साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरस्कारको चारो छर्नुहोस्…

Nepal Telecom ad

केही वर्ष यता नेपालमा पुरस्कार नामक दुवाली थापेर लेखक रुपी माछोलाई बल्छीमा पार्ने चलनको जोडदार ढङ्गले विकास भएको छ । यस अवधिलाई पुरस्कार थाप्ने कामको स्वर्णीम काल भन्दा पनि बढी हुँदैन । कुनै बेला एउटा बबुरो मदन पुस्कार मात्र थियो नेपालभरि । त्यसको इजत बेग्लै थियो । आज त्यसलाई लफन्ड्याउने खालका घागघाग पुरस्कारहरू देशभरि छरपट्ट उम्रिएका छन् । करोडिमलहरूले उमारेका छन् । पुरस्कारको पिण्ड बटारेर लेखकहरूको तर्पन पानी र सराद्धे गर्न बसको यी लोट्टोका संस्थापकहरू मानौं भारतको गयाका लम्बरी पण्डाहरू हुन् जसले लेखकको पिण्डपानी गर्छन् र आफ्नो भित्री अदृश्य स्वार्थ सिद्ध गर्न धामा गरिरहेका हुन्छन् । तिनका स्वार्थको रहस्य जोसुकैलाई थाहै हुँदैन । यिनीहरूको भित्री रहस्य बेग्लै भए पनि अरुलाई पुरस्कार थापेर लेखकहरूको खल्ती भरिदिन्छन् र उपकार गर्दछन् भन्ने कुरा मात्र थाहा हुन दिन्छन् । तर यिनको भित्री स्वार्थ बेग्लै हुन्छ जुन कालो र स्थायी रुपमा यिनीहरूमै रहेको हुन्छ जसलाई कसैले पनि जान्दैन । यिनीहरूले लेखक कलाकारहरूलाई पुरस्कार दिएर तिनको उपकार गर्दछन्, तिनलाई प्रोत्साहन गर्दछन्, भाषा साहित्यको उन्नतिको काम गर्दछन् । सार्वजनिक रुपमा वा स्थायी रुपमा यिनले यति कुरा मात्र थाहा दिन्छन् । तर आफ्नो अथाह कालो सम्पत्तिबाट लेखक नामक सुगालाई चारो छर्छन्, कदाचित् लेखक वा कलाकारहरूलाई तिनले हालेको आहारा परिगयो भने ती लेखक कलाकारहरूलाई पक्डेर मुठीमा राख्छन्, त्यो लेखक मुनियाँलाई पिन्जरामा हाल्दछन्, अनि ‘गोपीकृष्ण को ?’ भन्न लगाउँछन् । लेखक कलाकार कतिखेर किनियो, कतिखेर थुनियो उसले पत्तै पाउन्न । पिन्जरामा हालिएको सुगा बबुरो के बोलोस् ! ऊ ता पानी र चारो पाएकोमा दङ्गदास परेर आफ्नो चुच्चो बुच्चो पार्नमा मस्त हुन्छ । ऊ ‘गोपीकृष्ण को ?’ भन्न अराए त्यही भन्छ र ‘राधाकृष्ण बोल’ भन्न अराए त्यही भन्छ । पिजरामा थुनिएको तोलाले के नै भन्न सक्छ ! तोलालाई पिजरामा थुन्नेको यो करतुत वा तिनको यो भित्री स्वार्थ चुचो बुचो नभइन्जेल पनि बुझेको हुन्न । अहिले नेपालमा खुलेका बम्पर पुरस्कारहरूले लेखक रुपी सुगाहरूलाई मजासँग ‘गोपीकृष्ण बोल’ को रटाइ रट्न लगाइरहेका छन् ।

