फित्काैली डटकमतिमी बूढी कहाँ भयौ र ?
तिमी बूढी कहाँ भयौ र ?
त्यस्सै चिन्ता नगर न तिमी
नातिले आमा भन्यो भन्दैमा
बूढी भइन्छ र ?
के भनेर बोलाओस् त त्यसले पनि
बहिनी भन्दिन जुँगाको रेखी आको छैन
छोरी भन्दिन बिहे भाको छैन
छाला चाहिँ अलि चाउरी परेकै हुन्
रेसा देखिन थालेछन्
गाला पनि एक एक पाउ जति
झुण्डिन थालेछन्
बुढी त ती गालाका छाला भएछन्
तिमी त बूढी कहाँ पो भयौ र ?
नाकको डाँडीमा टेकेर टाइटानिकको
पोज दिइराखेको माइनस चारको तिम्रो चस्माले
तिम्रा आँखा चाहिँ बूढी भएछन् भन्दैछ
कानको त्यो मेसिन कपालले छोपन प्रिय
नत्र त्यसले कान बूढी भयो भन्दिन्छ
कपालको त कुरै नगरौँ
तरुनीले हिउँमा खेलेर आए जस्तो देखिन्छ
आमामा यस्मा चाहिँ अलि पचेन मलाई
कपाल त तिम्रा पाकेकै हुन्
बूढी त तिम्रा ती कपाल पो भएछन्
तिमी त बूढी कहाँ पो भयौ र ?
पर्सि हाम्रो ४५औँ यानिभर्सरीमा
भरियाको डोकोमा चढेर
हनिमुनका लागि केदारनाथ जानु छ
फर्केर आएर सप्ताह लगाई
साङ्गेको दिनमा होल नाइट पार्टी गर्नु छ
तिमी भने त्यस्सै बूढी भएँ भन्दिन्छौ ।
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































