अखबार
सुरहिन लय तानेर
चिबे चरो झैं चिरबिराइरहन्छ
चिर्बिराउनु सिवाय अखबार
अरु के गर्न सक्छ र ?
कुरुक्षेत्रको साँघुँरो बाइरोडमा
नाके हर्न बजाएर
विवादको घुम्ती
काटिरहेछन् ड्राइभरहरू
चिल्लो मोटरभित्र
सुरक्षित छ झण्डा
र सुरक्षित छन्
झण्डासँग मुस्कुराउँने मुस्कानहरू
ठुँगुलाझैँ गरेर अखवारको सुरु पातोमा
भाले हुन्छन् सरकारी खवरहरू
अखवारको अन्तिम किनारमा
पातझैँ लुग्लुगिएर
उभिन्छन् भुँइका निर्दोष खवरहरू ।
खतराको चील
आकासमा देखिएपछि
कुखुरीले चल्ला छोपेझैँ
झ्यापझुप झुटलाई छोपेर
हरेकदिन अखबार कुर्कुराएर बस्छ
कुर्कुराउनु बाहेक अखबार
अरु के गर्न सक्छ र ?
अस्तित्वको सर्कसमा
बहुधु्रविय डोरीमाथि
लडखराएर हिँड्दैछ सपनाको घाम
अखबार न उद्धारक हुनसक्छ !
गुलियो योजनाको परालमा
उम्रिने विषालु च्याउ
खाँदैछन् निर्दोष जूनतारा
अखबार न उपचार हुनसक्छ !
अनिर्णयको पहिरोमुनि
गुड्दैछ विश्वासको हायस
अखबार न वचाब हुनसक्छ ।
घृणाले उसिनिएको छ मन
अखबार न प्रेमको बगान हुनसक्छ ।
शब्दपुरबाट ओर्लिएर
गंगालाल मलाई सोध्छन्–
बिराउने तर नडराउने
यो अखबारको धर्म हो र ?
नबिराउने, नडराउने
यस्तो कुनै अखबार छ र ?
प्रष्ट पार कवि !
माफियाको नगदी छ्याङ तानेर
अक्षरको तस्करीमा डुब्नुबाहेक
अखबार अरु केही गर्छ र ?
काठमाडौं