मरेका मानिसको मृत लास चिहानबाट उधिनेर खाली कागजमा ल्याप्चे लगाएर जुटाएको प्रमाणका आधारमा मौजाका मौजा हडपेर धनी भएका बन्धुहरू को को हुन् अझै पनि कसैकसैलाई थाहा छ । तिनले सम्पत्ति, जग्गाजमिन र पत्नीहरू कसरी बटुलेका हुन् भन्ने कुरा पनि केहीलाई अहिलेसम्म थाहा छ । सय लेख्ता हजार र हजार लेख्ता लाख बनाएर आसामीलाई उठीबास गर्ने जमिनदारहरू अझ पनि साँढे झैं उघ्राएर देशका तराई पहाडतिर फिँज गजगजी काढिरहेका छन् । तिनै आसामीहरूको तमसुकमा शून्य थपेर मौजा हडप्ने वा चिहान खनेर आलो लासको ल्याप्चेको प्रमाण जुटाएर सिरीसम्पत्ति सोहोर्ने भालुभुत्तेहरू अहिले पुरस्कार थाप्नमा व्यस्त छन् । लेखक कवि कलाकारहरूलाई आफ्नो गुणगान गराउन मस्त छन् । अचेल भोलि तिनैले पुरस्कार थापेर कवि लेखकहरूलाई जोताइरहेका छन् । मानौं लेखक पनि उसको गोठमा बाँधेको बयल हो, जो त्यही मालिकले जतिबेला घाँस चोकर हाल्छ त्यही खायो अनि उसले जतिबेला गाडामा छाँद्छ त्यतिबेला गाडा तान्न नारियो र काँधमा जुवा हाल्यो । मानौं लेखक भनेको उनका लागि सोत्तर हो, काम्लो हो, बेस्या हो जो पुरस्कारको दुवालीमा फस्छ र मालिकले जहाँ सुत्न लगायो त्यहीं सुत्तछ, जहाँ ओछ्यायो त्यहीं ओछिन्छ, जहाँ बसायो त्यहीं बस्छ र जहाँ उभ्यायो त्यहीं उभिन्छ । लेखकहरू पनि हाम्रोमा करिया हुन्, लत्तरखाजी हुन् र सोत्तर हुनमा मारामार गरिरहेका छन् ।

जमिनदारको रातो ढड्डामा हिसाब किताब राख्ने पटवारी हुन्छ, उसले पनि एउटा मुनिम राखेको हुन्छ । लेखकहरू जमिनदारको चाकरीमा पुग्नुको साटो पटवारीको मुनिमको रुपमा रहने त्यही नोकरको चाहिं चाकरी गरेर पुरस्कारको प्राप्तिमा राल काढिरहेका हुन्छन् । मुनिमको पुच्छरका झिँगा धपाउनमा आपूmलाई गौरवशाली ठानिरहेका हुन्छन् । पटवारीले समेत लेखलाई सुत् भने सुत्ने र उठ् भने उठ्ने शैली बोकेर जमिनदारको सेवामा पुग्ने बाटो खनिरहेका हुन्छन् । यी पुरस्कारको लोभमा परेका मुनियाँहरूलाई जमिनदारले फालेको बिकर हात परेपछि उनीहरूको करिया हुनु पर्ने कुरामा उनीहरूलाई थाहा पत्तो नै हुन्न । पुरस्कारको काट्टो पाएपछि के के न पायौं भनेर दङ्गदास भएका यी लेखकरुपी मुनियाँहरू पनि ‘गोपीकृष्ण को ?’ को आवाजलाई अझ बढी तेज पारेर बास्न थाल्छन् कुर्लन थाल्छन् ।
मेरा एक मित्र छन् । अरुले मानोस् नमानोस् उनी आफूलाई साहित्यकारको रुपमा मान्छन् । केही पत्रपत्रिकाहरूका ‘सम्पादकलाई चिठी’ नामक स्तम्भका माध्यमबाट उनले साहित्यिक यात्रा थालेका हुन् । उनलाई ‘नारदबहादुर कुन्ती बसुन्धरा सुभगा कल्याणी मगनीदेवी सुगन्धावती’ साहित्यिक पुरस्कारका संस्थापक करोडीमल कुँवरजितसिंहज्यूले उक्त पुरस्कारको निर्णायक भइदिन आमन्त्रण गरेछन् । बडो प्रसन्न मुद्रामा मलाई सुनाए ।

