साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो लिपि राष्ट्रको सम्पदा

Nepal Telecom ad

काठमाडौं, जेठ १४, ०७३ । संस्कृतिविद् सत्यमोहन जोशीले बहुभाषिक मुलुकमा प्रयोग गरिएका लिपि जातीय नभई राष्ट्रको सम्पदा भएको बताएका छन् ।

‘संयुक्त राष्ट्रसंघमा रन्जना लिपि प्रस्तुत गरेपछि देश नेपालले सदस्यता पाएको हो’, जोशीले भने, ‘त्यसैले यो नेवारहरूको होइन । पुरातात्विक हिसाबले राष्ट्रको सम्पदा हो । त्यसैगरी अन्य लिपिहरू हाम्रा साझा सम्पदा हुन् ।’ अक्षर सदन, नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल संस्कृत विश्वविद्यालयको संयुक्त रुपमा आयोजित ‘नेपालका केही प्रमुख लिपिहरूको स्थिति, समस्या, समाधान र सम्भावना’ विषयक राष्ट्रिय अक्षर गोष्ठीमा उक्त विचार व्यक्त गरेका हुन् । ऐतिहासिक, पुरातात्विक दस्तावेजहरू अध्ययनका निम्ति महत्वपूर्ण रहेको उल्लेख गर्दै संस्कृतिविद् जोशीेले भने, ‘नेपालका सत्य, तथ्य खोज्नका निम्ति यी लिपिहरूमा लेखिएका ऐतिहासिक सामग्रीका ताल्चा खोल्न यी लिपिको अध्ययन जरुरी छ ।’

कार्यक्रममा ‘लेखन पद्धति र नेपालका लिपिहरू’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अक्षर सदनका अध्यक्ष भाषाशास्त्री चूडामणि बन्धुले संसारमा ६ हजारभन्दा बढी भाषा रहेको जनाए । ती भाषाहरू करिब ४ सय किसिमका लिपिमा लेखिन्छन् । ‘भाषा र संस्कृतिको चर्चा धेरै गरियो तर लिपिको अवस्थाबारे चर्चा हुन नसकेकाले मुलुकको लिपिको चर्चा आवश्यक रहेको हो’ बन्धुले भने ।
भाषाशास्त्री प्राध्यापक माधव पोखरेलले ‘देवनागरी लिपि र नेपामा यसको स्थिति’ विषयक कार्यपत्र पंस्तुत गर्दै संस्कृत भाषाको नियम लादिएकाले नेपालीमा देवनागरी प्रयोग गाह्रो भएको उल्लेख गरे । देवनागरीको प्रवद्र्धनबारे उनले भने, ‘ध्वनिविज्ञान र वर्णविज्ञानको ज्ञानलाई आधार बनाएर जुनसुकै लिपि प्रयोग गरेर पनि वर्णमाला बनाउन सकिने अनुभवका आधारमा पनि दक्षिण एसियाका मातृभाषाका जस्तोसुकै उच्चारण गरिने वर्णहरू पनि देवनागरी लिपिमा लेख्न सकिने बनाउन सकिन्छ ।’

काशीनाथ टमोटले कार्यपत्र प्रस्तुत गर्दै नेपालभाषा (नेवारी) लेखिदैआएको रन्जना लिपिलाई सन् २०१४ बाट ‘नेपाल लिपि र नेवालिपि’का रुपमा स्विकार गरिएको उल्लेख गरे । ‘प्राचीन ग्रन्थमा रहेका ज्ञानका भण्डार खोल्न नेवालिपिको ज्ञान आवश्यक छ’ उनले भने । प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले ‘सिरिजंगा लिम्बु लिपिमाला’ शीर्षक कार्यपत्र प्रस्तुत गर्दै यसको विकासक्रमसँगै देवनागरीको प्रभाव परेको उल्लेख गरे ।

त्रिवि भाषाविज्ञान केन्द्रीय विभाग प्रमुख दानराज रेग्मीले रोमन लिपि र नेपालमा यसको प्रयोगबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी भाषाविद् अमृत योन्जन तामाङले ‘सम्भोटा लिपि र प्रयोगको स्थिति’ बारे कार्यपत्र प्रस्तुत गर्दै यो लिपिलाई धार्मिक लिपिका रुपमा मनोवैज्ञानिक अवधारणा रहेकाले परिमार्जन सहज नरहेको बताए । त्यस्तै, उर्दू भाषा र यसको स्थितिबारे अलाउद्दीन अन्सारी फलाहीले कार्यपत्र प्रस्तुत गर्दै अरबिक भाषा र लिपि नेपाली युवालाई सिकाउन सके वैदेशिक रोजगारीमा सहज तथा तबलमान बढी पाउन सक्ने बताए ।

गोष्ठीमा संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला, संस्कृतिविद् तुलसी दिवस, प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरे र सदस्यसचिव प्राध्यापक जीवेन्द्रदेव गिरी, प्राध्यापक दिनेशचन्द्र रेग्मीलगायतले मुलुकमा बोलिने भाषा र प्रयोग गरिने लिपिबारे उजागर गर्दा भावी पुस्ताका निम्ति सहज हुने बताएका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x