साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पं.मङ्गलकुमार स्मृति ग्रन्थ लोकार्पित

Nepal Telecom ad

काठमाडौं, ०७३ जेठ २३ । पं.मङ्गलकुमार उपाध्याय नेपाल स्मृतिग्रन्थको लोकार्पण राष्ट्रकवि माधवप्रसाद घिमिरेले गर्नु भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको सभापतित्वमा सम्पन्न उक्त विशेष समारोहमा विशिष्ट अतिथिहरूमा संस्कृतिविद् सत्यमोहन जोशी, वसन्तकुमार शम्र्मा नेपाल, पूर्व उपकुलपति बैरागी काइँला, संस्कृतिविद् डा.मोदनाथ प्रश्रित, मुक्तिनाथ पीठाधीश कमलनयानाचार्य उपस्थित हुनु हुन्थ्यो ।

पूर्व प्रधानमन्त्री एवम् मङ्गलकुमार उपाध्याय नेपालका ज्येष्ठ सुपुत्र माधवकुमार नेपाल, नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, वरिष्ठ वामनेता विष्णुबहादुर मानन्धर, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभु घिमिरे, वरिष्ठ साहित्यकार एवम् एमाले नेता प्रदीप नेपाल, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, वरिष्ठ भाषाविद् प्रा.डा.माधवप्रसाद पोखरेल, प्राज्ञ विष्णु पभात, नेपाल परिवारका ज्येष्ठ सदस्य दिव्यकुमार नेपाल, जन गायक रामकृष्ण दुवाल, वरिष्ठ स्रष्टा उषा शेरचन, उद्योग मन्त्री सोमप्रसाद पाण्डे, प्रधान सम्पादक डा.देवी नेपाल, ग्रन्थ प्रकाशन समिति सदस्य प्रा.डा.विष्णुराज आत्रेय, सम्पादक त्रय रमेश पोखरेल, अनिल पौडेल र मोहन गौतम समारोहमा उपस्थित हुनु हुन्थ्यो ।

मङ्गलकुमार उपाध्याय नेपालको व्यक्तित्वका बारेमा नेपाल परिवारका ज्येष्ठ सदस्य दिव्यकुमार नेपालले प्रकाश पार्नु हुँदै सादा जीवन र उच्च विचारका धनी, शिक्षालाई समाज रूपान्तरणको मेरुदण्ड मान्ने, निष्ठावान्, इमान्दार व्यक्तित्वको रूपमा मङ्गलकुमार उपाध्याय नेपालको सिङ्गो जीवन स्थापित भएको धारणा राख्नु भयो ।

प्रधान सम्पादक डा.देवी नेपालले पं.मङ्गलकुमार उपाध्यायले आफ्ना परिवारलाई समेत संस्कार सिकाउनु भएको अनुभूति काम गर्दाका दौरानमा गर्न पाइएको; परिवार, विद्वान लेखकहरू लगायत सबै सबैबाट प्राप्त भएको सहयोगका कारण दुई महिनाको छोटो अवधिमा यति ठुलो ग्रन्थ तयार पार्न सकिएको बताउनु भयो ।

प्रा.डा.जीवेन्द्र देव गिरीले बृहत् स्मृतिग्रन्थको समीक्षा गर्नु हुँदै स्मृतिग्रन्थलाई चार खण्डमा विभक्त गरिएको, ग्रन्थमा समेटिएका ३८ संस्मरण, ४५ समालोचना, अनुसन्धानात्मक एवम् भाषागत विश्लेषण गरिएको बताउनु भयो । ग्रन्थभित्रबाट वसुधा नेपाल पोखरेलले लेख्नु भएको कविता सम्पादक रमेश पोखरेलले वाचन गर्नु भयो ।

वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरले फरक विचार राख्ने भए पनि गौरमा बस्दा पत्रिका प्रकाशनको सहकार्य गरिएको र उहाँले नेपालीमा र आफूले हिन्दीमा सम्पादन गरेको, राजनीति र साहित्यको संयोजनको अवसर प्राप्त भएको, उहाँको शालीन व्यक्तित्वबाट आफूले प्रभाव ग्रहण गरेको धारणा राख्नु भयो ।

प्रमुख अतिथि माधवप्रसाद घिमिरेले पं.मङ्गलकुमार नेपालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु हुँदै मान्छेले कर्म गरेर नै सय वर्ष बाँच्ने इच्छा राख्नु पर्छ जो मैले मङ्गलकुमार नेपालको जीवनबाट पाएँ, पूर्वीय दर्शनका विद्वान, निष्ठावान्, पुराण तथा महाभारतका आदर्शवान् चरित्रको व्यक्तित्व उजागर गरी समाज निर्माणमा योगदान गर्ने लक्ष्य राख्ने, समाजका निम्ति निःस्वार्थ काम गर्ने ती तपस्वीका प्रति परिवारले यति सक्रियताका साथ स्मृतिग्रन्थ प्रकाशन गरी सम्मान गर्नु अनुकरणीय रहेको हुँदा तपाईँहरू सबैको भक्तिभावको प्रशंसा गर्छु भन्नु भयो ।

साहित्यकार मदनमणि दीक्षितले भतिजा मार्फत पठाउनु भएको दुई पृष्ठ लामो शुभ कामना पत्र सम्पादक रमेश पोखरेलले वाचन गरेर सुनाउनु भयो । समारोहका सभाध्यक्ष कुलपति गङ्गाप्रसाद उप्रेतीले आदर्श गुरु, विवेकशील अभिभावक, भाषा साहित्य र संस्कृतिका अथक साधक जस्ता विशिष्ट पहिचान बनाउनु भएका मङ्गलकुमार नेपालको साहित्यिक योगदानका बारेमा विद्वानहरूले विभिन्न कोणबाट गर्नु भएको विश्लेषण ग्रन्थमा समेटिएको बताउनु भयो ।

जेठा छोरा पूर्व सम्माननीय प्रधान मन्त्री माधवकुमार नेपालले ‘पं.मङ्गलकुमार उपाध्याय–दुर्गादेवी नेपाल स्मृति प्रतिष्ठान’ गठन गरिने र यसमा प्रारम्भमा रु.दश लाख अक्षय कोषमा रहने व्यवस्था गर्ने घोषणा समेत गर्नु भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x