“उसो भए निर्णयक नै भइदिनु भयो !” मैले उनलाई भनें । अझै भनें– “अँ साहित्यकारको भाग्यको फैसला नै गरिदिनुभयो । जे भयो, राम्रो भयो । पुरस्कार चैं कसकसलाई दिनुुभयो त ?” मैले सोधें ।
“निर्लय मैले के गर्नु परोस्, उनीहरूले नै गरिहालेछन् । दुइटा गजल लेखेकोले तिनका मामाको छोराले पनि मलाई नै दिनु पर्छ भनेर उनको थपनाको पुरस्कार मागेर छुट्टी गरेको रैछ । तर पालो चैं उनीहरूकै फुपूका छोरालाई दिनु पर्ने थियो अरे । यसो भएपछि ता अब निर्लय नगरी धर पाएनछन् । अनि मलाई सैछाप गर्न बोलाका रान् । गरिदिएँ सही छाप तिनले लेख्या रातो ढड्डा निर्लय पुस्तिकामा । अनि पढ्काएँ एक हजार रुप्या ।”
“ए त्यसो हो भने ता बधाई छ है !” मैले पनि अलिकति व्यङ्ग्यमिश्रित आवाजमा भनें ।
“मित्र व्यङ्ग्य नकस न । त्यस्ता ठाउमा सही धस्दैमा हजार रुप्या झर्छ भने म ता हजारौं ठाउँमा सही धस्काउन सक्छु । बुझ्यौ ?” उनले भने, जो बडो स्वाभाविक लाग्ने खालको थियो । म अवाक् भएँ । अझै गजबको कुरा सुनाए उनले— “बुझ्यौ, आगामी सालको पुरस्कार ता उनका मामाको छोरालाई भइहाल्यो, त्यसपछिको कुनै बेला छेकपारेर मलाई पनि पुरस्कार दिनुपर्छ भनेर मैले अग्रिम रुपमा पुरस्कार मागेको छु । करोडीमल कुँवरजितसिंहज्यूले आस्वासन पनि दिनुभएको छ ।” उनले बडो प्रसन्न मुद्रामा यो कुरा भने । मलाई भने उनको यो जुक्ति देखेर उनको तारिफ गर्न मन लाग्यो ।
“ए निकै बार्गे्निङ गर्नु भएछ । राम्रो कुरा हो । कसैसँग केही कुरा नमागी कहाँ पाइन्छ र सित्यैंमा !” मैले भनें ।
“बरु पराघौंको पुरस्कार मलाई दिने हो भने अहिलेलाई यो निर्लय गरेको पैसो पनि लिन्नसम्म ता भनिहेरें तर करोडीमल कुँवरजितसिंहज्यूले पुरस्कार त छँदैछ नि । यो निर्लय गरेको पैसो ता लिनै पर्छ भनेपछि के लाग्यो र मेरो ! लिनै प¥यो अब” उनले भने । यो उनको जुक्ति ता झनै तारिफ गर्न लायकको थियो ।

हो त लेखकहरू नै भजन गाएर पुरस्कारको भिक्षा थापिरहन्छन् भने निर्णायकले केको भद्रो हेरिरहनु परोस् । मैले सोचें । द्रौपदी, कुन्तीदेवी, मेनका रम्भा, विभीषण, दुर्जाेधनहरू आफ्नो आर्जनबाट पुरस्कारको राशी राख्तछन् भने त्यो पुरस्कार कसलाई दिने, कसरी दिने, कसलाई निर्णायक बनाउने, कति पुरस्कार दिने, के दिने, दिएर के लिने आदिको निर्णय पनि उनैले गर्न पाउनुपर्छ । पुरस्कार भनेको उनका लागि दाना हो, कुन लेखक मुर्गालाई त्यो दाना छर्ने हुन् त्यो उनैको खुसीको कुरा हो । आपूm बनाएको दाना वा चारो कतिखेल कुन कुखुरालाई हालिनिदे हो भन्ने कुरा आफ्नो तजबिजमा न भर पर्ने विषय हो ।

