसले रोक्न चाहन्छ र ! लिन्नँ भनेर बाह्र हात पछि को सर्छ र ! दिए त उनीहरूकै छोरीको सुखका लागि दिए । मेरो तर्फबाट त्यसलाई दुरुपयोग गर्ने कुरा आउँदैन । मलाई ल्यापटप, कम्प्युटर, मोटरसाइकल, फ्रिज, पलङ्ग आदित्यादिको जरुरत थियो । विराटनगरमा दुई कठ्ठा घरेडी जोड्नु नै थियो । ती कुरा सम्पन्न गर्दा मलाई ऋण लाग्थ्यो । म ऋणमा डुब्नु भनेको उनीहरूकी छोरीले समेत दुःख पाउनु हो । त्यही बुझेर होला स्वेच्छाले जे दिए, मैले पनि त्यस सम्मानलाई उचित कदर गर्दै लिएँ । यसो गर्दा मैले के बिराएँ ! दाइजोका लागि मैले मोलतोल गरेको छैन । म माग र पूर्तिको अन्तरक्रियामा सामेल छैन । म लेनदेनको माध्यमबाट विहे हुनुपर्छ भन्ने विचारको सब दिन विरोधी हुँ ।)
हो लेखकज्यू ! तपाईंका कुरा मीठा छन्, गुलिया छन् । आखिरमा तपाईं लेखक न पर्नुभयो । लेखकसँग शब्दरूपी जादुको छडी हुन्छ, त्यत्तिकै भनेको रहेनछ । अझ त्यो स्थिति सिर्जना गर्न के–कस्तो भूमिका खेलियो होला भन्ने वारेमा समाजले सहजै अनुमान गर्न सक्छ । मुलुकी ऐनका नियम/उपनियमबाट आफू चोखिने कति राम्रो काइदा ! फाइदाका लागि दिमाख लगाउन के कम हुनुहुन्थ्यो ! जे भयो, भइ गो ! मैले अब भनेर केही हुन्न । सबैलाई सबै कुरा थाहा छ । नीतिनिर्माता र संरक्षकहरू नै दलाल छन् । देखाउने दाँत एक किसिमको छ, चपाउने अर्कै किसिमको छ । मुखमा राम–राम जपिन्छ तर बगलीमा छुरा रहन्छ । गन्थन धेरै गरियो । मनमा आघात पु¥याइयो । चाहेर हैन, तीतो–सत्य केलाउँदा यस्तै हुँदो रहेछ ।
लेखकज्यू ! अब भने वास्तविक प्रगतिको कुरा गरौँ । संसारको रीति बसाल्न सक्नुभएछ । छोरो जन्माउनुभएछ । यस सुसमाचारको जानकारी दिँदै मलाई छोराको नामाङ्करण गर्दिनु प¥यो भन्नुभएको रहेछ । आजकल नयाँ–नयाँ नाम राख्ने फेसन चलेको छ । पूर्वीय संस्कृतिअनुरूप नाम नराखेर पाश्चात्य जगत् चहार्ने चलन चलेको छ । म न यताको हुँ न उताको हुँ । कतै न कतैको हुँ । हुँ त सबैतिरको हुँ । हुइनँ त कतैको पनि होइन । म कसैको नामाङ्करण गर्दै हिँड्ने पेशेवर पण्डित पनि होइन । म नाम राखेर आफूलाई ठूलो मान्छे बनाउन चाहन्न । तर, तपाईं मित्र भएको नाताले नेपालीपन झल्कने नाम राखिदिन आग्रह गर्नुभएको रहेछ । मसँग नामको लामो सूची छ । अहिले पनि मसँग गोडा पाँचेक शब्दकोश छन् । तिनमा लाखौँलाख शब्द छन् । नामवर्गमा मात्रै हजारौँ शब्द छन् । एउटा नाम मज्जाले राख्न सकिन्छ । आफूले राखेको नाममा आफैँ सन्तुष्ट हुनसक्नुपर्छ । पछि छोरो बुझ्ने भएपछि प्रतिकार गर्न चाहेछ भने चाहिँ छुट दिनुपर्छ । आफूलाई कुन नामबाट सम्मानित गराउने, त्यो वैयक्तिक मामलाको कुरा हो । यस सन्दर्भमा मेरो महत्वाकाङ्क्षाको मूल्य छैन । अन्तिम निर्णय तपाईंको हो । विनाहस्तक्षेप अन्तिम निर्णय लिनुहोला । म चाहिँ तपाईंको छोरोले बाबुले बिराएको बाटो सपारेर नवीन अध्याय सुरुआत गरोस् भन्ने चाहन्छु । उसले महोत्तरीको मुसहर्नियामा बसेर सोलुखुम्बुको ओलाङ्गचुङगगोलामा प्रभाव जमाओस् । ऊ अपूर्व मौलिक विलक्षणले युक्त होओस् । न्यायको मार्गबाट अन्यायलाई दबाओस् । आफू जेजस्तो छ, त्यस्तै मौलिक बन्नमै रमाओस् । अरूको देखासिकी गर्ने र आफ्नोपन मारेर परतन्त्र स्विकार गर्ने बन्दै नहोस् । आफ्नो हृदय खोल्न सकोस् । आफूभित्रको कुरा जगत्लाई देखाओस् । ऊ ऊध्र्वगामी पथमा फड्को मार्ने मान्छे बनोस् । सानातिना–झिनामसिना बाधा–व्यवधानबाट नअलमलियोस् । जटिल र कराल पर्खालको भेद खोल्न सकोस् । त्यसको कमजोर भागबाट कोतर्दै मुटु–कलेजो हात पार्न सफल रहोस् । दृढ विश्वासले पाइला अघि बढाउन सकोस् । इच्छ्याएको गन्तव्य सहजै चुमोस् । कथनी एक तर करणी अनेकको काम कदापि नगरोस् । कथनी र करणीमा तालमेल गर्दै शिखरतर्फ लम्कोस् । बस् यत्ति नै !
अन्तमा, लेखकज्यू ! यस पत्रले उठाएका तीता–टर्टा भावनालाई मीठो मानेर ग्रहण गर्दिनुहोला । सुदामाको कोसेलीमा आएको कनिका कृष्णका लागि अमृतसमान भएको थियो । मेरा यी शब्दोपहार समेत हृदयतः स्वीकार्य रहनेछन् भन्ने आशामा छु । अस्विकार गरिँन वाध्य हुनुपर्दाको दुःखद महसुसका लागि क्षमा प्रार्थी छु । धन्यवाद !

तपेश्वरी–१, गल्फडिया, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छलकपट

छलकपट

नन्दलाल आचार्य
आधुनिक नेता चालिसा

आधुनिक नेता चालिसा

नन्दलाल आचार्य
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x