स्याङ्गे
हरदिन, जीवनकथाको एक असहाय अध्याय लेखिन्छ
समयको गोरेटोमा एक्लो यात्री हिँड्छ
आफ्नै रहरको यात्रामा मलामी जान्छ
नाप्छ उकाली–ओराली
बोक्दै नियतिको भारी ।
स्याङ्गेको निधारको स्लेटभरि
थकान र दुर्भाग्य धर्काधर्की कोरिन्छन् ।
मनको डाँडाकाँडा
पीरव्यथाको लथालिङ्ग हावाहुन्डरी उड्छ
सुकेनास छातीको चिहानमुन्तिर
गाडिन्छन् आकाङ्क्षाहरू जीवितै ।
ठाउँ–कुठाउँ
स्याङ्गेलाई चुनौती दिँदै ठडिन्छ दुखका पहाड
ऊ थाक्दैन
र, उक्लिरहन्छ जीवनका गोरटाहरू
पुगेर चुचुरोबाट चिच्याउँछ–
सुनौला सपना ।
स्याङ्गे
बर्खामासमा बूढीगण्डकी मात्तिदै उर्लंदा
नदी किनार हतास उभिँदैन
सारा पीरव्यथा बोक्दै
अक्करे भीरको छेउछेउ हिँड्दैन
ताक्दैन हातमा नाम्लो लिएर
आफ्नै घरको छानो ।
स्याङ्गे
मनको कचौराभरि अभाव पिउँछ
भाग्यको थालभरि दुःख थाप्छ
समयको हर प्रस्तावमा निर्दोष ल्याप्चे लगाउँदै
जीवनको कर्कश गीतमा
झुमिदिन्छ लययुक्त दैनिकी ।
स्याङ्गे
मेरो मनको आकाशैभरि
उडाउँछ प्रश्नका बेहिसाब चङ्गाहरू
सोच्न बाध्य पार्छ मलाई
ऊजस्तै
असङ्ख्य–असङ्ख्य स्याङ्गेबारे ।