देशभरिको सबै भन्दा ठूलो पुरस्कारको स्थापना गरेबापत् ‘कुष्णबहादुर रामभक्त मीनाकुरामारी धर्मेश्वरी कादम्बरी’ पुरस्कारका संस्थापकलाई यस पटकको ‘झुमकमान नन्दीकेशर गीताकुमारी प्रबल प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ भन्ने खबर सुनेपछि मलाई म कुनै करोडीमल नभए पनि किन हो किन मलाई पनि सनक छुटेको छ । यो पुरस्कार उमार्ने बेला छ । लेखकहरू र कवि कलाकारहरू पनि देशमा डढेलो लागेको जङ्गलमा पानी पर्नासाथ उम्रने सिरुका सुइरा जस्तो गरी घरै भरि पलाइरहेका छन् । लेखक कवि कलाकार गजलगीजोलकारहरू खोज्न कतै जानै पर्दैन । घरभित्र नै यस्ता गीजोलगाजलकारहरू धुमधाम उम्रिरहेको बेला छ । पुरस्कार थाप्नु मात्र पर्छ पात्रको कमी पटक्कै हुन्न । म पनि पो केही लेखक कविहरूलाई पुरस्कार थापेर करिया बनाउन सक्थें कि ! फेरि मैले पुरस्कार थाप्ता केही खती हुने पनि ता छैन । पुरस्कार घरबाहिर जाला जस्तो पनि ता छैन । छेरीले कति कति गजल गिजोलिसकी । छोरोको ता कुरै छाडिदिऊँ, पत्नीका रचना र आफ्नै रचनाहरूको कारणले घरैमा पुरस्कार प्रदान गर्ने पात्रको कमी पनि छैन । पुरस्कार थाप्तैमा खती हुने वाला पनि छैन । पुरस्कारको रासी घरदेखि बाहिर अन्त कतै जाला भन्ने पनि छैन । अन्त जान लाग्यो भने पुरस्कार स्थगित भयो भनिदियो सकिहाल्छ । मेरा नाता गोताका केही सज्जनहरूले पनि पुरस्कार थापेकै छन् । तिनले दिने पुरस्कार आपूmले लियो । अनि आफूले दिने पुरस्कार उनलाई दियो । एउटा औपचारिक समारोह ग¥यो । आफ्ना जतिलाई बोलायो र भोज खुवायो । भनौं एउटा समारोह गरेर देब्रे खल्तीको पैसो दाहिनेमा हाल्यो । अनि उसै दिन बेलुका आफ्नै नातागोताका मान्छेले खोलेका एफएमबाट आफ्नो पुरस्कार समारोहको खबर कान थापेर सुन्यो । बेलुका समाचार हेर्न र सुन्न आफन्तहरूले बिर्सेलान् भनेर ‘लौ है, आजको पुरस्कार वितरण समारोहको खबर फलाना च्यानलमा आउँदैछ, हेर्न र सुन्न नभुल्नुहोला’ भनेर सबै आफन्तलाई उर्दी ग¥यो ।

लेखकलाई नै दिन मन लागे आफन्तको छोराछोरी हो होइन हेरेर दिए भइहाल्छ । उसले आफ्नो गुन गाइहाल्छ । भरिया बनायो, करिया बनायो अनि भोज मनायो के चाहियो यस उता ?

