चन्द्र गुरूङनयाँ कविता कोर्दै थिए कविज्यू
कवितामा–
आकाश
बादल
पुतली
फूल
बर्सात
र, थिए अन्य अनेक–अनेक ।
कविले
आकाशको अनुहार सिँगार्न
आकाशैभरि फूलबुट्टे बादल झुन्ड्याइदिए
गज्जब देखियो आकाश !
कविले
बादलमा प्राण भर्न
पुतलीको उन्मुक्त उडान थपिदिए
बादल निर्बन्ध उड्न थाल्यो ।
पुतलीलाई झन् सुन्दर बनाउन
पुतलीको जिउभरि
फूलको रङ्ग छर्किदिए कविले ।
र,
फूल रमाएको हेर्न
फूललाई बर्सात्को रिमझिम सुनाए
फूल रमाउँदै नाच्न थाल्यो ।
कविले,
छिन–छिनमा रुन खोज्ने बर्सातलाई
निस्सिम आकाश देखाए
बर्सात् सुरिलो गुनगुनाउन थाल्यो ।
यसरी–
आकाश र बादल
बादल र पुतली
पुतली र फूल
फूल र बर्सात्
बर्सात् र आकाशलाई एक–आपसमा जोडे जस्तै
एउटा कविले
थुप्रै–थुप्रैबीच स्थापना गर्छ प्रेम ।
Subscribe
Login
0 Comments
Oldest








