केही जमिन्दारहरूले आफ्नो पुरस्कार दिनुअघि लेखहरूलाई प्रवचन माला, भजन माला, र्कीर्तन गान, स्तुति पद्य, स्तोत्र रचना आदिको भारी बोकाएर ती स्तोत्र रचना गर्न लगाएको मैले देखेको छु । मेरै बन्धुबान्धवलाई पनि ‘धुनरत्न धन्वन्तरी धमला’ का नाममा थापिएको पुरस्कारको सिफारिस भएछ, उहाँले त्यसका लागि पुरस्कार समारोहमा गाउनु पर्ने भजनकीर्तन लेख्नु भएको थियो । त्यसरी भजन लेखाएर पुरस्कार दिएकोमा मलाई मेरी हजुर आमाको झल्को आउँछ जो मलाई टफीको लोभ देखाउनुहुन्थ्यो र अनेकौं काम लगाउन खप्पिस हुनुहुन्थ्यो ।

समान्य शिष्ट भाषामा भन्दा त्यसरी लदाई लदाई दिएको पुरस्कारलाई सिँगान पुछिदिए बापत दिएको ज्याला भन्दा पनि हुन्छ । यसलाई अझ भन्नु हो भने गुहु धुन लगाएर त्यसबापत दिएको ज्याला भन्दा पनि हुन्छ । मैले पनि ‘हरिनारान, मेनका कुमारी गोमा काशीराम संप्रज्ञा पुरस्कार’ स्थापना गरेर केही लेखकहरूलाई करिया गर्न सकिन्थ्यो कि भन्ने विचार गरेको छु । स्थापना गरिहालेंछु भने म आफूले थापेको उक्त पुरस्कार पहिलो पटक आफ्नो सालोलाई दिने विचार गरेको छु । त्यसपछि भूतपूर्व प्रेमिकालाई दिन्छु जसले मेरा नाममा गहिरो साहित्य प्रयोग गरेको प्रेमपत्रहरू चाङका चाङ लेखेकी छे । आखिर लेखकलाई बन्दी बनाउनु ता रहेछ । त्यसबाट म किन पछि हटूँ ? अचेल नेपालमा यो धन्दाले कालो धनलाई सफा पार्न खुबै मद्दत पनि ता गरेको छ । यसबाट समाजमा कति लाभ छ भन्ने कुरा कसले बुझिसकेको छ र करोडिमलहरूबाहेक ।

त्यसै कारण पुरस्कारको ढिकुरोमा लेखको किरिया गर्ने र पिण्डपानी गर्ने जमाना नै आजको नेपालको जमाना हो । कालो सम्पत्ति चोख्याउने काममा पनि यो अवस्था नेपालका ती जमिन्दार पटवारीहरूको स्वर्णकाल हो । उनले यसै गरी प्रयत्न गर्दै गए भने नेपालमा सबै जनताहरू लेखक हुनेछन् । सबै गिजोलकार हुनेछन् । नातागोताका सबैले पुरस्कार पाउनेछन् । लेखकको अकालमृत्यु भए पनि तिनको नाममा पिण्डपानी पर सर्नेछ । कवि कलाकारहरू भनेका भोकै मरे पनि तिनको नाममा थापेका र दिएका पुरस्कारले पटवारी र मुनिमजीहरूले वा चारो टिप्न पल्कोहरूले खल्ती भर्नेछन् । छरछिमेकी, इष्टमित्रहरूले पनि पुरस्कार पाउनेछन् । घरैभरि प्रमाणपत्र लट्किनेछन् । खादाका खादा, मालाका माला, प्रशंसापत्र, स्तुतिपत्र आदिले देशका प्रत्येक घर भरिभराउ हुनेछन् । पटवारी र मुनिमजीहरूले पनि बिलभौचर पेस गरेर कमिसन पाउनेछन् । केही लोभी कविहरूले केही टफी पनि पाउनेछन् । केहीले स्तोत्र र आरती गाउनेछन् । यो युग पुरस्कार स्थापनाको हो । यो स्वर्णकाल हो भनेर पछि ठहरिनेछ इतिहासकारहरूले ठहराउनेछन् । सबैले एक एक पुरस्कार थापौं र लेखकहरूलाई बल्छीमा पारौं । अनि लेखकलाई स्तोत्रगान गर्न लगाऔं र थापिएको पुरस्कारको रासी भने आफैं हसुरौं ।
कि कसो ?

कर्मचारी मिलन केन्द्र झापा, २०५४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x